दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक



बुटवल
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर भएका ८३४ वटा सवारी दुर्घटनामध्ये झण्डै ६९ प्रतिशत अर्थात् ५७४ दुर्घटना तीव्र गतिका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जानकारी दिए । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने १ हजार ४७२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४७ पुरुष र ११ जना महिला छन् ।
प्रहरी उपरीक्षक थापाका अनुसार भदौ महिनामा मात्रै लुम्बिनी प्रदेशमा ४१६ वटा दुर्घटना भएका छन् । दुर्घटना १९ पुरुष र ४ महिला गरी २३ जनाको मृत्यु भएको छ भने ७६२ जना घाइते भएका छन् । भदौमा सबैभन्दा धेरै तीव्र गतिका कारण २८७ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । तीव्र गति पछि चालकको असक्षमता तथा लापरबाहीका कारण दुर्घटना हुने गरेको छ । भदौमा चालकको असक्षमता तथा लापरबाहीका कारण ४९ दुर्घटना भएका छन् । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ४, छाडा चौपाया तथा जनावरका कारण ५, हतारमा बाटो काट्दा २ र अनावश्यक ओभरटेकका कारण ४ वटा दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।


ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार रुपन्देहीमा भदौ महिनामा १५७ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २६२ जना घाइते भएका छन् ।
यस्तै, नवलपरासी पश्चिममा २७ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । कपिलवस्तुमा ६९ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । पाल्पामा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गुल्मीमा १२ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
यस्तै, अर्घाखाँचीमा भदौ महिनामा ४ वटा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दाङमा १४ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बाँकेमा ८५ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।
त्यस्तै, बर्दियामा २३ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । यस्तै, प्युठानमा ५ वटा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । रोल्पामा ९ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । रुकुम पूर्वमा एउटा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
सवारी साधनका आधारमा हेर्दा दुईपांग्रे सवारी सबैभन्दा बढी दुर्घटनामा संलग्न देखिएको छ । भदौ महिनामा मात्रै ३८५ वटा दुईपांग्रे सवारी दुर्घटनामा परेका छन् । त्यसपछि जिप, कार, अटो, टेम्पो, शारीरिक शक्तिबाट चल्ने सवारी, बस, ट्रक÷ट्यांकर, ट्याक्टर, माइक्रो बस, टिप्पर तथा अन्य सवारी साधनको संलग्नता रहेको छ । राजमार्गमा सवारी आवागमन सहज बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक निगरानी र कारबाहीलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक बुढथापाले बताए ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार भदौ महिनामा १० हजार ४८७ वटा सवारी कारबाहीमा परेका छन् । उक्त सवारी कारबाहीबाट १ करोड ३० लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ‘राजस्व संकलन गर्नेभन्दा पनि सचेतना, नियम पालना र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिएर काम गरिरहेका छौँ ।’, उनले भने ‘तर, नियम नमान्ने र उल्लंघन गर्नेलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गर्छौँ ।’
एक महिनाको अवधिमा ट्राफिक प्रहरीले १ हजार ३१८ वटा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ७२ हजार २९२ जना लाभान्वित भएका छन् । त्यस्तै, प्रहरीले स्कूल बसमा छड्के चेकजाँचलाई तीव्र बनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७० वटा स्कुल÷कजेज बसलाई नियन्त्रणमा लिएर १२ वटालाई कारबाही तथा ५८ वटा बसका चालकलाई पुनः गल्ती नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानुप्रसाद पाण्डेले जानकारी दिए ।
यस्तैगरी, ट्राफिक प्रहरीले ‘हिट एन्ड रनको घटनामा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने, ४३ वटा स्टिकर टाँस गरेको तथा एउटा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ । ५० स्थानमा नो पार्किङ बोर्ड तथा सम्भावित दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामुलक बार्ड राखिएको छ । सवारीको यान्त्रीक चेकजाँच, रुपन्देहीको बुटवल र प्यूठानमा एक÷एक पटक चालकको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वरूप परिवर्तन गरिएका ५ वटा मोटरसाइकललाई कारबाही गरीएको छ । सवारी चालक अनुमतिपत्र निलम्बनका लागि ८ जनामाथि प्रक्रिया अघि बढाइएको छ । ओभरलोड बोकेका ५७६ वटा सवारीलाई कारबाहीका लागि यातायात कार्यालय पठाइएको छ । बाढीपहिरोका कारण अवरुद्ध राजमार्गमा ट्राफिक प्रहरीले सुरक्षा तथा सञ्चालन व्यवस्थापन गरेको जनाएको छ ।
ट्राफिक प्रहरीले यसअघि नै एकवर्षमा ५ पटक भन्दा बढी सवारी दुर्घटना भइरहने प्रदेशका ५३ स्थानलाई अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पट) घोषणा गरी दुर्घटना न्यूनीकरण कार्यक्रमअन्तर्गत आबश्यक उपकरण तथा सचेतनामूलक बोर्ड राखेको छ । ती स्थानमा भौतिक सुधारका लागि सडक डिभिजन कार्यालयलाई समेत जानकारी गराइएको छ ।
सीमित जनशक्ति र बढ्दो सवारी चापका बीच पनि दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकमा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ । लुम्बिनी प्रदेशमा हाल ४३४ जना ट्राफिक प्रहरी रहेका छन् । एक जना ट्राफिक प्रहरीले ३६ किलोमिटर सडक र ४ हजार सवारी व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।
साथै प्रदेश प्रहरीले आउंदै गरेका चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण, महङ्गो भाडादर नियन्त्रण, यात्रु लक्षित आवस्यक सवारी साधन परिचालन, सवारी साधनको सिट संख्या अनुसारका यात्रु सवारी गर्ने व्यवस्था,सहज टिकट बुकिङलगायतका विषयमा तैयारी गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...