
काठमाडौँ
बिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो । होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार (२७ भदौमा) उपचारका लागि बट्टारस्थित फार्मेसीमा लगेकी छन् ।
योबिसा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी २० महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन् । त्यही होल्डिङ सेन्टरमा रहेकी २० वर्षीया कविता श्रेष्ठको ६ महिने शिशुलाई पनि ज्वरो आएको छ । ‘के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन,’ योगिताले भनिन् ।
बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पीपलटारस्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ । तर एउटै छानोमुनि सयभन्दा बढी मानिस बसिरहेको यो सेन्टरमा देखिएको ज्वरो, रुघाखोकी र पखालाका घटना स्वास्थ्य जोखिमका संकेत हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी ३३ वटा होल्डिङ सेन्टरमा २४ सय १८ विस्थापित बसिरहेका छन् । अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा ठूलो महामारी फैलिएको छैन, तर विस्थापितहरू भीडभाडमा बस्न बाध्य छन्, खानेपानीका स्रोत प्रभावित छन् र स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ छ । बालबालिका र दीर्घरोगीसमेत ठूलो संख्यामा रहेका यी शिविरमा दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवाको सीमित पहुँचले संक्रमण फैलिने जोखिम रहेको विज्ञहरू बताउँछन् ।
‘केही होल्डिङ सेन्टरमा रुघाखोकी, भाइरल ज्वरो र सामान्य पखालाका बिरामी मात्र भेटिएका छन्,’ जनस्वास्थ्य कार्यालय, नुवाकोट प्रमुख डा. अञ्जु कार्कीले भनिन् । त्यस्तै रसुवाका शिवालय होल्डिङ सेन्टरमा पनि बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी देखिएको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बताइन् । ‘केहीलाई रुघाखोकी र ज्वरो देखिएको छ,’ उनले भनिन् ।
जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. नीरध्वज घर्तीमगर पनि होल्डिङ सेन्टरमा रहेका केहीमा ज्वरो र रुघाखोकी देखिएको बताउँछन् । केही मानिसमा सामान्य रुघाखोकी र भाइरल फिभरको समस्या देखिएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरू खटाएर रुघाखोकीका बिरामीलाई आइसोलेसनमा राख्न भनिएको छ, एक–दुई जना आइसोलेसनमा बसेका छन् ।’