
बुटवल
इतिहास वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्र होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर, जब त्यही नक्सा जोगाउने भौतिक चिनारीहरू नै प्रकृतिको एउटा वित्यासमा बिलाएर जान्छन्, तब सीमाका बासिन्दाहरूको मनमा कति ठूलो पीडा र छटपटी हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ— नारायणी नदीको काखमा पश्चिम नवलपरासीमा अवस्थित सुस्ता ।
वर्षौंदेखि आफ्नो अस्तित्व र माटोका लागि संघर्ष गर्दै आएका सुस्तावासीका लागि सिमलको एउटा रुख केवल वनस्पति मात्र थिएन, त्यो सिमाना पहिचान गर्ने एउटा जीवित स्तम्भ थियो । यस मामिलामा नेपाली पक्षले आफ्नो सिमाना दाबी गर्दै आएको सिमलको रुख र भारतीय पक्षले भने उक्त सिमलको रुखभन्दा करिब ५०० मिटर पश्चिमतर्फ रहेको भेल्लरको रुखलाई सिमाना दाबी गर्दै आएका थिए ।
तर, हाल नारायणी नदीमा आएको बाढीले ती दुवै रुख बगाएर लगेपछि सुस्तामा सिमाना पहिचानलाई लिएर गम्भीर अन्योल उत्पन्न भएको छ । यी ऐतिहासिक चिनारीहरू बगेपछि सुस्तामा सिमाना पहिचान गर्ने मुख्य भौतिक आधारहरू नै हराएका छन् ।