
काठमाडौँ
नेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर (५५ करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । बाढीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोलीसमेत परिचालन गरेको छ ।
अन्तर्राष्ट्रिय विकासमन्त्री डा. एनी एलीका अनुसार अस्ट्रेलियाले उपलब्ध गराउने ५० लाख डलरमध्ये २० लाख विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत खाद्यान्न तथा व्यवस्थापन सहयोगका लागि खर्च गरिनेछ ।
थप २० लाख अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई दिइनेछ । त्यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ ।
बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत प्रभावित क्षेत्रमा स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्वासका काममा खर्च गरिने अस्ट्रेलियाली सरकारले जनाएको छ ।
बाढीपछि कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक बेपत्ता रहेको जानकारी प्राप्त भएको जनाएको छ । उनीहरूको अवस्थाबारे पुष्टि गर्न र प्रभावितलाई सहयोग गर्न अस्ट्रेलियाली अधिकारीहरू परिचालन गरिएको सरकारले जनाएको छ ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिक्रिया टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाडौंमा परिचालन भइसकेको बताइएको छ ।
त्यस्तै, सरकारले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको टोली नेपाल पठाउने भएको छ । ‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत आउने उक्त टोलीसँग मानवीय अवस्था मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा योजना निर्माणसम्बन्धी विशेषज्ञता रहेको छ ।
राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ ।
उनले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए। –
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यही भदौ १३ गतेदेखि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउनसमेत मन्त्री पोखरेलको निर्देशन छ ।
अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिएको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न नेपाली सेना जुटिरहेको छ । प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच जोखिम सामना गर्दै सेनाको टोलीले उद्धार गरेको हो ।
उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह
चीनतर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपतकालीन सुरक्षा बैठक बसेको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै धादिङ प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
विपद् र महाधिवेशनमा एकताबद्ध भएर लाग्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको आग्रह
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबै पक्षलाई रसुवाको बाढीबाट उत्पन्न विपद्को सामना र १५ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयनमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशनसम्बन्धी विवादमा आदेश दिएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले कांग्रेसजनसामु अहिले दुईवटा जिम्मेवारी रहेको बताएका हुन् ।
रोशी गाउँपालिकाद्वारा १० लाख सहयोगको घोषणा
बुधबार रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी/शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रकम तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट सो रकम प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभे्रपलाञ्चोकका ५२ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
पाँच निर्माणाधीन जलविद्युत् आयोजनाबाट राहत कोषमा १ करोड ७ लाख
भोटेकोशी बाढी प्रभावितका लागि पाँचवटा निर्माणाधीन जलविद्युत् आयोजनाले बिहीबार प्रधानमन्त्री राहत कोषमा १ करोड ७ लाख ७७ हजार ७ सय ७५ रुपैयाँ जम्मा गरेका छन् ।
तमोर इनर्जी प्रालिले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, सुपरमादी हाइड्रोपावर लिमिटेडले २५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, रिभरसाइड हाइड्रो इनर्जी लिमिटेडले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा पालुन खोला हाइड्रोपावर र पाँचथर पावर लिमिटेडले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
भोटेकोशी बाढीमा परेका ३ सय ८९ जनाको शव फेला
भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट बिहीबार राति ९ बजेसम्म ३ सय ८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । तथ्यांकअनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ शव फेला परेको हो ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जग्गाको क्षति विवरण संकलन र ‘डिजास्टर म्यापिङ’ गर्ने मन्त्रालयको निर्णय
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा विपद् नक्सांकन गर्ने निर्णय गरेको छ।
उद्योग संगठन मोरङद्वारा बाढीपीडितलाई १५ लाख सहयोग
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति उद्योग संगठन मोरङले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संगठनका अध्यक्ष नन्दकिशोर राठीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
राष्ट्रिय विपत्तिमा फर्चुना हेल्थकेयरको साथ
रसुवा तथा नुवाकोटमा आएको भिषण बाढीबाट प्रभावित नागरिकको राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित फर्चुना हेल्थकेयरले विभिन्न स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ ।
फर्चुना हेल्थकेयरले आफ्नै उत्पादनमार्फत तयार विभिन्न साइजका सिरिन्ज, कटन, गज, ब्यान्डेजलगायतका स्वास्थ्य सामग्रीहरू प्रभावित क्षेत्रमा वितरणका लागि बिहीबार ‘हामी नेपाल’ संस्थामार्फत हस्तान्तरण गरेको जनाएको छ ।