आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै



काठमाडौँ
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्ञोपवीत तथा रक्षासूत्र धारण गरी श्रद्धापूर्वक मनाइँदै छ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बी नदी, ताल, तलाउ, पोखरी तथा धार्मिक कुण्डमा स्नान गरी गुरु तथा पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र बाँध्ने गर्छन्। मन्त्रिएको यज्ञोपवीत तथा रक्षासूत्र धारण गर्दा नकारात्मक शक्तिबाट रक्षा हुने धार्मिक विश्वास रहिआएको छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षाका लागि गुरु बृहस्पतिले रक्षा विधान तयार गरी रक्षासूत्र बाँधिदिएका थिए। यही मान्यताका आधारमा रक्षाबन्धनको परम्परा सुरु भएको विश्वास गरिन्छ।

रक्षासूत्र बाँध्ने क्रममा गुरु तथा पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्ने वैदिक परम्परा छ।

जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन्। यही दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने शास्त्रीय विधान छ।

जनै फेर्नुअघि श्रावण शुक्ल चतुर्दशीका दिनदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो बस्ने परम्परा पनि रहेको छ। पूर्णिमाका दिन बिहान नदी, ताल, पोखरी तथा कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन तथा सप्तमृत्तिका प्रयोग गरी स्नान गर्ने विधिलाई ‘श्रावणी स्नान’ भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ‘ब्रह्मसूत्र’ वा ‘ज्ञानको धागो’ का रूपमा लिइन्छ। रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक, वाग्मती नदी किनार तथा देशभरका विभिन्न मठमन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा
जनै पूर्णिमाका अवसरमा विभिन्न प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर तयार गरिएको क्वाँटी खाने चलन पनि छ। क्वाँटी पौष्टिक खाद्य भएकाले यसले शरीरलाई आवश्यक प्रोटिन, फाइबर तथा विभिन्न सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउन सहयोग गर्छ। परम्परागत मान्यताअनुसार वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाउन तथा शरीरमा ऊर्जा र ताप प्रदान गर्न क्वाँटी उपयोगी मानिन्छ।

तराईमा राखी बाँधेर मनाइन्छ
नेपालको तराई क्षेत्रमा भने यही दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउने चलन छ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्वका रूपमा राखीलाई लिइन्छ।

जनै पूर्णिमाका अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधामस्थित धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत धार्मिक स्थलमा विशेष मेला लाग्ने परम्परा छ।

छुटाउनुभयो कि ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...
भारतले थप ३७.५ टन राहत सामग्री पठायो

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

काठमाडौंभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाज...