१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?



काठमाडौं
सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्ताव गरिएको छ ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ ।

यस्तो छ,प्रस्तावित राजदूतहरूको विवरण
१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत
डा. निश्चलनाथ पाण्डे वैदेशिक नीतिका प्राज्ञिक व्यक्तित्व हुन्। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन्। यसअघि उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगको सल्लाहकारका रूपमा काम गरिसकेका छन्।

उनी सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ तथा नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानूनमा स्नातक गरेका छन्। उनले दक्षिण एसिया, नेपालको परराष्ट्र नीति र क्षेत्रीय सहकार्यका विषयमा पुस्तक तथा विभिन्न कृति प्रकाशित गरेका छन्। सन् २०१५ मा उनले हार्भर्ड केनेडी स्कुलको ‘साउथ एसिया लिडर एक्जिक्युटिभ प्रोग्राम’ पूरा गरेका थिए।
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्धका जानकार, सिनोलोजिस्ट तथा अर्थशास्त्री हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार तथा पर्यटन वित्तपोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

उनी फुदान विश्वविद्यालय एलुम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डसिप फोरम तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष छन्। उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अतिथि अनुसन्धाताका रूपमा समेत आबद्ध छन्। नेपाल–चीन सम्बन्धमा योगदान पु¥याएको भन्दै उनलाई ‘नेपाल भूषण’ र ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्रदान गरिएको थियो।

३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
चिरनजंग थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ हुन्। सुरक्षा नीति, संकट व्यवस्थापन तथा कूटनीतिक क्षेत्रमा उनको दुई दशकभन्दा लामो अनुभव छ। उनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

सन् २०१७ देखि उनी अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन्। यसअघि सेफरवल्र्ड र द एसिया फाउन्डेसनमा समेत सुरक्षा तथा नागरिक–सैन्य सम्बन्धका विषयमा काम गरेका थिए। उनले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना तथा नेपाल प्रहरीलाई परामर्श दिएका छन्।

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — बेलायतका लागि प्रस्तावित राजदूत
पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका छन्। उनले सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा पूर्वमाओवादी लडाकुहरूको नेपाली सेनामा समायोजन तथा सेनाको दीर्घकालीन योजना कार्यान्वयन भएको थियो।

सन् २०१५ को भूकम्पपछि सञ्चालन गरिएको सैन्य उद्धार तथा राहत अभियानमा समेत उनले नेतृत्व गरेका थिए। उनले पाकिस्तानको कायदे–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्। उनी रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्ट तथा अमेरिका र पाकिस्तानका रक्षा अध्ययनसम्बन्धी संस्थाका स्नातक हुन्।

५. जिग्यान कुमार थापा — जापानका लागि प्रस्तावित राजदूत
जिग्यान कुमार थापाले नेपाल–जापान सम्बन्धमा दुई दशकभन्दा बढी समय काम गरेका छन्। उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानूनमा स्नातकोत्तर गरेका छन्। सन् २००९ देखि उनी कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी विज्ञका रूपमा कार्यरत छन्।

उनले नेपाल–जापानबीच उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमको संयोजन गर्दै आएका छन्। उनी जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष तथा गैरआवासीय नेपाली संघ जापानका पूर्वमहासचिवसमेत हुन्।
६. सुरेशकुमार कर्ण — इजरायलका लागि प्रस्तावित राजदूत
सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका जानकार हुन्। कार्यकारी नेतृत्वमा उनको ३० वर्षभन्दा बढीको अनुभव छ। कुमारी बैंकमा प्रमुख सूचना तथा विपणन अधिकृतका रूपमा काम गर्दा उनले ‘कुमारी मोबाइल क्यास’ सञ्चालनमा ल्याएका थिए।

त्यसपछि नेपाल बैंक लिमिटेडमा प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्दै बैंकलाई एकीकृत कोर बैंकिङ प्रणालीमा लैजाने कार्यको नेतृत्व गरेका थिए। उनी कम्प्युटर एसोसिएसन नेपाल महासंघका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए। नेपालको पहिलो राष्ट्रिय सूचना प्रविधि नीतिको मस्यौदा निर्माणमा पनि उनले योगदान गरेका छन्।

७. प्राप्ति शेरचन — स्पेनका लागि प्रस्तावित राजदूत
प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी विज्ञ हुन्। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा अफ्रिकामा उनको १५ वर्षभन्दा बढीको अनुभव छ। सन् २०१५ देखि उनी विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनमा लैंगिक समाधान तथा प्रभावसम्बन्धी काम गर्दै आएकी छन्।

उनले एसियामा महिला बीमा कार्यक्रम विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। ब्रान्डिस विश्वविद्यालयबाट दीगो अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गरेकी छन्।

८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
शारू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी नीति विज्ञ हुन्। नेपालको वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगार नीतिको निर्माणमा उनले योगदान गरेकी छन्। उनले संयुक्त राष्ट्रसंघीय महिला निकायमा दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम व्यवस्थापक तथा श्रम कूटनीति प्रमुखका रूपमा काम गरिन्।

सन् २०१८ देखि उनी स्वतन्त्र वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा कार्यरत छन्। वैदेशिक रोजगार तथा लैंगिक विषयमा उनका विभिन्न लेख प्रकाशित छन्।

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
डा. पद्माक्षी राणा दिगो विकास, समावेशी नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत विकास विज्ञ तथा उद्यमी हुन्सन् २०२२ देखि उनी इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सहसंस्थापकका रूपमा कार्यरत छन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट खाद्य उत्पादनमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विद्यावारिधि गरेकी छन्। यसअघि क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान तथा अध्यापनमा संलग्न रहेकी उनी सिंगापुरस्थित दिगोपन तथा नवप्रवर्तनसम्बन्धी परामर्श संस्थाकी सहसंस्थापकसमेत हुन्।
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
चूडामणि खरेल शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक तथा स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन्।

उनी हाल नेपाल योग खेलकुद संघका महासचिव छन्। यसअघि नेपाल स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौँ राष्ट्रिय खेलकुद उपसमितिका सदस्य सचिवका रूपमा काम गरेका थिए। उनले विभिन्न कलेजमा अंग्रेजी विषय अध्यापनसमेत गरेका छन्।

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
प्रा. डा. सङ्गम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता तथा जलसुरक्षा कूटनीतिका विज्ञ हुन्। उनको यस क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनी हाल थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्राध्यापक तथा पूर्वडिन हुन्।

उनले विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतका संस्थासँग सहकार्य गरेका छन्। जापानको यामानाशी विश्वविद्यालयबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका उनले २०० भन्दा बढी अनुसन्धानपत्र प्रकाशित गरेका छन्।

१२. डा. मंचला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
डा. मंचला झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन्। उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा सन् २०१५ देखि २०१९ सम्म काम गरेकी थिइन्।उनी त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक हुन्। उनले भारतको बीआर अम्बेडकर विश्वविद्यालयबाट हिन्दी साहित्यमा विद्यावारिधि तथा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन्। संक्रमणकालीन न्याय, सुशासन, महिला, शान्ति तथा सुरक्षाका विषयमा उनले काम गरेकी छन्।

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत
गिरीबहादुर सुनार समाजशास्त्री तथा विकास क्षेत्रका विज्ञ हुन्। अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श तथा बहुसरोकारवाला सुशासनमा उनको २५ वर्षभन्दा बढीको अनुभव छ।

सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, जलवायु अनुकूलन र गुनासो सुनुवाइ संयन्त्रका क्षेत्रमा उनले काम गरेका छन्। उनी त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधिका शोधार्थी हुन्। उनी विभिन्न राष्ट्रिय दैनिकमा नीतिगत लेख लेख्दै आएका छन् भने सामाजिक तथा ग्रामीण विकाससम्बन्धी संस्थामा समेत आबद्ध छन्।

छुटाउनुभयो कि ?

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

काठमाडौंरसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा ...