
काठमान्डौँ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सन्जेललगायत रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ । त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार स्थापना दिवस कार्यक्रममा प्रवेश गर्न खोज्दा प्रहरीले विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो ।
जोशीले भने, “विश्वविद्यालयले कार्यक्रममा प्रवेश गर्न दिएन । विश्वविद्यालयलाई न्यून बजेट उपलब्ध गराइएको भन्दै हामीले विरोध गरेका थियौँ । सहकुलपति समेत रहेका शिक्षा मन्त्री सहभागी हुने कार्यक्रममा प्रवेश नै निषेध गरिनु आपत्तिजनक हो ।”