
बुटवल
कर्तव्य ज्यान मुद्दामा ८ वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् । सामाजिक सञ्जालहरुमा समेत भाइरल बनेको बुटवलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहार घटनााम संलग्न बुटवल–११, बुद्धनगर बस्ने ‘आचे’ नामले परिचित २९ वर्षीय सुमित गुरुङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलले बुधबार सार्वजनिक गरेको छ ।
कालिकानगरस्थित द कन्सेप्ट अगाडि सडकमा गत असार १७ गते बिहान करिव ३ बजेको समयमा घटना भएको हो । उक्त घटनाभा स्थानीय १८ वर्षीय गिरिजेश राना र २३ वर्षीय सुन्दर बगालेमाथि गुरुङले धारिलो हतियार चक्कु र हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए । गुरुङलाई प्रहरीले असार २० गते दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, बिजौरीमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा मात्रै कारागारबाट छुटेका अपराधिक पृष्ठभूमि भएका व्यक्ति भएको प्रहरी उपरीक्षक शाहीले बताए । प्रारम्भिक बयानका अनुसार गुरुङले आफ्नो केटी साथीको विषयमा सामान्य विवाद हुँदा झगडा सुरु भएको थियो । उनीमाथि हाल ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान अगाडि बढाएको छ। चक्कु प्रहाराबाट भाइते युवाहरुको उपचाररत रहेको र उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
सुनको सिक्री चोरी गर्ने गिरोह पक्राउ
यसैगरी प्रहरीले रुपन्देहीका अन्य दुई छुट्टाछुट्टै गम्भीर अपराधमा संलग्न थप ८ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। असार १६ गते दिउँसो तिलोत्तमा नगरपालिका वडा नं. ३, शान्तिचोकमा गुडिरहेकै अवस्थामा सुनको सिक्री थुतेर फरार भएका तीन जना भारतीय नागरिक र चोरीको सुन किन्ने एक नेपाली व्यवसायी पक्राउ परेका हुन्। सीसीटीभी फुटेजका आधारमा घटनामा प्रयोग गरिएको लु ६५ प २९३१ नम्बरको मोटरसाइकल र २ थान सुनको सिक्रीसहित भारत उत्तर प्रदेशका राहुल जयसवाल र प्रिन्स जयसवाल, बिहारका नितेश कुमार गुप्ता तथा चोरीको सुन खरिद गर्ने सिद्धार्थनगर–५ का प्रदिप कान्दु बानिया पक्राउ परेको छन्। सुन खरिद गर्ने बानिया यसअघि पनि चोरी सम्बन्धी मुद्दामा रु ५० हजार जरिवाना तिरेका पुराना अभियुक्त भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
सवारी साधन चोरेर नक्कली कागजात बनाई विक्री गर्ने समूह पक्राउ
प्रहरीले भारतबाट मोटरसाइकलहरू चोरी गरी नेपाल ल्याई नेपाली नम्बर प्लेट र नक्कली ब्लुबुक बनाई बिक्री गर्ने अर्को एउटा ठूलो गिरोहलाई समेत बरामद सामानसहित नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा असार ७ गते गरिएको खानतलासीका क्रममा ६ थान मोटरसाइकल, ३ थान स्कुटर, २ थान ल्यापटप र १ थान रङ्गीन प्रिन्टरसहित पाल्पाका अशोक सारु, बुटवलका सरोज उपाध्याय, महेन्द्र गुरुङ र विकास के.सी. पक्राउ परेका हुन्।
पक्राउ परेका महेन्द्र गुरुङ यसअघि लागुऔषध मुद्दामा ५ वर्ष कैद भुक्तान गरिसकेका र विकास के.सी. सार्वजनिक अपराध मुद्दामा सजाय पाइसकेका पुराना अभियुक्त हुन्। पक्राउ परेका सबै अभियुक्तहरूमाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।