
तेहरान
स्वतन्त्रताको माग गर्दै सरकारविरुद्ध इरानमा चलिरहेको आन्दोलनमाथि सत्ता दमन चर्किंदै जाँदा त्यसको विरोधमा इरानी जनताप्रति ऐक्यबद्धता जनाउन विश्वभर प्रदर्शन सुरु भएको छ ।
चर्को मूल्यवृद्धिका कारण आक्रान्त बनेका इरानका व्यवसायीले गत २८ डिसेम्बरदेखि पसल बन्द गरेर थालेको सडक संघर्ष तेस्रो सातामा प्रवेश गर्दैगर्दा देशव्यापी बनेको छ ।
गत बिहीबारदेखि सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा नै बन्द गरेर आन्दोलनकारीमाथि तीव्र दमन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतबारसम्म कम्तीमा ५ सय ३८ को मृत्यु भएको अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । एचआरएएनएका अनुसार कम्तीमा १० हजार ६ सय प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।
इरानमा चलिरहेको सडक प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आवश्यक परेमा इरानी सरकारविरुद्ध हमला गर्न सक्नेसम्मको धम्की दिएपछि यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ । ट्रम्पले इरानी आन्दोलनकारीलाई आफ्नो समर्थन रहेको बताउँदै आन्दोलनमा थप दमन भएमा अमेरिकाले सेना पठाउने चेतावनी नै दिइसकेका छन् ।
ट्रम्पको उक्त चेतावनीलगत्तै इरानले पनि अमेरिका र इजरायलका सैन्य अखडामा आक्रमण गर्न सक्ने धम्की दिएको थियो । भर्खरै मात्र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई ‘अपहरण शैली’ मा कब्जामा लिएपछि उत्साहित देखिएका ट्रम्पको चेतावनीलाई इरानले लामो समय थेग्न सकेन । सोमबार इरानका विदेशमन्त्री अब्बास अराग्चीले इरानको आन्दोलनका सन्दर्भमा अमेरिकासँग वार्तामा बस्नका लागि इरान तयार रहेको बताएका छन् । भने, ‘इरान संवादका लागि तयार छ र युद्धका लागि पनि ।’
देशमा चलिरहेको प्रदर्शनलाई लिएर इरानी नेतृत्वले अमेरिकासँग वार्ता गर्न चाहेको राष्ट्रपति ट्रम्पले पनि पुष्टि गरेका छन् । अमेरिकाले सैन्य हस्तक्षेपको चेतावनी दिएपछि इरानको नेतृत्वले वार्ता गर्न खोजेको उनले बताए । ‘उनीहरूले वार्ता गर्ने बताएका छन्,’ आइतबार राति एयर फोर्स वानको विमानमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘तर हामीले वार्ताअघि नै कुनै कदम चाल्नुपर्ने पनि हुन सक्छ ।’
अमेरिकाले सैन्य हस्तक्षेप र सम्भावित विकल्पबारे सोचिरहेको उनले बताए । ‘केही सर्वसाधारण मारिएका छन् जस्तो देखिन्छन्, जसलाई मार्नु हुँदैन । यदि तपाईंले तिनीहरूलाई नेता मान्नुहुन्छ भने ती हिंसात्मक छन्, ती नेताहरू केवल हिंसाकै बलमा मात्र शासन गर्छन् कि के गर्छन्, मलाई थाहा छैन तर हामी यसलाई गम्भीरताका साथ हेरिरहेका छौं,’ ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँगको कुराकानीमा भनेका छन्, ‘हाम्रो सेनाले यस घटनाक्रमलाई नियालिरहेको छ, प्रशासनले हस्तक्षेपका लागि सम्भावित सैन्य विकल्पहरूका बारेमा विचार गरिरहेको छ, चाँडै यसबारे तय हुनेछ ।’
यसअघि इरानले अमेरिकाबाट कुनै हस्तक्षेप भएमा जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । विदेशमन्त्री अराग्चीले विदेशी इसारामा इरानमा आन्दोलन मच्चाइएको आरोप लगाउँदै यतिबेला नियन्त्रणमा आइसकेको पनि दाबी गरेका छन् ।
प्रदर्शनकारीलाई हतियार वितरण गरिएको भिडियो इरानसँग रहेको दाबी गर्दै अराग्चीले हिरासतमा लिइएका प्रदर्शनकारीसँग गरिएको बयानलाई सरकारले चाँडै सार्वजनिक गर्ने पनि बताए । त्यसबाहेक उनले छिटै नै देशमा इन्टरनेट सेवा सुचारु हुने पनि बताएका छन् । सरकारले यसका लागि सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेको जानकारी दिँदै उनले सरकारी निकाय र दूतावासहरूमा पनि कनेक्टिभिटी खुल्ने बताए ।
इरान प्रदर्शनको विश्वभर ऐक्यबद्धता
दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लन्डनलगायत विभिन्न युरोपेली सहरमा विरोध प्रदर्शन भएको छ । न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा ठूलो संख्यामा प्रदर्शनकारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
अकल्यान्डमा प्रदर्शनकारीले इस्लामिक गणतन्त्रको झन्डा च्यातेका छन् । उनीहरूले राजतन्त्रकाल (१९७९ पूर्व) प्रयोग हुने गरेको सिंह र सूर्य अंकित झन्डा हातमा बोकेका थिए । टोकियोमा पनि प्रदर्शनकारीले पूर्वयुवराज रेजा पहल्वीको पक्षमा नाराबाजी गरेका छन् ।
लन्डनमा शनिबार एक आन्दोलनकारीले इरानी दूतावासको बार्दलीमा चढेर इस्लामिक गणतन्त्रको झन्डा च्यातेर राजतन्त्रकालको झन्डालाई फहराएका थिए । गत बिहीबारदेखि इन्टरनेट र टेलिफोन सम्पर्क टुटेकाले यहाँ भएको मानवीय क्षतिको विस्तृत विवरण पत्ता लगाउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थालाई कठिन भएको छ ।
इन्टरनेटसम्बन्धी अनुगमन गर्ने संस्था ‘नेटब्लक्स’ले इरानमा ८४ घण्टाभन्दा लामो समयदेखि राष्ट्रव्यापी रूपमा इन्टरनेट सेवा अवरोध भएको जनाएको छ । आन्दोलनकारीले विकल्पमा सर्टवेब रेडियो, सीमा क्षेत्रका टेलिफोन टावर र स्टारलिंक टर्मिनलहरू प्रयोग गरिरहेको पनि ‘नेटब्लक’ले उल्लेख गरेको छ ।
आन्दोलनकारीको नरसंहारलाई ढाकछोप गर्नका लागि इरानको सत्ताले सञ्चार अवरोध गरेको मानवअधिकारवादी संस्थाहरूले आरोप लगाएका छन् । इरानका अस्पतालहरू घाइते प्रदर्शनकारीले भरिभराउ रहेको त्यहाँ कार्यरत चिकित्सकहरूले बताएका छन् । आन्दोलनमा १ सय ९ जना सुरक्षाकर्मीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी ‘तास्मिन’ले जनाएको छ । तर, सरकारी अधिकारीहरूले मृत्यु हुने प्रदर्शनकारीको संख्या भने सार्वजनिक गरेका छैनन् ।
सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर तथा भिडियोले आन्दोलन हिंसात्मक बन्दै गएको देखाउँछ । आक्रोशित आन्दोलनकारीहरूले विभिन्न सहरमा तोडफोड तथा आगजनी गरेका छन् । इरानमा २८ डिसेम्बरमा व्यापारीहरूले मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका थिए ।
दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको र बेरोजगारी बढेकाले आन्दोलनमा अहिले समाजका सबै तप्का सहभागी छन् । आर्थिक सुधारको मागसहित सुरु भएको आन्दोलनमा अहिले सत्ता परिवर्तन मूल मुद्दा बनेको छ । धार्मिक सत्ताले बनाएका विभिन्न नीति–नियम खारेज हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ । आन्दोलनकारीले स्वतन्त्रताको पक्षमा तानाशाहीको अन्त्य माग गर्दै नारा दिइरहेका छन् ।
को हुन् रेजा पहल्वी ?
६५ वर्षीय पूर्वयुवराज रेजा पहल्वीको पक्षमा अहिले इरान र बाहिरी विश्वमा पनि नारा लागिरहेको छ । प्रदर्शनकारीहरूले उनलाई नेतृत्व लिन आग्रह गरिरहेका छन् । उनी इरानका अन्तिम शाह मोहम्मद रेजा पहल्वीका जेठा छोरा हुन् । १९७९ मा इरानमा झन्डै
एक वर्ष ३ महिनासम्म चलेको आन्दोलनमा दमन गरेपछि शाह मोहम्मदप्रति जनताको आक्रोश बढेको थियो । सडकमा उत्रिएका सर्वसाधारणमाथि दमन गर्न सेनाले अस्वीकार गरेपछि ११ फेब्रुअरी १९७९ मा शाही सत्ता समाप्त भएको थियो । त्यसयता, शाही परिवार भागेर इजिप्ट हुँदै अमेरिका गयो । शाह मोहम्मद रेजाको मृत्युपछि ३१ अक्टोबर १९८० मा निर्वासित अधिकारीहरूले रेजा पहल्वीलाई राजा घोषणा गरेका थिए ।
त्यसयता, निर्वासनमै रहेर पछिल्ला ४५ वर्षदेखि रेजाले सत्ता हत्याउने प्रयत्न गरिरहेका छन् । पछिल्ला वर्षहरूमा उनले इरानमा संवैधानिक राजतन्त्र पुनःस्थापना गर्न सकिने बताउँदै आएका छन् । उनले वंश विरासत नभएर निर्वाचित राजाको अवधारणा अघि सारेका छन् ।
इजरायलको पक्षधरता लिएका कारण पनि उनी विवादमा छन् । गतवर्ष जुनमा इरान र इजरायलबीच भएको १२ दिने युद्धमा उनले इजरायलको पक्षधरता लिएका थिए । त्यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेका पनि थिए । बदलामा, अहिले इजरायलले उनको पक्षधरता लिइरहेको छ ।