नेपाली श्रमिक लाई बन्धक बनाएर लगाइयो अनलाइन ठगीमा


काठमाडौँ
गत अप्रिल तेस्रो सातातिर ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्कालाई काठमाडौंबाट एक महिलाले रुँदै फोन गरिन्, ‘मेरो छोरा दुई सातादेखि सम्पर्कमा छैन, खोजी गरिदिनुपर्‍यो ।’ ती महिलाका छोराले तीन महिनादेखि आफू ओमानको एक कम्पनीमा आईटी क्षेत्रमा काम गरिरहेको परिवारमा बताएका थिए ।

केही दिनको अवधिमै खड्कालाई आईटी क्षेत्रमा नै काम गर्ने आफन्त हराएको भन्दै अन्यबाट पनि तारन्तार फोन आउने क्रम बढ्दै गयो । पीडितले मस्कटस्थित नेपाली दूतावाससमक्ष पनि आफन्तको खोजी गरिदिन अनुनयविनय गरिरहेका थिए ।

‘१०–१२ जना नै हराए भन्ने गुनासो आएपछि हामीलाई अचम्मै लाग्यो । ओमानमा यसअघि यस्तो गुनासो कहिल्यै सुनिएको थिएन,’ खड्काले भने, ‘खोज्दै जाँदा २० जना नेपाली सोहरको एक जेलमा कैदी अवस्थामा भेटिएका थिए ।’ मस्कटबाट झन्डै दुई सय किलोमिटर टाढाको सोहर क्षेत्रमा कार्यरत सोसल क्लबका केन्द्रीय सदस्य देवान खड्का उक्त जेलमा पुग्दा उनीहरूलाई साइबर अपराध गरेको अभियोगमा थुनिएको खुल्यो ।

थुनिएका ती सबै नेपाली भिजिट भिसामा दुबई पुगेका थिए । उनीहरूलाई त्यहाँबाट एक चिनियाँ कम्पनीले आईटी क्षेत्रमा काम दिने भन्दै भिजिट भिसामा नै ओमान पुर्‍याएको थियो । त्यसैगरी पुगेका थिए, महोत्तरीका सञ्जय (नाम परिवर्तन) पनि । यसअघि उनी अनलाइनमार्फत एप्लाई गरेर ‘डेटा–इन्ट्री अफिसर’ का रूपमा काम गर्न भिजिट भिसामा दुबई पुगेका थिए । ‘दुबईमा तीन महिना काम गरेपछि हामीलाई ओमानको एउटा बन्द कम्पाउन्डभित्र लगियो । जहाँ चारैतिर अग्ला पर्खाल र गार्डहरू तैनाथ थिए । पुग्नासाथ उनीहरूले हाम्रो राहदानी र फोन खोसे,’ सञ्जयले कान्तिपुरसँग भने, ‘पछि मात्रै त्यो अनलाइन स्क्याम सेन्टर रहेको थाहा पायौं । त्यहाँबाट हामीलाई जबर्जस्ती क्रिप्टो–फ्रड, अनलाइन ठगी र फेक प्रोफाइलमार्फत ठगी अभियान चलाउन बाध्य पारिन्थ्यो । त्यहाँको नियम मान्नुपर्ने धम्की दिइयो, हामीसँग अर्को कुनै विकल्प नै भएन ।’
संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयको ‘अनलाइन स्क्याम्प अप्रेसन इन साउथ इस्ट एसिया एज साइड अफ ट्राफिकिङ इन पर्सन’ सम्बन्धी पछिल्लो प्रतिवेदनले ठगी केन्द्रहरू आपराधिक उद्यम गर्ने थलो मात्रै नभई आधुनिक दास शिविर बनिरहेको जनाएको छ । ‘झूटो रोजगारीको विज्ञापनमार्फत फसाइएका श्रमिकलाई बेचबिखन गरिन्छ, बन्दी बनाइन्छ, कुटपिट गरिन्छ । उनीहरूलाई अनलाइन जुवा, क्रिप्टोकरेन्सी र ‘रोम्यान्स स्क्याम’ मार्फत विश्वभरका प्रयोगकर्तालाई ठग्न बाध्य पारिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘साइबर ठगी कम्पाउन्डमा भित्र काम गर्न बाध्य पारिएका श्रमिकहरू अन्तर्राष्ट्रिय कानुनी परिभाषाअनुसार बेचबिखनमा परेका व्यक्ति हुन् ।’
गत १० मार्चमा प्रहरीले २० नेपालीसहित दुई सय ५७ जनालाई सोहरको एउटा भवनभित्रबाट पक्राउ गरेको थियो । स्थानीय अदालतको फैसलाअनुसार १९ जनाले ६ महिना कैद र तीन सय ओमानी रियाल तथा दुई जनाले ६ महिना कैद र ६ सय रियाल जरिवाना भुक्तान गरेपछि हालै नेपाल ‘डिपोर्ट’ भएका हुन् ।

रोयल ओमान पुलिस (आरओपी) का अनुसार २०२५ को जुनभित्र साइबर अपराध ठगीका मुद्दा ५० प्रतिशतले बढेको छ । ‘घरेलु श्रमिक भर्ना सेवाका लागि भन्दै नक्कली विज्ञापन, नक्कली घरभाडा प्रस्ताव र सरकारी वेबसाइटझैं देखिने जालसाजी साइट बनाएर साइबर अपराध बढिरहेको छ,’ आरओपीका आपराधिक अनुसन्धान महानिर्देशक ब्रिगेडियर जमाल बिन हबिब अल कुरैसीले मस्कट डेलीलाई भनेका छन्, ‘उनीहरू (श्रमिक) लाई विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा प्रयोग गरिएको पाइएको छ ।’

जेठ २०८० मा पनि फिलिपिन्सको पामपान्गाको क्लर्क फ्रिपोर्टस्थित क्लर्क सन भ्याली हब कर्पोरेसन र मावालाकटस्थित विशेष आर्थिक क्षेत्रमा छापा मारेर ६९ जना नेपालीसहित १ हजार १ सय ३७ विदेशी कामदारलाई पक्राउ गरिएको थियो । ‘मलाई कम्पनीले ह्वाट्सएपबाट छनोट गरेको बताएको थियो । महिनाको एक हजार डलर तलब, निःशुल्क होस्टल र खानाको व्यवस्था भनिएको थियो । हवाई टिकट पनि कम्पनीले नै पठाइदिएको थियो,’ पक्राउ गरिएका एक नेपाली युवाले भने, ‘पछि त्यहींबाट अनलाइनमार्फत ग्राहकलाई फसाएर ठगी गर्न लगाइएको थियो । गेटबाहिर जान रोक थियो । ड्युटी सकिएपछि क्याम्पमा लगेर छोडिन्थ्यो । हामीलाई एकखाले बन्दी जस्तै बनाएर राखिएको थियो ।’

उनका अनुसार दैनिक १८ घण्टासम्म ग्राहक खोज्ने काममा लगाइन्थ्यो । ‘ग्राहक भेटिएन भने करार रद्द गर्ने धम्की दिन्थ्यो । तलब कटौती गरिदिन्थ्यो,’ उनले भने, ‘अपरिचित व्यक्तिसँग फर्जी ‘रोमान्टिक अनलाइन रिलेसन’ बनाउन तालिम दिइन्थ्यो । त्यसपछि क्रिप्टोकरेन्सी किन्न लगाउने र फर्जी बैंक खातामा रकम जम्मा गर्न लगाइन्थ्यो ।’ उनीहरूलाई ठगी धन्दा चलाउने सात जना चाइनिज, दुई जना इन्डोनेसियाली र एक मलेसियन नागरिकलाई मानव तस्कर, अपहरण र साइबर अपराधको मुद्दा लगाइएको छ ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...