
बुटवल
रुपन्देहीको कन्चन गाउँपालिका-५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। तीमध्ये आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।