जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल


प्रवेश दाहाल
दाहाल जेन-जी आन्दोलनका प्रतिनिधि हुन् ।

भदौ २३ र २४ को जेन–जी विद्रोह असन्तुष्टिको विस्फोट मात्रै थिएन, त्यो हाम्रो पुस्ताले पुरानो प्रणालीलाई दिएको चुनौतीको अपूर्व क्षण थियो । भ्रष्टाचार, नातावाद, अवसरहीनता र विभेदले भरिएको समाजमा बस्नु हामीलाई स्वीकार्य थिएन । हामीले देखेका सहिदका सपना, घाइतेका बलिदान र आम नेपाली युवाको पीडाले नै यो विद्रोहलाई ऊर्जा दिएको हो ।
हामी जेन–जी पुस्ता अब विद्रोहमा मात्रै सीमित रहन चाहँदैनौं । अब हाम्रो प्राथमिकता नयाँ नेपाल निर्माण हो । समृद्ध, पारदर्शी र आत्मनिर्भर नेपाल हाम्रो परिकल्पना हो । हामी शून्य भ्रष्टाचार, प्रत्यक्ष कार्यकारी नेतृत्व, रोजगारी सिर्जना, युवालाई अवसर, सामाजिक न्याय, प्रविधि–मैत्री विकास र उत्पादनमा आत्मनिर्भरता चाहन्छौं ।

हामीले चाहेको परिवर्तन नारामा मात्रै सीमित हुनेछैन । व्यवहारमा उतार्नुपर्ने ऐतिहासिक आवश्यकता हो । यो पुस्ता अब हार मान्ने पक्षमा छैन । हामी आधुनिक, न्यायपूर्ण र सक्षम नेपाल निर्माणका लागि दृढ संकल्पित छौं ।
आत्मनिर्भर अर्थतन्त्रको मार्ग
म विश्वास गर्छु, हाम्रो देश सम्पन्न छ । प्राकृतिक रूपमा होस् या अन्य हिसाबले । अब देशलाई हामीले आत्मनिर्भर बनाउनैपर्छ । आत्मनिर्भरता मात्र होइन, समृद्ध र सक्षम राष्ट्र निर्माण हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी हो । त्यो जिम्मेवारी अब युवा पुस्ताको काँधमा आइसकेको छ । हामीसँग जल छ, जमिन छ, जडिबुटी छ, अनगन्ती प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदा छन् । यी सबै अमूल्य सम्पत्तिहरूलाई हामीले सही तरिकाले उपयोग गर्न सक्नुपर्छ ।
संसारले हाम्रा हिमाल, हाम्रा जल सम्पदा, हाम्रा जैविक सम्पदालाई मूल्यांकन गरिरहेको छ । तर हामी आफैंले यसको कदर नगरेर अरूको उत्पादनमा निर्भर हुनु दुःखद पक्ष हो । यो विडम्बनाको अब अन्त्य जरुरी छ ।

त्यसैले म भन्छु, हामीले उत्पादन बढाउनुपर्छ, आधुनिक प्रविधि प्रयोग गरेर गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्छ र त्यसलाई विश्वबजारमा निर्यात गर्न सक्ने क्षमता विकास गर्नुपर्छ । यसरी मात्रै हामीले मुलुकलाई समृद्ध बनाउन सक्छौं । आयातमा निर्भर हुने प्रवृत्तिलाई क्रमशः कम गर्दै जानु हाम्रो राष्ट्रिय प्राथमिकता हुनुपर्छ ।

आयातलाई कम गर्नु भनेको विदेशी वस्तुको प्रयोग नगर्नु त छँदै छ । सँगै आफ्ना मौलिक उत्पादनलाई प्राथमिकता दिनु पनि हो । जब हामी नेपाली उत्पादनलाई उपभोग गर्न थाल्छौं । त्यसपछि माग बढ्न थाल्छ । उत्पादनको स्तर उकासिन्छ र अन्ततः निर्यातको बाटो खुल्छ ।

हामीले हाम्रो उत्पादनलाई ब्रान्ड बनाउनुपर्छ, नेपाली नामलाई विश्वबजारमा स्थापित गर्नुपर्छ । नेपाली चिया, कफी, जडीबुटी, गार्मेन्ट वा कृषि उपज, यी सबैलाई अन्तर्राष्ट्रिय बजारमा गुणस्तर र पहिचानसहित पुर्‍याउन सके नेपाल आत्मनिर्भर मात्र होइन, विश्वलाई योगदान दिने राष्ट्र बन्न सक्छ ।

म महसुस गर्छु, हाम्रो देशमा उत्पादकत्वको अभाव छैन, समस्या व्यवस्थापन र दृष्टिकोणमा छ । हामीले विदेशबाट ल्याउने महँगो सामानभन्दा आफ्नै उत्पादनमा गर्व गर्ने बानी बसाल्नैपर्छ । आयातलाई घटाउँदै लैजाने काम सहज छैन, तर असम्भव पनि छैन ।

त्यसका लागि नीतिगत सुधार जरुरी छ । विज्ञ टोलीहरूलाई जिम्मेवारी दिएर, आधुनिक प्रविधि भित्र्याएर र विधि–पद्धतिमा पारदर्शिता ल्याएर मात्र हामीले आर्थिक समृद्धिको यात्रा सुरु गर्न सक्छौं । अर्थनीति बदलिनुपर्छ, दिगो र न्यायपूर्ण अर्थतन्त्रको आधार तयार गर्नुपर्छ ।
सामाजिक एकता र समावेशिता

म स्पष्ट छु, समानुपातिक समावेशीकरण खारेज गर्नु हुन्न । जात, धर्म, भाषा, संस्कृति हाम्रो गहना हुन् । यिनलाई संरक्षण गर्नु हाम्रो दायित्व हो । नेपाल विभिन्न जातजाति र धर्महरूको साझा फूलबारी हो । यहाँका सबै फूलहरूले एउटै बगैंचाको सुगन्ध फैलाउँछन् । त्यसैले समाजलाई मिलाएर अघि लैजानुपर्छ । न कि विभाजित गरेर ।

तर म यो पनि भन्छु, जात, धर्मभन्दा ठूलो कुरा क्षमता र प्रतिभा हो । जसमा दक्षता छ, जसले समाजलाई अगाडि बढाउन सक्छ, उसलाई अवसर मिल्नैपर्छ । कुनै जात र धर्मका कारण कोही प्रतिभावानले अवसर गुमाउनुहुन्न । असमानता र विभेद हाम्रो समाजको घाउ हो ।

छुवाछूत, जातीय विभेद, वर्गीय अन्याय, यी सबै बेला–बेला दुख्ने गर्छन् । ती सबै असमानताहरूको स्थायी उपचार गर्नुपर्छ । जसले फेरि घाउ बल्झिरहने अवस्था नबनोस् । जबसम्म हामी एकअर्कासँग सहकार्य गर्न सक्दैनौं, तबसम्म हामी राष्ट्र निर्माणतिर दृढतापूर्वक अघि बढ्न सक्दैनौं । मेरो धारणा छ, सबै नेपाली एउटै धागोमा गाँसिनुपर्छ । लडाइँ–झगडा होइन, सहकार्य र एकता नै हाम्रो शक्ति हो ।
उत्पादन र स्रोत साधनको उपयोग

हाम्रो देश भूपरिवेष्टित भए पनि अपार सम्भावनाले भरिएको छ । कृषिमा आधुनिकीकरण र पर्यटनको विकास गरेर हामीले ठूलो आर्थिक फड्को मार्न सक्छौं । विश्वका अधिकांश अग्ला हिमाल हामीसँग छ । ती हिमाललाई हामीले आर्थोपार्जनको रूपमा प्रयोग गर्नुपर्छ । सँगै हिमाललाई बचाउनुपर्छ ।

ग्लोबल वार्मिङका कारण आज हाम्रा हिमाल पग्लिँदै गएका छन् । ती सम्पदाहरूको रक्षा गर्नुपर्ने हाम्रो दायित्व हो । हिमाल, पहाड र तराईलाई एउटै धागोले बाँधेर अघि बढाउन सकियो भने नेपालको आर्थिक विकासलाई कसैले रोक्न सक्दैन । जलस्रोत हाम्रो धन हो । यसलाई ऊर्जा उत्पादन, सिँचाइ र रोजगारी सिर्जनामा प्रयोग गर्न सकिन्छ । खाद्यान्नमा आत्मनिर्भर भइयो भने देशको अवस्था स्वतः सुधारिन्छ ।

कृषि वा जलस्रोतमा मात्र सीमित छैन, आईटी क्षेत्र पनि हाम्रो भविष्य उस्तै उज्यालो देखिन्छ । सूचना प्रविधिको प्रयोग गरेर हाम्रो युवा शक्ति विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् । मात्रै अवसरको खाँचो छ । चेतना र सीप सुधार गर्दै अघि बढे हामी पक्कै सफल हुन्छौं । समक्षमा बन्छौं ।
युवाको पलायन र मेरो दृष्टि

मेरो मनमा सबैभन्दा ठूलो पीडा युवाको विदेश पलायन हो । हाम्रो शक्ति, हाम्रो भविष्य, हाम्रो सपना विदेशमा पसिना बगाइरहेको छ । प्रश्न उठ्छ किन ? जवाफ स्पष्ट छ, यहाँ रोजगारीको वातावरण छैन, अवसर नातावाद र कृपावादले कब्जा गरेको छ ।

म भन्छु, विदेश जान चाहने युवालाई रोक्ने होइन, तर फर्केर आउन सक्ने वातावरण तयार गर्नुपर्छ । जसरी बिहान उडेका चराहरू फर्केर साँझ आफ्नै गुँडमा आइपुग्छन्, त्यसरी नै हाम्रा युवा फर्कन सक्ने वातावरण बनाउनुपर्छ । यसको उपाय भनेको रोजगारी सिर्जना नै हो, लगानीमैत्री वातावरण नै हो ।

दक्ष र सक्षम युवालाई यही माटोमा रोजगारी दिन सकियो भने उनीहरूलाई विदेशमा पसिना बगाउनुपर्ने कुनै बाध्यता हुँदैन । रहरले होइन, बाध्यताले हाम्रो युवा शक्ति विदेश पलायन भइरहेको छ । मैले देखेको एउटै सपना या सम्भावना हो, यो देश बन्न सक्छ । तर त्यसका लागि युवालाई निराश पार्ने होइन, बल्की आशा जगाउने नेतृत्व चाहिन्छ । हौसला दिने नेता चाहिन्छ ।

म राजनीति प्राणी नै हुँ । जेन–जी विद्रोहले नै मलाई पनि ‘एक्सपोजर’ मिलेको हो । म स्पष्ट भन्न चाहन्छु, जेन–जी आन्दोलनले म जस्ता धेरै युवालाई अब अवसर प्रदान गर्ने छ । यो युवा समूहका लागि ठूलो कुरा हो । सधैं वृद्ध नेताहरूको भरमा देश चल्दै थियो, अब देश युवाको हातमा जानुपर्छ ।

हामी युवाहरूसँग भिजन छ, मिसन छ । जोस, जाँगर पनि उस्तै छ । भदौ २३–२४ को विद्रोहपछि अन्तरिक सरकार बनेको छ । सरकार असंवैधानिक छ । अहिले त्यतातिर नजाऔं । तर, जेन–जीले यत्रो बलिदानी किन गर्‍यो ? यसको लेखाजोखा हुनैपर्छ । हाम्रो मूल मुद्दा प्रत्यक्ष कार्यकारीको निर्वाचन र शून्य भ्रष्टाचार नीति हो । यो मेरो निजी विचार होइन, देशभरका जेन–जीहरूको साझा माग हो । संकल्प हो ।

आज जनताले जुन परिवर्तन खोजेका थिए, त्यो सम्भव भएको छ । राजसंस्था जस्तो २४३ वर्ष पुरानो संरचनालाई जनताले नै मिल्काएका थिए । अब भ्रष्टाचारी नेताहरूलाई किन परिवर्तन गर्न सकिँदैन ? पक्कै सम्भव छ । त्यसको नतिजा देखिइसकेको पनि छ ।

पुरानो संविधानलाई छाडेर अन्तरिम संविधानमार्फत भए पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्छ । यस विषयमा राष्ट्रपति, विज्ञ टोली र आन्दोलनकारीबीच तत्काल संवाद हुनुपर्छ । जनताले चाहेको नेतृत्व, जनताले चुनेको कार्यकारी नै एकमात्रै समाधानको उपाय हो ।

सहिद र घाइतेले दिएको बलिदानलाई म कहिल्यै बिर्सन सक्दिनँ । हामी कसैले पनि बिर्सन हुन्न । उनीहरूको सपनामा खेलवाड भयो भने, फेरि विद्रोह हुन सक्छ । त्यसैले यो बेला हामीले ढिलाइ नगरी प्रत्यक्ष कार्यकारी निर्वाचनलाई सम्भव तुल्याउने दिशामा अघि बढ्न जरुरी छ ।
आधुनिक निर्माणको संकल्प

म विश्वास गर्छु, अब हाम्रो प्राथमिकता आधुनिक र नयाँ नेपालको निर्माण हो । शिक्षा, स्वास्थ्य, ऊर्जा, प्रविधि जस्ता क्षेत्रमा नयाँ सोचसहित लगानी गर्नुपर्छ । हामी पुरानो ढर्रामा अड्किएर बस्ने होइन, नयाँ पुस्ताले नयाँ नेपाल बनाउनुपर्छ ।

पुराना नेताहरूले झैं भाषणमा मात्रै सीमित नराखेर तत्काल व्यवहारमा उतार्न सकियो भने मात्रै हामी सफल बन्नेछौं । नत हाम्रो नियति पनि पुराना नेताहरूकै जस्तो हुनेछ । जसलाई इतिहासले धिक्कार्नेछ ।

जब हामी सबै नेपाली एउटै धागोमा गाँसिन्छौं, विभेद, भ्रष्टाचार र निराशालाई पन्छाएर अघि बढ्छौं, तब मात्रै नेपाल वास्तवमै समृद्ध र आत्मनिर्भर बन्नेछ ।

अन्त्यमा, म आज यो भूमि, यो जनता र भविष्यप्रति दृढ प्रतिज्ञा गर्दछु कि आत्मनिर्भर अर्थतन्त्र, सामाजिक एकता, युवाको अवसर, शून्य भ्रष्टाचार र प्रत्यक्ष कार्यकारी नेतृत्व यी पाँच आधारमा मैले मेरो जीवन अर्पण गर्ने संकल्प लिएको छु । यो देश बनाउन म जीवन आहुति दिन पनि पछि हट्ने छैन ।

यो देश बनाउन हामीले आफैं उठ्नुपर्छ । मेरो विचारमा, जब हामीले विभेदलाई हटाएर, सहकार्यलाई अँगालेर, उत्पादनलाई बढाएर र नयाँ नेतृत्वको ढोका खोलेर अघि बढ्छौं, त्यो दिन नेपाल विश्वमाझ उभिनेछ । र, म त्यो दिनको प्रतिक्षामा छु । त्यो दिनका लागि लड्न चाहन्छु, त्यो दिनका लागि नै बाँच्न चाहन्छु ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...