नेताज्यु’ गाउँमै फर्कने वातावरण बनाउनु होस, म आफै फर्कने छू


सुर्य ज्ञवाली

तपाईं भन्नुहुन्छ गाउँ आफै रित्तिएको हो। तर माफ गर्नुहोस्, यो सत्य हैन, सीधै गलत छ, गाउँ आफैंले रित्तिएको होइन, नीति, बेवास्ता र असमान विकासको बलियो परिणाम हो यो। गाउँमा मान्छे बसिरहुन् भनेर तपाईंहरुले के गर्नुभयो? बाँझो जग्गा सुरक्षा गर्न सक्ने कानुन ल्याउनुभयो ? वन्यजन्तुको आतङ्कबाट किसान जोगाउने ग्यारेन्टी गर्नुभयो ? उखु, आलु, दुध बेच्न नपाउने किसानलाई बजार सुनिश्चित गर्नुभयो ? गाउँमै रोजगारी र उद्योग खोल्न चाहने युवालाई सहुलियत दिनुभयो ? तपाईं आफैं भन्नुहुन्छ, “गाउँमा बाटो, पानी, बिजुली पुगेको छ।”ठीक हो, ढोका खोल्न ढोका त बन्यो, तर त्यो ढोका हुँदै देश बाहिर पलायन भयो, गाउँ छाडेर शहरतिर भासियो।तपाईं फेरि भन्नुहुन्छ, “गाउँको ढुङ्गा माटोको घरमा बसेको मान्छेले शहरको पक्की घर देखेर आफूलाई हीडन ठान्यो।”कसले गरायो यस्तो तुलना?तपाईंको विकासको परिभाषा नै यस्तो बनाइयो, जहाँ धुलो माटोको गाउँ ‘पछाडि परेको’ ठहरिन्छ, अनि सिसा र सिमेन्टको शहर ‘विकसित’ ठहरिन्छ।

यो देशमा पञ्चायतकालदेखि द्वन्द्व, पछिल्लो समृद्धिको सपना हुँदै, तपाईंहरूले गाउँलाई जनशक्ति दिने होइन, जनशक्ति खोस्ने नीतिमा थिच्दै जानुभयो।अनि आज जब गाउँ रित्तिँदै छ, तपाईं भन्नुहुन्छ “यो त स्वाभाविक प्रक्रिया हो, ।”कस्तो विडम्बना! मान्छे विदेशमा चामल झोलामा बोकी काममा जान्छ,गाउँको गहुँ बाँदर खान्छ, पाखामा रुख काटेर मल राखेको खेत बाझो रहन्छ। तर तपाईं भन्नुहुन्छ “यो नै विकास हो” ? नेताज्यू, तपाईंले भन्नु भयो “गाउँ नरित्तिकन शहर भरिंदैन।”तर एउटा कुरा बुझ्नुस्,शहर त भरिन्छ, तर देश त रित्तिन्छ।

गाउँमा माटो र पसिना सुक्दै जानु, कृषिमा हात घट्नु,रोटी खोज्न बाहिर देश जानु यी स्वाभाविक होइनन्, यी तपाईंहरुको नीति र नजरको परिणाम हुन्। अहिले सर्वत्र चर्चा र चिन्ताको विषय छ गाउँ रित्तियो, देश रित्तियो।मानिसहरू आफैँले खेलेको आँगन, पुर्खाले सिँचेको खेत, आफूले पसिना बगाएको पाखा किन छोडेर हिंडिरहेका छन्? अन्नपात दिने गैह्री खेत, ढुङ्गे देउराली, बारिको धौलेपाटा किन बाँझो पारेर बिरानो बनाइरहेका छन्?जब यो प्रश्न उठाउँछौं, नेताज्यूहरू भन्छन् “गाउँ आफैं रित्तिएको हो, यो त स्वाभाविक प्रक्रिया हो। शहर त भरिनैपर्छ, गाउँ रित्तिएरै हो।”अनि तर्क दिन्छन् “जंगली जनावरको आतंक हो, सरकारको नालायकी हो, बस् यत्ति हो।” तर नेताज्यू, यो तर्क कति सहि हो? वा यो तपाईंहरूको असफलताको आवरण मात्र हो?सोधौं जंगली जनावरको आतंक भयो भने संरक्षणको उपाय किन गरिएन?अख्तियार गर्ने ठाउँ सरकार होइन?अनि विकास भएको भन्दै टोलटोलमा सडक, बिजुली, पानी पुगेको दाबी गर्नुभयो,त्यो पूर्वाधारबाट फर्किन खोज्ने जनशक्ति किन फेरि सहर, देश र विदेश हान्न थाल्यो? सत्य के हो भने गाउँ आफैं रित्तिएको होइन, तपाईंहरूको नीति, नजर र नेतृत्वको परिणामस्वरूप रित्तिएको हो।गाउँमा बत्ती पुगे पनि उज्यालो छैन,बाटो पुगे पनि भविष्यको दिशा छैन,इन्टरनेट पुगे पनि सूचना छैन,विद्यालय छन्, तर सपना छैन।तपाईं भन्छन् “गाउँको ढुङ्गा माटोको घरमा बसेको मान्छेले शहरको पक्की घर देखेर आफुलाई हीनताबोध गर्‍यो।”तर त्यो तुलना को गरायो?

तपाईंको विकासको परिभाषाले!जहाँ शहर ‘सफलता’ हो र गाउँ ‘पछौटेपन’ को प्रतीक।जहाँ माटोमा गन्हाउने हात होइन, एयरकन्डिसन कोठाको कोटले मान सम्मान पाउँछ।हिजो मुग्लान जान्थे नेपाली, आज खाडी र कोरिया जान्छन्। यो परम्परा होइन, परिस्थिति हो, र त्यो परिस्थितिको सिर्जना नीतिगत असफलता ले गरेको हो। गाउँमा आज पनि उन्नत कृषि सम्भव छ।घाँस, दूध, तरकारी, फलफूल बेचेर जीवन गुजार्न सकिन्छ।टुरिजमको भरपुर सम्भावना छ, होमस्टे चल्न सक्छ, तर सरकारबाट समन्वय, सुरक्षा र बजारको ग्यारेन्टी छैन।सोधौं गाउँ रित्तिनु विकास हो? कि विकृति ? ठूला शहर विकासको प्रतीक हुन सक्छन्,तर त्यो शहर निर्माणको जगमुनि,रित्तिएका गाउँको आक्रोश र आँसु गाडिएको छ। गाउँबाट सहर, अनि देशबाट विदेश हिँडेको जनशक्ति त्यो तपाईंले बनाएको रोजगारी बिहीन, समानता बिहीन व्यवस्थाको परिणाम हो।शहर बनाउनु गलत होइन,तर गाउँ उजाड बनाएर शहर बनाउनु राष्ट्रघात हो।

नेताज्यू, तपाईं भन्नुहुन्छ “गाउँ नरित्तिकन शहर भरिंदैन।”तर सुन्नुस् शहर भरियो भने घर हुन्छ,गाउँ रित्तियो भने देश रित्तिन्छ।आज जुन गाउँ रित्तिएको छ,त्यहाँ जनताको मात्र अनुपस्थिति छैन,त्यहाँ तपाईंहरूको अकर्मण्यताको गन्ध छ।त्यसैले अब गफ होइन, काम गर्नुहोस्।गाउँ बचाउनुहोस्, देश बचाउनुहोस्। गौरव त शहरमा होइन,गाउँमा स्वाभिमानसहित बाँच्न सक्ने व्यवस्था बनाउनुमा छ। गाऊ फर्कने वातावरण बनाउनु होस म आफै फर्कने छू।

लेखक : बुटवलका व्यवसायी हुन्।

छुटाउनुभयो कि ?

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् ब...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय ...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बा...
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको...