
गुल्मी, १९ असार – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले एक विशेष समारोहका बीच यो घोषणा गर्दै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि थप प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष पोखरेलले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए।
उनले भने, “हाम्रो गाउँपालिकालाई बालमैत्री बनाउन र बालश्रम तथा सडक बालबालिकाको अवस्थालाई शून्यमा झार्न हामीले निरन्तर प्रयास गरेका छौं। यो घोषणा हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो।”धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानलाई आत्मसात् गर्दै बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न संस्थागत सुधारमा जोड दिएको छ।
पालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक विकासका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको छ। साथै, बालश्रम न्यूनीकरण र सडक बालबालिकालाई संरक्षण प्रदान गर्न स्थानीय समुदाय, विद्यालय र विभिन्न संघसंस्थासँग सहकार्य गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।यो घोषणाले धुर्कोट गाउँपालिकालाई बालमैत्री शासनको नमुना बनाउने लक्ष्य राखिएको छ। गाउँपालिकाले आगामी दिनमा बालबालिकाको हकअधिकार सुनिश्चित गर्न थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।