आविष्कार केन्द्रले गर्‍यो सरकारी अस्पतालका ५ सय उपकरण मर्मत


काठमाडौँ

राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोग हुन थालेका छन् । 

केन्द्रले न्यूनतम खर्चमा ३६ भेन्टिलेटर, २३ डायलासिस मेसिन, ७ एनेस्थेसिया मेसिन, १० भिडियो एक्सरे १० र ८ अटो क्लेभ मेसिन मर्मत गरेको छ । ब्लडप्रेसर मनिटर १८, ईसीजी मेसिन ३० र पेसेन्ट मनिटर ५५ वटा पनि मर्मतपछि सञ्चालनमा आएका छन् ।

डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आईसीयू/सीसीयूका सामान पनि मर्मत गरिएको छ । वटी लाइट/टेबल, इन्फ्युजन पम्प, आईसीयू/पेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटरलगायत मेसिन पनि केन्द्रले मर्मत गरिदिएको छ ।

आविष्कार केन्द्रले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन मानसिक अस्पताल, नेपालगन्जको भेरी अस्पताल, वीरगन्जको नारायणी अस्पताल, तनहुँको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकरण मर्मत गरेको हो । ती उपकरण चीन, अमेरिका, जर्मनी, भारत, कोरिया, नेदरल्यान्ड्सलगायत मुलुकबाट खरिद गरिएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १७ संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापनका लागि गत भदौमा सम्झौता गरेका थिए ।

सम्झौतापछि केन्द्रको बायोमेडिकल इन्जिनियरको टिमले अस्पतालका गोदाममा थन्किएका ६ सय ६० उपकरणको विस्तृत जाँच/परीक्षण गरी रिपोर्ट तयार पारेको थियो । तीमध्ये १ सय ७६ वटा उपकरण भने पार्टपुर्जा चाहिने भएकाले मर्मत गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालय वा सम्बन्धित अस्पतालले पार्टपुर्जा उपलब्ध गराए तिनलाई तत्काल मर्मत गरी मेसिन सञ्चालनमा ल्याउन सकिने केन्द्रले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उपकरण मर्मतका लागि पार्टपुर्जा चाहिने अस्पतालले बजेट माग गरे उपलब्ध गराउन सकिने बताए । ‘पार्टपुर्जा विदेशबाट ल्याउनुपर्ने भए आयातमा सहजीकरण पनि गर्न सकिन्छ,’ उनले भने, ‘बजारमा पार्टपुर्जा नपाएर बनाउन नसक्ने अवस्था भए लिलामी गर्न निर्देशन दिन्छौं ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पार्टपुर्जा उपकरणको रिपोर्ट आविष्कार केन्द्रका इन्जिनियरले भर्खरै बुझाएको जानकारी दिए । ‘यस विषयमा बैठक बसेर चाँडै निकास निकाल्छौं,’ उनले भने । केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरातीको नेतृत्वमा २० इन्जिनियरको टोलीले अस्पतालहरूको उपकरण मर्मत गरेको हो ।

बायोमेडिकल इन्जिनियर किरातीका अनुसार कतिपय सामान सामान्य समस्या हुँदा पनि मर्मत नगरी थन्क्याइएका थिए । ‘मेसिन पावर सप्लाई र बिग्रेको ब्याट्री मर्मत नभएर पनि थन्क्याइएका उपकरण भेटिए । कतिपय त मुसाले काटेको तार जडान नभएर बन्द थिए,’ उनले भने, ‘बेबी वामर, डोर लक जस्ता केही पार्टपुर्जा आविष्कार केन्द्र आफैंले बनाएर पनि केही मेसिन मर्मत गरेका छौं ।’

केही अस्पतालमा बिग्रिएर मेसिन थन्किँदा दीर्घ तथा घातक रोग लागेका बिरामीले उपचार पाउन निकै सास्ती खेप्नुपरेको थियो । बिरामी आईसीयू, भेन्टिलेटर नपाएर महँगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य थिए । बिग्रेर थन्किएका सामान पुनः सञ्चालन हुँदा बिरामीलाई राहत मिलेको अस्पतालहरूले जनाएका छन् । अस्पतालमा उपकरण बिग्रिए समयमा मर्मत नहुनुको मुख्य कारण नयाँ उपकरण खरिदमा हुने कमिसन रहेको अस्पतालका अधिकारीहरू नै बताउँछन् ।

आविष्कार केन्द्रका अनुसार बायोमेडिकल इन्जिनियर अभावका कारण पनि अस्पतालका उपकरण मर्मत नहुने समस्या छ । आविष्कार केन्द्रले अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलगायत अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्ने तयारी गरेको छ ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...