
बुटवल
विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्याएकाहरू आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम जारी छ ।
नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाउने परम्परा छ । यही परम्पराअनुसार आज पनि परिवार तथा आफन्तबीच भेटघाट गरी टीका लगाउने र आशीर्वाद लिने-दिने क्रम चलिरहेको छ ।
यस वर्ष बुधबार विजया दशमी परेको थियो। मुख्य दिन टीका थाप्न नभ्याएका व्यक्तिहरूले त्यसपछि पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका ग्रहण गरिरहेका छन् ।
बडादसैँको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ । यसै कारण आज पनि काठमाडौंमा टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने-दिने क्रम जारी रहँदा दसैँको चहलपहल देखिएको छ ।