
बुटवल
चिकित्सा पेशामा आबद्ध चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले शनिबार विहान ८ वजे दौड प्रतियोगिता गर्ने भएको छ। रुपन्देहीको बुटवल कालिका नगर पृथ्वीनारायण शाह चाेकबाट तिलोत्तमाको मंगलापुर साइनो केन्द्र सम्म करिब ७ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका प्रदेश अध्यक्ष डाक्टर कृष्ण खरेलले चिकित्सक संघले समय समयमा सामाजिक गतिविधिसँगै शरीर स्वस्थ राख्न यी र यस्ता कार्यक्रम गर्दै आएको र उक्त दौडबाट स्वास्थ्यलाई राम्रो राख्न सहयोग पुग्ने हुनाले उक्त प्रतियोगिता राखेको बताए । उनले दौडमा सहभागी हुन आफू आबद्ध रहेको संस्थाको स्वीकृतिका साथ सहभागी हुनुपर्ने बताए ।उनले १ सय ५० भन्दा माथि उक्त प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको बताए।
उक्त दौड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रथम हुनेलाई रुपैयाँ २० हजार ,दोस्रो हुनेलाई रुपैयाँ १५ हजार र तेस्रो हुनेलाई रुपैयाँ १० हजार सहित सम्मान गरिनेछ।
कार्यक्रममा महिला पुरुष दुवै सहभागी हुन सक्ने संघका महासचिव डाक्टर प्रकाश बस्नेतले जानकारी दिए। दौडमा सहभागी प्रतियोगीलाई चिकित्सक संघले आफ्नो लोगो सहितको टिसर्ट उपलब्ध गराउने साथै प्रतियोगितामा सहभागी हुँदा कुनै स्वास्थ्य समस्या लगायत का समस्या आएमा आयोजकले व्यवस्था गर्ने संघले जनाएको छ।