स्थानीय तह उपनिर्वाचनमा ४४ पदका लागि ४१० उम्मेदवार


मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।

निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’

आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् ।

उपनिर्वाचन हुने दुई जिल्ला समन्वय समितिमध्ये ओखलढुंगा जिससको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । यहाँ उनको मात्र उम्मेदवारी परेको हो । जिसस कैलालीको प्रमुखमा भने दुई जनाले उम्मेदवारी दिएका छन । यहाँ एमाले र कांग्रेसबीच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट कांग्रेसकी टीका चौधरी उम्मेदवार बनेकी छन् । टीका कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । जिसस प्रमुखमा नागरिक उन्मुक्ति पार्टीकी रुक्मती डगौरा थारूले मनोनयन दर्ता गराएकी छन् । डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका

सदस्य हुन् ।

यो उपनिर्वाचनमा सबैभन्दा बढी चासो कीर्तिपुरको प्रमुखमा छ । कीर्तिपुरमा प्रमुख तथा १ र ४ नम्बर वडाको अध्यक्षका लागि चुनाव हुनेछ । कांग्रेसबाट प्रमुखमा विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । जसपा नेपालबाट दीपक महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट ध्रुव महर्जन, एकीकृत समाजवादीबाट भानु रिजाल उम्मेदवार छन् भने जनमतका केशव श्रेष्ठ र नेमकिपाका श्रीकृष्ण महर्जन र नेसपाका दिलकुमार महर्जनले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा नवरथकुमार बानियाँ, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन छन् ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ, जसमध्ये एक स्वतन्त्र उम्मेदवार छन् । यहाँ एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार थारू, माओवादीका नमोनारायण माझी, रास्वपाका नवीनकुमार विश्वास खवास, राप्रपाका दिनेशकुमार थन्दार, जसपाका धर्मेन्द्रकुमार चौधरी, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मालगायत उम्मेदवार छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसका झलकबहादुर भण्डारी, एमालेका जंगबहादुर शाही, माओवादीका जंगबहादुर बराल मगर, एकीकृत समाजवादीका जगतबहादुर हमाल, रास्वपाका प्रकाशकुमार बुढा, राप्रपाका सुर्जे रावल र नेमकिपाका दुर्गबहादुर मगर उम्मेदवार छन् । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी इन्द्रा चन्द (सिंह), एमालेकी सुनिता बोहरा, माओवादीकी देवका लामिछाने, रास्वपाकी पार्वती पुन, राप्रपा नेपालकी सुनिता पुन रावल र नेसपाकी पवित्रा जैसीको उम्मेदवारी परेको हो ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी पासदिकी तामाङ, एमालेकी उमा लुंगेली मगर शेर्पा, माओवादीकी निमलेकी शेर्पा, रास्वपाकी गोमा श्रेष्ठ, राप्रपाकी मनकुमारी श्रेष्ठ, एकीकृत समाजवादीकी रविना खड्कालगायत उम्मेदवार छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा कांग्रेसकी केशकुमारी तुलाचन, माओवादीकी नरपुरा बुढा, एकीकृत समाजवादीकी सुनिता बुढामगर छन् भने ४ स्वतन्त्र उम्मेदवार छन् । तुलाचन एमालेकी नेतृ हुन्, उनी कांग्रेसको चुनाव चिह्नमा उम्मेदवार बनेकी हुन् ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकी सविता बुढा, एमालेका ऐनबहादुर शाही, माओवादीकी देवकी तिमल्सिना, रास्वपाकी बाचा बुढा, राप्रपाकी संगीता शाही उम्मेदवार छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यहाँ उम्मेदवारी दिनेमा कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचनाकुमारी भण्डारी, माओवादीकी राजुकुमारी विक, राप्रपाकी सुनादेवी थापा भोटे (धामी) र एकीकृत समाजवादीका जवा शाही छन् ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को अध्यक्षका लागि १४, कीर्तिपुर–४ को अध्यक्षका लागि १३ र कीर्तिपुर–१ को अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा ११, सुनसरीको गढी गाउँपालिका–६ को अध्यक्षमा १४, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा २० जना उम्मेदवार छन् ।

रौतहटका ईशनाथ नगरपालिका–७ को अध्यक्षका लागि १५, राजपुर नगरपालिका–६ को अध्यक्षका लागि १४ उम्मेदवार छन् । रौतहटकै गढिमाई नगरपालिका–८ को अध्यक्षका लागि १६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गुल्मीको मुसीकोट–१ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा १० जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आइतबारदेखि कार्यतालिका लागू गरेको छ । जसअनुसार मंसिर २ मा मनोनयनपत्र दर्ता, मंसिर ३ मा १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंसिर ४ मा अपराह्न ५ बजेसम्म उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, मंसिर ५ मा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ मा मतदान हुनेछ ।

स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । संघीय सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, स्थानीय तह, तीनवटै तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र सम्बद्ध कार्यकर्ता, उम्मेदवारलगायतका लागि निर्वाचन आचारसंहिता लागू गरिएको हो । आयोगले उपनिर्वाचन हुने स्थानीय तहबाहेकमा आचारसंहिताले निषेध गरेका कार्य गर्नु/गराउनुपरेमा आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आचारसंहितामा उल्लेख छ । ‘कहींकतैबाट निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा उजुरी दिई वा जानकारी गराई आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न’ आयोगले आह्वान गरेको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...