अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी


हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी व्यावसायिक उडान कटौती गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर दोब्बर–तेब्बर पुर्‍याएका थिए । राति १० बजेदेखि बिहान ८ बजेसम्म रोक लगाइँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । उडान कटौतीको नियम चैत १८ सम्मका लागि लागू गरिएको हो । उडान कटौतीपछिको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शुक्रबार भेटेरै सुझाएका थिए ।

शनिबारको बैठकमा नेपाल वायुसेवा निगमका साथै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने विभिन्न विदेशी वायुसेवा कम्पनीका प्रतिनिधि उपस्थिति थिए । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजनाअनुसार विमानस्थलको स्तरवृद्धि गर्ने विषयमा नौ महिनाअघि नै अनौपचारिक/औपचारिक जानकारी दिइएको प्राधिकरणले उल्लेख गरेको थियो ।

वायुसेवा कम्पनीले ठूला ट्राभल एजेन्सीलाई एकमुष्ट टिकट बिक्री (टीबीए) को अधिकार हस्तान्तरण गर्छन् । तर सबै टिकट ट्राभल एजेन्सीलाई एकमुष्ट बिक्री गर्न प्राधिकरणले रोक लगाएको छ । तोकिएको सेवा शुल्क मात्र लिने गरी ट्राभल एजेन्टलाई निश्चित संख्यामा मात्र टिकट बिक्रीको अधिकार दिन वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले विशेष गरी श्रम गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीलाई यो निर्देशन अनिवार्य पालना गर्न भनेको छ ।

वायुसेवा कम्पनीलाई आफ्नो उडान हुने वृत्तमा न्यूनतम/अधिकतम भाडा सूची तोक्न र सार्वजनिक गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । ‘तोकिएबमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ,’ बैठक पुस्तिकामा लेखिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वायुसेवा कम्पनी वा ट्राभल एजेन्टले अत्यधिक चर्को भाडा लिए प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा फोन वा इमेल गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यसका लागि वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेल (फोन नं ९८४२१७०७२९) लाई सम्पर्क व्यक्ति तोकेको छ । चर्को भाडा लिने विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा रोक लगाउने चेतावनी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिएका छन् ।

काठमाडौं विमानस्थलमा हाल तीन चिनियाँ ठेकेदार कम्पनीले १५ अर्ब रुपैयाँ हाराहारीका फरक–फरक ठेक्कामा काम गरिरहेका छन् । विमानस्थलको उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन तथा ट्याक्सी–वे सम्बन्धी काममा चिनियाँ कम्पनी एभिक इन्टरनेसनल, पूर्वमा रहने ह्यांगर, एप्रोन तथा ट्याक्सी–वेमा एभिक–सीसीईसीसी जेभी र समानान्तर ट्याक्सी–वेमा गान्सु मेकनाइज इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का लिएका छन् ।

यी सबै काम अबको २२ महिनाभित्र सकिसक्नुपर्ने छ । धावनमार्गसँग जोडिएका संवेदनशील काम भने चैत १८ सम्म सक्नुपर्नेछ । यसैका लागि शुक्रबारदेखि १० घण्टा विमानस्थल बन्द गरेर धानवमार्ग क्षेत्र नजिक निर्माण थालिएको हो ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...