२०४६ सालयता ६ गृहमन्त्री अनुसन्धानमा


  • खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदार, बालकृष्ण खाण, कृष्णबहादुर महरा र रवि लामिछानेसम्मले राज्यशक्तिमा रगजग गरे, तर कानुनप्रतिको जवाफदेहिताबाट कोही पनि उम्कन सकेका छैनन् 

काठमाडौँ — सहकारी बचत ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबारदेखि प्रहरी हिरासतमा छन् । यसरी अनुसन्धानमा तानिएका उनी एक्लो पूर्वगृहमन्त्री होइनन् । २०४६ को राजनीतिक परिवर्तनयता आधा दर्जन पूर्वगृहमन्त्री फौजदारी अपराधको अनुसन्धानको दायरामा तानिएका छन् । 

कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरू गोविन्दराज जोशी र खुमबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् । जोशी गिरिजाप्रसाद कोइराला र खड्का शेरबहादुर देउवा एवं सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।

खड्कालाई भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतले २०६८ सालमा डेढ वर्ष कैद र करिब ९५ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको थियो । त्यसपछि उनले डिल्लीबजार जेलमा कैद सजाय काटेका थिए । कांग्रेसमा सक्रिय रहेकै बखत खड्काको २०७४ चैत १६ मा निधन भएको थियो ।

पूर्वगृहमन्त्री जोशी भ्रष्टाचार मुद्दामा गत साउन १३ मा सर्वोच्चबाट दोषी ठहर भएका छन् । शक्ति दुरुपयोग गरेर ३ करोड ९३ लाख भ्रष्टाचार गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध २०६० माघ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हदम्यादको कारण देखाएर जोशीले विशेषबाट सफाइ पाएका थिए । तर सर्वोच्चले उनलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना तोकेको छ, फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

कांग्रेसकै अर्का नेता पूर्वगृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा लैजान अपराध गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ । अख्तियारले दायर गरेको ललिता निवासकै भ्रष्टाचार मुद्दामा भने उनले सफाइ पाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका छन् । उनीविरुद्ध २०८० जेठमा मुद्दा दायर गरिएको हो । खाण सुरुमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएकामा पछि उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापालाई भने अनुसन्धानको दायरामा ल्याइएन ।

यौन दुर्व्यवहार आरोपमा सफाइ पाएका माओवादी उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गर्ने गिरोहलाई संरक्षण गरेको आरोपमा मुछिए । सुन तस्करीको अनुसन्धानमा उनी २०८० चैतमा पक्राउ परेका थिए । उनी पक्राउ पर्दा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए । ‘राज्यको पनि करुणा हुन्छ’ भन्दै लामिछानेकै निर्देशनमा महरा छुटेका थिए । उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा चलिरहेको छ ।

शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानमा तानिएका हुन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ । संसदीय छानबिन विशेष समितिले संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै लामिछाने लगायतविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो ।

सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा लामिछानेविरुद्ध ०८० माघ २२ मै प्रहरीमा उजुरी परेको थियो तर फागुन २१ मा लामिछाने आफैं गृहमन्त्री भएपछि अनुसन्धान अवरुद्ध भएको थियो । लामिछाने गृहमन्त्रीबाट हटेपछि भने कास्की प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले आफ्नै अनुसन्धान, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई आधार बनाएर पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गर्न शुक्रबार जिल्ला अदालतबाट अनुमति लिएको थियो । त्यसलगत्तै लामिछाने काठमाडौंबाट पक्राउ परेका हुन् ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल उत्तरदायी प्रशासन सञ्चालनमा भन्दा तजबिजी अधिकार प्रयोग गरेर शक्ति दुरुपयोगमा उत्रिँदा विवाद र अपराधमा गृहमन्त्रीहरू मुछिने गरेको बताउँछन् । ‘गृहमन्त्रीसँग तजबिजी अधिकार छ । प्रहरीले राजनीतिक नेतृत्वका रूपमा नभएर आफ्नै संस्थाको हाकिम जस्तो व्यवहार गर्छ । गृहमन्त्री र प्रहरी अधिकृतहरूको सम्बन्धमा एकदमै निकटता देखिन्छ । यस्तो व्यवहारले धेरै खालका विकृति ल्याउने गर्छन्,’ उनले भने, ‘कतिपय अपराधसँग पुलिसकै नेक्सस जोडिने गरेको छ । त्यसको संरक्षणका लागि गृहमन्त्रीसँग निकटता बढ्छ । त्यसपछि राजनीतिक अनुकूलताका काम प्रहरीले गर्न थाल्छ । यसले अपारदर्शी काम गराउने, उत्तरदायित्व नहुने र शक्ति दुरुपयोग बढी हुने गर्छ ।’

मन्त्रिपरिषद्का सदस्यमा गृहमन्त्रीलाई शक्तिशालीमध्येमा गन्ने गरिन्छ । मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्ने तथा कतिपय कानुनको जग निर्माण गर्ने मूल नेताका रूपमा गृहमन्त्रीलाई लिइन्छ । आन्तरिक सुरक्षाका प्रमुख अंगहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खटनपटनदेखि राष्ट्रिय सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेनासँग समन्वयकारी भूमिकासम्म गृहमन्त्रीकै जिम्मेवारी क्षेत्रमा पर्छ । केन्द्रीय सुरक्षा समितिदेखि राष्ट्रिय सुरक्षा परिषद्सम्म, विपद् व्यवस्थापनदेखि राष्ट्रिय दिवस व्यवस्थापनमा पनि गृहमन्त्रीकै नेतृत्वदायी भूमिका रहन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयको खटनपटन पनि गृहमन्त्रीबाटै हुने गर्छ । यही भूमिका र शक्तिको प्रयोग गर्न पाउने भएकैले हरेक नेता गृहमन्त्री बन्न तम्सिने गरेका छन् ।

पूर्वमुख्य सचिव विमल कोइराला ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीको हाकिम भएकाले फुर्तीफार्ती देखाउने र तर्साएर राज्यशक्ति दुरुपयोग गर्ने काम गृहमन्त्रीबाट हुने गरेको बताउँछन् । २०४६ सालपछि अधिकांश गृहमन्त्री विवाद र भ्रष्टाचारमा पर्नुका पछि यस्तै प्रवृत्ति रहेको उनको विश्लेषण छ । गृहमन्त्रीको अर्को शक्तिशाली हतियार प्रहरीभित्रको सीआईबी रहेको र यसको दुरुपयोग गृहमन्त्रीबाटै भइरहेको कोइरालाले बताए । ‘सीआईबी वा प्रहरीभित्रका विशेष किसिमका संयन्त्रलाई देखाएर गृहमन्त्रीले आफ्नो अनुकूलताका लागि तर्साउने, नमाने सीआईबी लगाइदिन्छु भन्ने गर्छन् । जति पनि गृहमन्त्री भए, शुद्ध मनले काम गरेको देखिएन,’ उनले भने, ‘गृहमन्त्रीसँग हिसाब देखाउनु नपर्ने कोष पनि हुन्छ । शक्तिको मज्जा लिने, फुर्तीफार्ती देखाउने र तर्साएर राज्यशक्तिको दुरुपयोगमा उत्रिने गृहमन्त्रीमा दाग लागेको देखिन्छ ।’

पूर्वगृह सचिव खेमराज रेग्मी अनुचित र अपराधजन्य कामका लागि गृहमन्त्रीबाट दबाब आए त्यसलाई रोक्न सक्ने तागत र आँट सुरक्षा अधिकारी वा प्रशासकसँग हुनुपर्ने बताउँछन् । ‘सुरक्षा अधिकारी वा प्रशासकसँग आँट हुने हो भने गृहमन्त्री स्वयं नै अपराधको बाटोबाट बाहिर रहन सक्छ,’ उनले भने ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...