
गुल्मी जिल्लाका विभिन्न देवी मन्दिरहरू मध्ये उजेलादेवी मन्दिर आफैमा एक चिर परिचित नाम हो ।
यो मन्दिर लुम्बिनी प्रवेश गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-१ बलिथुम (साविकको वडा नं. ७) मा अवस्थित छ । सदरमुकाम तम्घास देखि झण्डै १५ कि.मी. ( तीन कोश) पूर्वमा पर्ने यस मन्दिरको भित्री क्षेत्रफल चौतर्फी गोलाई (१६२मी.) रहेको छ, भने मन्दिरले २० रोपनी जग्गाको क्षेत्रफल ओगटेको छ । मन्दिरको पश्चिम पट्टि हतियार राख्ने र घटस्थापना देखि नव दुर्गा भरी पुजारी बस्ने कोतघर रहेको छ । मन्दिरका चार किल्ला मध्ये पूर्वमा बढिघाट खोलासँगै डल्ली खोलाको पुछार, पश्चिममा तपोभूमि रेसुङ्गा, उत्तरमा रेसुङ्गा नगरपालिका १४, रातामाटा, खौवा खोला र दक्षिणमा जुभुङ्ग, डल्लीखोलाको सिरान घाँटु खोला रहेको छ ।
समुन्द्री सतहबाट १७२५ मीटर उचाईमा रहेको मन्दिरबाट बिहानीको सूर्योदय अवलोकन गर्दा भने दृष्यावलोकनकर्ताहरूले यस ठाउँलाई काठमाडौंपछिको मिनि चन्द्रागिरी समेत भन्ने गर्छन् । यहाँबाट गुल्मी जिल्लासँगै छिमेकी जिल्लाका कयौ गा.वि.स. हरू र विभिन्न हिम श्रृङ्खलाहरूको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
स्थापनाकाल र शुरुवाती चरण
मन्दिरमा पूजा गर्ने चलन कहिले देखि शुरू भयो भन्ने एकिन नभए पनि धार्मिक किंवदन्ती अनुसार परा पूर्वकालमा देवी देवता बाँडफाँड हुँदा यस ठाउँमा सात बहिनी देवी मध्येकी जेठी बहिनी (देवी) उज्यालादेवी को रूपमा आई बसेको र त्यही बेलादेखि पूजा गर्न थालिएको बताईन्छ ।
त्यस्तै जनश्रुति अनुसार अहिले मन्दिर भएको ठाउँ (थुम्का) मा केही रूखहरू मात्र भएको र एक रात आकाशवाट आगोको ज्वाला जस्तो चम्किलो वस्तु ठाउँ नै उज्यालो हुने गरी शंख घण्टको आवाज दिँदै यस थुम्कामा खसेको साविकको छिमेकी गा.वि.स. आँपचौर बस्ने एक बाहुन वैदवार (बहिदार) ले देखे पछि सोही ठाउंबाट काप्दै यस थुम्कामा आईपुगी हेर्दा ज्वाला खसेको ठाउनेर दुई ओटा खुँडा र शंख भेटिएको र म उज्यालादेवी हुं ,तिमीहरूले अब यस ठाउंमा उज्यालादेवी मन्दिर स्थापना गरी पूजा गर्नु भनि सोही बाहुन बैदवारले कबले पछि पूजा गर्न थालिएको बताईन्छ ।
त्यतिबेला यस ठाउँमा १७ घर कुरिया मात्र रहेको र मन्दिर स्थापना गरि पूजा गर्नका लागि साविकका छिमेकी गा.वि.स.हरु पराल्मीबाट डेलो (दियालोमा बाल्नको लागि सल्लाबाट तयार पारिएको साना दाउरा ) आंपचौरबाट धूप, रूपाकोटबाट अक्षता, जुभुङबाट थुमा र बलिथुमबाट राँगा ब्यवस्था गरि बलि दिने चलन र तिनै गा.वि.स.हरुबाट दुई-दुई पैसा थेक उठाई शुरुवाती गरेको पाइन्छ ।
अन्य प्रमाण
कतै-कतै मल्ल राजाहरूले शासन गरेको शासनकाल (१४०५-१४५५) मध्ये १४१० तिर त कसैले १४१८ तिरबाट नै मन्दिर स्थापना मानी पूजा आराधना गरिदै आएको बताए पनि हाल सम्म कुनै ठोस प्रमाण भने भेटिएको पाईएको छैन । यस मन्दिरमा चढाईएको सबै भन्दा पुरानो घण्टा (१७६८) २०६२/०६३ साल तिर हराए पछि भने हाल दौघा गा.वि.स. का दंगाल घरका एक व्यक्तिले चढाएको घण्टा (१८४८) (हाल फुटेकोले नझुण्डाइएको) मात्र रहेकाले यसैलाई सबै भन्दा पुरानो घण्टा मान्न सकिन्छ । झुण्डाइएका मध्ये पुराना घण्टाहरूमा १९४७ , १९८२, १९८४ र १९९३ का रहेका छन् ।
देवी उत्पन्न हुँदा प्राप्त खुंडा
ज्वाला खसेको ठाउँनेर आइ हेर्दा प्राप्त दुई ओटा खुंडा र शंख (जुन अहिले पनि उस्तै छ ।) मन्दिरमा सुरक्षित छन् । जसमा प्रत्येक हप्ता पूजारीहरूले दूधधार दिन र पूजा गर्नका लागि मन्दिर सफा गर्दा जोडी खुडालाई विपरित दिशा मा छुट्टा छुट्टै राखे पनि अर्को हप्ता मन्दिर खोल्दा पुनः एक आपसमा जोडिएर रहेको पाइने कुरा पूजारीहरूबाट बताइन्छ । उक्त खुडा काट मारको प्रचलनमा भने ल्याईएको छैन ।
मगर पुजारी
यस मन्दिरमा मगर मात्र पूजारी बस्ने चलन हुँदा भुरे राजाको पालामा यस ठाउँमा मगर राजाले राज्य गरेको र साविकको वडा नं- ८,गल्फेकोट थुम्कामा राजाको दरबार र देवी मन्दिर भएको स्थानमा तालिम केन्द्र ( परेड खेल्ने ठाउँ) बनाई शासन गरेकोले पनि मगर नै पूजारी बस्ने चलन भएको हुन सक्ने देखिन्छ। अन्य ठाउँमा खड्का र कुंवर क्षेत्री भए पनि यहाँ खड्का मगरसँगै कुंवर हरू पनि मगर हुनु र मगरहरूको नै बाहुल्यता भएकोले पनि मगर नै पूजारी भएको पाईन्छ ।
चलन
मन्दिरमा पूजा आजा गर्नका लागि साविकका छिमेकी गा.वि.स.हरू पराल्मी आँपचौर, रूपाकोट, जुभुङबाट डेलो, धूप, अक्षता र थुमाको ब्यवस्था बलिथुमबाट राँगासँगै, कुर्लाचौर कुमाल समुदायबाट बलेक्रा घटस्थापनाको लागि माटाको पाला घडाको लागि माटाको मटुला, बोटे माझी समुदायबाट माछा, दलित समुदायका विभिन्न जातीहरू मध्येबाट छालाको गड्का तयार गर्ने ,खुकुरी, तरवार र हतियारहरूमा सान लगाउनुपर्ने र नव दुर्गा भरी कोतमा बढाई गर्ने जिम्मा दिने त्यस्तै मुखिया, जिम्मेवाल र उमराले धुप बत्ती बनाउने लगायतका व्यवस्थापन गरी मन्दिरमा पूजा गर्ने चलन तत्कालिन अवथामा रहेको पाईन्छ । त्यस्तै मन्दिरको नाममा रहेको साविकको वडा नं.-५ ,बेंसी खेत (करिब १ रोपनी भन्दा बढीको खेत जुन अहिले भने बगरमा परिणत भएको छ ।) बाट मन्दिरका लागि लावा ( धान भुटेर तयार पारिएको फूला ) भुट्नका लागि चोखो धान ल्याउने चलन थियो,भने साविक वडा नं.-७ मा रहेको कोत बारीमा चोखो तेलका लागि तोरीबारीको व्यवस्था गरिएको थियो । उक्त बारी तोरी बाहेक अन्य वाली उत्पादन गरी सो अन्न भोग चलन गर्ने जिम्मा कटुवाललाई जिम्मा दिईएको थियो ।
महिमा ,ऐतिहासिक पृष्ठभुमि र महत्त्व
एक पटक साविकको छिमेकी दौंघा गा.वि.स.का बल बहादुर ठकुरीको घरबाट लाखौको सामान चोरी भएको र कहिं कतै फेला पार्न नसकेपछि स्वयम् व्यक्ति यहि मन्दिरमा आई देवी माता समक्ष- हे माता हराएको मेरो सामान भेटाई पाऊँ म तिमीलाई पञ्चवली चढाउनेछु भनी भाकल गरेको र त्यसको केही दिन पछि झाँक्रीद्वारा काठको मानो (लट्टी) समाउँदा उक्त मानो मन्दिरबाट नजिकै रहेको हालको रिप डि गैह्रा सामुदायिक वनमा आई तरुलको खाडल अनि गहिरा वरीपरिको क्षेत्रमा अडिएको र उक्त क्षेत्र वरीपरि खनी हेर्दा हराएका सम्पूर्ण सामान भेटिएकाले पनि यसको महिमा चुलिएको छ ।
यस्तै यहाँका जो कोही व्यक्ति स्वदेश वा विदेश जहाँ भए पनि लडाई वा कुनै ठूलो दुर्घटनामा परी अझैसम्म ज्यान गुमाउनु परेको छैन । अर्को पक्ष भनेको यस मन्दिरमा नजिक रहेको क्षेत्र (साविकको वडा नं.-५,६,७.८ र ९) वरीपरि कहि कतै पनि लाखे नाच नचाईंदैन । २००६ सालतिर यस ठाउँको थाक्सीपोखरामा लाखे नाच नचाउँदा गाउँभरी झाडा पखालाको महामारी फैलिएको र झाडा पखालाबाट धेरैको मृत्यु भएपछि झाँक्री बोलाएर झांक्रीले कवल गर्दा देवीले लाखे नाच नचाउन अशुभ हुने कुरा कबले पछि त्यही बेलाबाट लाखे नाच नचाउन छाडिएको पाईन्छ भने साविकको वडा नं.-३, सानो लुम्पेकमा भने लाखे लगायतका नाचहरू यथावत रहेको छ ।
उता, एक रात (नव दुर्गा मध्येको कुनै रात) पूजारी पूर्वपट्टि खुट्टा र पश्चिम पट्टि शिर बनाई सुतेको बेला सपनामा देवी आई पूजारीलाई -पूर्व पट्टि खुट्टा बनाई नसुत्नु यदि यस्तो गरेमा ठूलो संकट महामारी हुनेछ भने पछि त्यसबेलाबाट पूर्व पट्टि शिर बनाई सुत्ने प्रचलन रहेको छ ।
भाकल गर्ने जो कोहीले पनि इच्छाएको वर पाउने हुँदा स्थानीय जिल्ला मात्र नभई छिमेकी जिल्लाहरू बाग्लुङ्ग, अर्घाखाँची, पाल्पा, रूपन्देही, दाङ, बाँके, कपिलवस्तु, नवलपरासी लगायतबाट पूजा आजा गर्न आउने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । त्यस्तै स्थापना काल देखि दलित र गैर दलितले मन्दिर भित्र छुट्टा-छुट्टै रूपमा पूजागर्ने ठाउँ मौलाको स्थापना गरी पूजा आजा गर्दै आए पनि हाल एउटै मौलामा पूजा गर्न थालिए पछि यसको महत्व थप बढेको छ ।
परम्परा र सञ्चालन विधि
घटस्थापना
मूल मन्दिरमा चोखो माटोबाट लिपपोत रङ्ग रोगन गरी पाठ पूजासँगै चोखो माटो टपरीमा राखी मकै जौ लगायतका अन्नबाट जमरा राख्ने, मूल पूजारी मन्दिर पस्ने ,मूल मन्दिर र परिसर सरसफाईपछि बाटो घाटो सरसफाई गर्ने अनि बलिथुमका प्रत्येक मठ मन्दिर लिपपोत, सार्वजनिक स्थल, बाटोघाटो तथा चोक आ-आफ्नो घर वरिपरीको बाटो घाटो सरसफाई गर्न फुकुवा, घर घरमा जमरा राख्ने र प्रत्येक दिन मूल मन्दिरमा पाठ पूजा गर्ने चलन ।
स्थानीय युवाहरू फरी नाचको लागि ओखडा पस्ने (फरी नाचको लागि कसैले नदेख्ने गरी जंगलमा गएर उक्त नाच कला सिक्ने गरिन्छ।) सप्तमीको दिन भेडाको पाठीको बलि दिएर गुरु पूजा गरे पछि उक्त नाच कला प्रदर्शन गर्न फुकुवा हुने चलन छ ।
फूलपाती
शुभ साइतको समय पारी मालसरी गीत र बाजागाजा सहित मन्दिरको पूर्व पट्टिको दिशाबाट केरा, ऊखु कुभिन्डा, पाती र फूल जरैसित उखेलेर साथै धान र बेलपत्र फूलपाती (नवपत्रिका) लिई जमरा राख्ने ठाउँमा राखि फूलपाती भित्र्याउने भए पनि पहिला पहिला मुखियाका घरबाट फूलपाती भित्र्याउले चलन थियो । भने हाल पायक पर्ने स्थानबाट फूलपाती (नवपत्रिका) लिई फूलपाती भित्र्याईन्छ ।
कालरात्री
बेलुकी देखी चन्द्रमा (जुन) नअस्ताउँदा सम्म सोरठी, भजन लगायतका नाचगान गरी चन्द्रमा (जुन ) अस्ताए पछि मूल मन्दिरको मौलामा बाजागाजा सहित बलेक्रा (कुभिन्डो) काटेपछि कालरात्री जगाईन्छ ।
नवमी
शुभ साइतको समय निकाली कोतघरबाट मूल बत्ति सहित हात हतियार मन्दिर भित्र भित्र्याइसकेपछि बाजागाजा सहित पञ्चवली पूजा गरिन्छ । मौलाको (समितिद्वारा भाकल गरिएको) थुमाको पहिलो बलि दिने र पञ्चावली ( पाडा,भेंडा ,कुखुरा, बलेक्रा र परेवा) को बलि दिएर मन्दिरमा चढाए पछि पूजा आरम्भ हुन्छ भने बाजा गाजा सहित घर-घरबाट पञ्चावली ल्याउने चलन रहि आएको छ ।
दशमी (बडा दशैं)
शुभ साइतको समय निकाली कोतघरमा समिति तथा स्थानीय जम्मा भई मूल मन्दिरमा प्रवेश गर्ने र घर घरमा राखिएको जमरा र टिका मन्दिरमा चढाउने साथै मन्दिरमा चढाईएको जमरा घर घरमा लाने, टिका चढाउन जम्मा भएका बीच आफू आफूमा टिका जमरा साटा साट गरी घर लग्ने र शुभ साइतको समय निकाली घर घरमा दहिको टिका लगाउने चलन । हाल भने आफ्नो रुची अनुसारको रङ्ग राखेर रङ्गिन टिका लगाउने चलन छ भने बेलुकी देखि राती अबेरसम्म ओखडा पसेका युवाहरूबाट बाजा गाजा सहित फरी नाच प्रदर्शन गर्ने र फरी नाच सकिएपछि पुजारी सहित उपस्थित सम्पूर्णबाट मालसरी गीत र बाजागाजा सहित फूलपाती विसर्जन गर्नका लागि फूलपाती विसर्जन गर्ने ठाउँ मन्दिरको पश्चिम पट्टि पहिला खोल्टे पोखरा पछि थाक्सी पोखरामा फूलपाती सेलाउने चलन थियो । हाल भने ती स्थानका पोखरी पुरिएका कारण मन्दिर नजिकै फूलपाती सेलाउने चलन छ ।
उता फूलपाती सेलाउन जाँदा मन्दिर नजिकै रहेको स्थनीय चण्डी थान भन्ने स्थानमा पुगेपछि भने मनोरञ्जनका लागि कटुवालद्वारा ठूलो स्वरमा चिच्चाएर अश्लिल शब्द बोल्ने फलाक्ने अनि मात्र पूजारी र अन्य व्यक्तिहरू अगाडी बढ्ने चलन रहि आएकोमा हाल भने छाडिएको छ ।
फूलपाती सेलाए पछि नवमी पर्वमा बलि दिएर चढाईएको थुमा प्रसादीको रूपमा खुवाउने चलन रहि आएको छ ।
पूजा विधि र सञ्चालन
विशेष पूजा
प्रत्येक वर्षको बडा दशैको नवमी पर्व (बलिपूजा)
अन्य
प्रत्येक वर्षको राम नवमी पर्व (रुद्री ,पाठ पूजा) र प्रत्येक महिनाको पहिलो आईतबार दूधधार दिने जोली (जोडी) परेवा उडाउने । पहिला प्रत्येक महिनाको पहिलो आइतबार दूधधार र पूजा गर्ने चलन थियो ।
बलिथुम नाम र बलिथुमसँग जोडिएको नाता
एकातिर मगर भाषामा काटमार लाई बलि दिने र ठाउँलाई थुङ् भनिने हुँदा यस ठाउँ काट्मार दिइने ठाउँ भएको हुंदा बलिथुम नाम रहन गएको देखिन्छ । भने अर्कोतिर थुम्कै थुम्काको ठाउँ त्यसमा पनि त्यही थुम्कोमा देवीको मन्दिर रहेको र देवीलाई थुमाको बलि दिने भएर बलिथुम नाम रहन गएको पाइएकाले (बताइएकाले) पनि बलिथुम नामसँग यसको नाता र महिमा जोडिन पुगेकाले यसको आफ्नै महत्व रही आएको छ ।
मन्दिरको नामाकरण र समिति
स्थापना काल (जनश्रुती) उजेलादेवी थान
श्री उजेलादेवी मन्दिर गुठी समिति बलिथुम(५,६,७,८र९)गुल्मी स्थाः २०४०
त्यस भन्दा अगाडी २०३९ साल सम्म गाउँका तालुकदार (मुखिया जिम्मेवाल) बाट पूजा चलाउने चलन, उमराबाट मन्दिरको रेखदेख र सामाग्री व्यवस्था गर्ने चलन साथै तीन पुस्तादेखि सारू मगरबाट उमरा गरिंदै आएको देखिन्छ ।
श्री उजेलादेवी मन्दिर व्यवस्थापन समिति बलिथुम(५-९) गुल्मी स्थाः २०७१
श्री उजेलादेवी मन्दिर व्यवस्थापन समिति गुल्मीदरबार -१,बलिथुम, गुल्मी (हाल)
तत्कालीन मुखियाहरूको नामावली
श्री धन बहादुर राकसकोटी मगर
श्री बलवीर राकसकोटी मगर
श्री हिरासिंह राकसकोटी मगर
श्री चन्द्रवीर राकसकोटी मगर
श्री रणवीर माच्कोटि मगर
श्री दलवीर सर्तुङ्गी मगर
श्री गज बहादुर खड्का मगर
श्री कुष्मावर भण्डारी
श्री शंकर भण्डारी
उमंराहरूको नामावली
श्री खडक बहादुर सारू मगर
श्री बहादुर सनारी मगर
श्री शेर बहादुर सारू मगर
श्री चन्द्रबहादुर फुङ्गजेली मगर
श्री राम बहादुर पुन मगर
श्री श्याम सारू मगर
स्थापना काल देखि हाल सम्मका अध्यक्षहरूको नामावली
स्व. श्री जग बहादुर पुन
स्व. श्री मीन बहादुर बस्नेत
स्व. श्री नरहरि भण्डारी
श्री भेषबहादुर खड्का मगर (हाल)
लेखक :”विभा सञ्चार डेस्क”का संचालक तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (FONIJ) गुल्मीका सचिव हुन् ।