‘अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ’


unn.prixa.net

अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छाैँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।

किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएकाे छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सात/आठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ । अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्‍यायाे भने ढुवानी खर्च बढी लाग्ने हाे । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ ।

अर्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।

भारतमा अहिले नाकाबन्दीको कारण देखाउँदै व्यापारीहरूले मूल्यवृद्धि गर्ने सम्भावना देखिन्छ । अर्को कुरा भारतले अहिले नै मूल्यवृद्धि गर्‍याे भने पनि त्यो आजको भोलि नै मूल्यवृद्धि हुने त होइन । त्यसमा तीन महिना पुग्ने चामल मौज्दात छ भन्ने कुरा तथ्याङ्कले देखाउँछ । त्यसकारण पनि हाम्रो बजार अनुसन्धान केतर्फ केन्द्रित छ भने भन्सार विन्दुमा आइपुग्दाको मूल्य के थियो र यहाँसम्म आइपुग्दा त्यो कहिलेसम्म मौज्दात रहेको छ । हामी यिनै कुराको अध्ययन गरिरहेका छौँ । व्यवसायीहरूलाई पनि हाम्रो विनम्र आग्रह के छ भने पहिले आएर मौज्दात भएको सामग्री साविकको मूल्यमा नै जानुपर्छ ।

हामीले अनुगमन गर्दा पुरानो मौज्दातमा अवाञ्छित रूपले मूल्यवृद्धि भएको पायौँ भने कानुन बमोजिम कारबाहीमा जानैपर्ने हुन्छ ।

हामीले अनुगमनमा जाँदा काठमाण्डौ, ललितपुर र भक्तपुरबाट केही मूल्य सूचीहरू सङ्कलन गरेका थियौँ । त्यसमा केही व्यापारीहरूले कतै कतै थोक व्यापारीहरूबाटै भाउ बढेर आयो भनेका छन् । त्यसकारण हामी त्यस क्षेत्रमा चामल आपूर्ति गर्ने थाेक व्यापारीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौँ । हाम्रो नियमित अनुगमनमा नागरिकको आधारभूत आवश्यकताका वस्तुहरू नै पर्छन् । एक हप्ताभित्रमा अर्थात् गएको ११ देखि १७ गतेसम्मको कुरा गर्दा ८६ वटा बिक्रेता फर्म, पसल तथा आउटलेटमा अनुगमन गरिसकेका छौँ । त्यसमा २३ वटा फर्मलाई कारबाही भएर नौ लाख १० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ । याे जानकारी वेबसाइटमा पनि राखेका छौँ ।

हामी अहिले दुई/तीन वटा टोली बनाएर नियमित अनुगमन गरिरहेका छौँ । हामीसँग धेरै जनशक्ति छैन । तर जति छ हामी त्यसको अत्यधिक उपयोग गरिरहेका छौँ । हामीसँग भएको जनशक्तिको प्रभावकारी प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । हामीसँग अहिले बजार अनुगमनमा खटिनेमा नौ जना हुनुहुन्छ । हामी यसलाई दुई वटा र अन्यत्रबाट पनि जनशक्ति थप गरेर संयुक्तरूपमा अनुगमन गर्ने गर्छाैँ । जस्तै– जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुणस्तर नियन्त्रण विभाग, नापतौल विभागसमेत गरेर हामी संयुक्त अनुगमनमा जाने गरेका छौँ । संयुक्त अनुगमनका बारेमा हामीले वेबसाइटमा पनि राखेका छौँ । अनुगमनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबै अनुगमनकारी निकायहरू एकै ठाउँमा बसेर हामीले संयुक्त अनुगमन गरेका हौँ ।

अनुगमन गर्दा थोक र खुद्रा दुवै किसिमको व्यापार, व्यवसायमा गर्ने गर्छाैँ । नागरिकका दैनिक आवश्यकताका वस्तुहरू– दाल, चामल, नुन, तेलमा हाम्रो अनुगमन केन्द्रित हुन्छ । यसो हुँदा खुद्रा व्यापार अलि धेरै अनुगमनको दायरामा पर्न आउँछ ।

खुद्रा व्यापारीहरूले थोक व्यापारीहरूलाई मूल्यवृद्धिको बारेमा दोषारोपण गरे पनि हामी थोक, खुद्रा तथा आयातकर्ताकहाँ पनि अनुगमनमा जान्छौँ । हामी उत्पादककहाँ पनि पुग्छौँ । त्यसकारण एउटा पक्षले मूल्यवृिद्धको दोषारोपण अर्कोलाई गर्दा तथ्य के हो भन्ने कुरा थाहा हुन्छ । हामी हाम्रो स्रोत र साधनले भ्याएसम्म अनुगमनका लागि सबैतिर पुग्ने गर्छाैँ ।

हामी बजार अनुगमन नियमित गरिरहेका हुन्छाैँ । तर उपभोक्ताको ध्यान भने बजारमा मूल्यवृद्धि हुँदा मात्र हुने हुँदा त्यो बेलामा मात्र विभागले अनुगमन गरेको हो कि भन्ने लाग्छ । 

हामीले ठूला व्यापारी अनि साना व्यापारी भनेर कसैलाई भेदभाव गरेर अनुगमन गर्दैनौँ । बरु मुहानलाई सफा गर्न सकियो भने तल स्वतः सफा हुने भएकाले हाम्रो लक्ष्य भनेको मुहान सफा गर्ने नै हुन्छ ।

अहिले चामलको मूल्यवृद्धि भएको छैन । आमउपभोक्तालाई आफू ठगिएको छु भन्ने लागेमा हाम्रो गुनासोसम्बन्धी पोर्टल छ । उपभाेक्ताले https://doc.gov.np/ पाेर्टलकाे https://crmis.doc.gov.np/home मा गएर आफ्नो गुनासो र आफूले खरिद गरेको सामानको बिल वा कुनै प्रमाणहरू त्यसमा संलग्न गरेर उजुरी गरे भने हाम्रो टोलीले त्यसको छानबिन गर्छ । हाम्रो टोल फ्री नम्बर ११३७ अनुगमन टोलीसँग हुने हुँदा त्यसमा जतिखेर फोन गरेर पनि आफ्नो गुनासो वा उजुरी गर्न सकिन्छ । अर्को भनेको हेलो सरकारमार्फत पनि उजुरी गर्न सकिन्छ । त्यो उजुरी पनि हामीकहाँ आउँछ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...