
काठमाडौँ
युरोपको आकर्षक रोजगारी र बसाईको सपना बोकेर रोमानिया पुगेका नेपाल श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा नपाएको भन्दै आन्दोलित भएका छन् । नेपालबाट प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरी रोमानिया पुगेका सयौँ नेपाली श्रमिक आन्दोलित भएका हुन् ।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाली श्रमिकहरू ‘वि वान्ट जस्टिस’ को नारा लगाउँदै न्यायको माग गरिरहेका छन् । ऋण खोजेर लाखौँ रुपैयाँ बुझाई युरोप छिरेका नेपाली श्रमिकहरूको मुख्य गुनासो नियमित काम र उचित पारिश्रमिक नपाउनु रहेको छ । आन्दोलनमा सहभागी करिब ६ सय नेपाली श्रमिकको दाबीअनुसार नेपालबाट प्रस्थान गर्नुअघि गरिएको सम्झौता र रोमानिया पुगेपछिको वास्तविक अवस्थाबीच आकाश–जमिनको फरक परेको एक श्रमिकले बताए ।
उनका अनुसार कम्पनीले महिनामा मुस्किलले महिनामा दुई दिन मात्रै काम दिएको छ । बाँकी २८ दिन कामविहीन बनाएर महिनै कोठामै राख्नु पर्ने बाध्यता आएको छ । एक श्रमिकले भने, ‘रोमानियामा नियमित काम पाउने आशले लाखौं रुपैयाँ बुझाएर आर्यौ । आफैले १० देखि १२ लाख तिरेका छौँ । तर यहाँ आएपछि महिनामा दुई दिन पनि काम दिएको छैन । सम्झौताअनुसार पारिश्रमिक समेत पाइएन् ।’
रोमानियाको पछिल्लो घटनाले म्यानपावर कम्पनीले देखाउने सपना, रोजगारदातासँगको सम्झौता र गन्तव्य मुलुकको वास्तविक अवस्थाबीचको खाडललाई पुनः उजागर गरेको छ ।
रोमानियामा नेपाली श्रमिकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै श्रम मन्त्रालयले हाल देखिएको संकट समाधानसँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन वैदेशिक रोजगार प्रक्रियाको नियमन, अनुगमन र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।