आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने



बुटवल
बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,” उनले भने ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

समितिका अनुसार घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीको विसर्जनको साइत आज बिहान ८ः४९ बजे रहेको छ ।
टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्न
विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए । यसो गर्दा चन्द्रमा टीका लगाइमाग्नेको सम्मुखमा पर्ने उनले सुनाए ।

टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा लगाउने गरिन्छ । जमरालाई परम्परागत रूपमा औषधीय महत्त्वसँग पनि जोड्ने गरिन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गर्दा वर्षभरि शान्ति हुने धार्मिक विश्वासअनुसार आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेतायुगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य, कार्यक्षमता एवं दीर्घायुको आशीर्वाद लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा निम्न मन्त्रले आशीर्वाद दिने गरिन्छ ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, अयोध्याका राजा दशरथको जस्तो श्री, रामको जस्तो शत्रुनाश, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शूरता, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञानविज्ञान र नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ ।

महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीलाई म नमस्कार गर्दछु ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा घुइँचो हुने गर्छ । नेपालका केही भागमा भने विजयादशमीका दिन मात्र दुर्गा भवानीको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने गरिन्छ ।

केही जाति तथा समुदायले भने कुलपरम्पराअनुसार दही र अक्षताको सेतो टीका पनि लगाउने गरेका छन् ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...