
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बुटवल
नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा गर्ने धार्मिक परम्परा छ। आज घरघरका दशैंघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा कुष्माण्डा देवीको विशेष पूजा आराधना गरिँदै छ।
धार्मिक मान्यताअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ। यी तीनै प्रकारका दुःख र कष्ट हटाउने देवीका रूपमा कुष्माण्डालाई लिने गरिन्छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख छ।
दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने शक्तिका रूपमा कुष्माण्डाको वर्णन गरिएको छ।
यस वर्ष असोज २५ गते आइतबार घटस्थापनासँगै बडादशैं सुरु भएको थियो। घटस्थापनाका दिन घरघरमा वैदिक विधिअनुसार जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो।
नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी र तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो। चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै छ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
हिन्दू धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। देवीका यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र प्रसाद ग्रहण गर्ने चलन छ। यसरी बडादशैं १५ दिनसम्म मनाउने परम्परा रहिआएको छ।
शक्तिपीठहरूमा भक्तजनको भीड
नवरात्र सुरु भएसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शन र पूजा गर्ने भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, चामुण्डा देवी, बज्रयोगिनी र इन्द्रायणीलगायत शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ।
त्यस्तै, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिन्छ।
नवरात्रलाई शक्ति उपासनाको विशेष पर्वका रूपमा लिइन्छ। यस अवधिमा देवीको पूजा, आराधना, व्रत तथा धार्मिक अनुष्ठान गर्ने परम्परा रहिआएको छ।