
काठमाडौं
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् ।
आइतबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पहिरोले नदीको बहाव थुनेपछि पानी एक्कासि बढेर तटीय क्षेत्रमा बाढी आएको हो । बाढीले पुल, घर, सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणका काम जारी छन् ।
चार हेलिकोप्टरबाट खोजी तथा उद्धार
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्राधिकरणले जनाएको छ । त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । नेपाली सेनाबाट विशेष फौजसहित १२७ जना, नेपाल प्रहरीबाट १३३ जना र सशस्त्र प्रहरी बलबाट १७७ जना गरी जम्मा ४३७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् । विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीका ५० जनाको टोलीसमेत तयारी अवस्थामा राखिएको छ । सडक तथा हेलिकोप्टरमार्फत अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ ।
बाढीले पुल, घर र सडकमा क्षति
प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले गोरखा र आसपासका जिल्लामा विभिन्न संरचनामा क्षति पुर्याएको छ ।
चुमनुब्री गाउँपालिका–३ न्याक्चेतस्थित न्याक्चेतबाट सिर्दिवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा रहेको एउटा घरसमेत बाढीले बगाएको छ । त्यस्तै, गोरखाको धार्चे गाउँपालिका–४ माछिखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । धार्चे गाउँपालिका–३ सलाङरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र वरपर रहेका सातदेखि आठवटा घरमा क्षति पुगेको विवरणमा उल्लेख छ । आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखातर्फको एक भाग बगाएको छ । यसले गोरखा र धादिङबीचको आवागमनमा थप समस्या उत्पन्न भएको छ ।
माछिखोलास्थित तल्लो बस्तीमा पनि बाढी पसेको छ । त्यहाँका २० देखि २२ घर जोखिममा रहेको प्राधिकरणले जनाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सीमाक्षेत्रमा रहेको फलामे पक्की पुलसमेत बगाएको छ । यसबाट स्थानीय बासिन्दाको आवागमन र राहत सामग्री ढुवानीमा समस्या हुने देखिएको छ ।
बूढीगण्डकीको ३४७ मेगावाट क्षमताको मुख्य जलविद्युत् आयोजनाका क्षेत्रमा केही निर्माण उपकरणमा क्षति पुगेको विवरणमा उल्लेख छ । यसबाहेक दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा क्षति पुगेको छ ।
बाढीको पूर्वसूचना र उद्धारको तयारी
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाबाट बिहान ६ बजे बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई सन्देशमार्फत पूर्वसूचना पठाइएको थियो ।
त्यसैगरी, प्राधिकरणले बिहान ६ बजे सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिमका केन्द्रलाई जानकारी गराएको थियो । त्यसपछि २२१ जना प्रतिकार्यकर्मीलाई तत्काल परिचालनका लागि सन्देश पठाइएको विवरणमा उल्लेख छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा बिहान करिब ६: ३० बजेदेखि मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसेको थियो । बैठकले बाढीको निरन्तर अनुगमन, अवस्थाको विश्लेषण, आवश्यक सूचना प्रवाह तथा सम्बन्धित निकायबीच समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।
खोजी तथा उद्धारमा सुरक्षाकर्मी परिचालन
बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएका छन् । चारवटा हेलिकोप्टरमार्फत खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ । प्राधिकरणका अनुसार सडक र हेलिकोप्टरबाट अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने कामसमेत भइरहेको छ । सम्पर्कविहीन पाँच जनाको खोजी तथा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकता दिइएको छ ।
घटनास्थलमा सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा सम्भावित बेलिब्रिज जडानको अध्ययनका लागि खटाइएको छ । त्यस्तै, गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा गोरखा, तनहुँ र लमजुङका प्रदेश अस्पतालका आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न प्राधिकरणले आग्रह गरेको छ । बाढीका कारण नदीको बहावमा परिवर्तन आउन सक्ने र थप क्षति हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत, सडक सञ्चालन र क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको जनाएको छ । उपलब्ध विवरण प्रारम्भिक भएकाले बाढीबाट भएको कुल क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।