
काठमाडौँ
चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताको भनाइ छ ।
दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । व्यवसायीका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । जिउँदो खसीको मूल्यसमेत गत वर्ष प्रतिकिलो ६ सय ८० रहेकामा अहिले ८ सय पुगेको मासु व्यवसायी बताउँछन् । अन्डाको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिक्यारेट ४ सय ५० रहेको अन्डा अहिले ६ सय रुपैयाँ पुगेको छ ।
खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढेको छ । भदौमा प्रतिकिलो १ सय ९० रहेको ताइचिन चिउरा अहिले २ सय रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ । दसैंका बेला बढी खपत हुने चिउरासँगै दैनिक भान्सामा प्रयोग हुने दालको मूल्य पनि बढेको हो । भदौमा प्रतिकिलो २ सय २० रहेको रहर दालको मूल्य अहिले २ सय ३० पुगेको छ । त्यस्तै, भदौमा प्रतिकिलो २ सय १५ रहेको मासको दालको मूल्य अहिले २ सय २० पुगेको छ ।
बजार भाउ हेर्दा पछिल्लो डेढ महिनामै खाद्यान्न प्रतिकिलो ५ देखि ३० रुपैयाँसम्म बढेको देखिन्छ । खुद्रा व्यापारी विगतका वर्षमा जस्तै यस पटक पनि थोक बिक्रेताबाटै मूल्य बढेर आएकाले आफूहरूले मूल्य बढाउन बाध्य भएको बताउँछन् । ‘अहिले उत्पादक र थोक बिक्रेता दुवैबाट केही सामानको भाउ बढेर आएको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने ।
काँचो बदामको मूल्य पनि एक्कासि बढेको छ । भदौमा प्रतिकिलो २ सय ६० रहेको काँचो बदाम अहिले २ सय ९० रुपैयाँ पुगेको छ । भदौमा प्रतिकिलो १ सय २५ रहेको मुरली मकैको मूल्य अहिले १ सय ४० पुगेको छ । पछिल्लो समय चामलको मूल्यसमेत बढेको खुद्रा व्यवसायीको भनाइ छ । भदौमा प्रतिकिलो ९० देखि १ सय रहेको चामलको मूल्य अहिले १ सय २० पुगेको छ ।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनुपरेको र त्यसले ढुवानी लागत बढाएको व्यवसायीले बताउँदै आएका छन् । केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढाए पनि नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकेको छैन । विभागले अनुगमन भइरहेको जनाए पनि बजार मूल्यमा उल्लेख्य कमी आएको देखिँदैन ।
यसको प्रत्यक्ष असर निम्न तथा मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । उनका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आम्दानीको करिब ६० प्रतिशत उपभोगमा खर्च गर्छन् । त्यसैले आम्दानी नबढ्ने तर चाडपर्वका बेला महँगी बढ्ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ । ‘पारिवारिक बजेट बिग्रिएपछि ऋणमा फस्नुपर्ने र खानपिनमा कटौती गर्नुपर्ने बाध्यता हुन्छ । यससँगै ग्राहकको स्वास्थ्यमा असर पर्ने र त्यसले आम्दानीमा थप प्रभाव पार्ने हुन्छ,’ उनले बताए।