भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै



रुपन्देही
अर्बौं लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने नेपालको लामो प्रयासले सफलता पाउने संकेत देखिएको छ । नेपाल र भारतबिच भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि यस क्षेत्रको अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सहमतिअनुसार भारतले हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको छ । यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि लामो समयदेखि देखिएको एउटा प्रमुख प्राविधिक तथा कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ । दुई देशबिच भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ । त्यसको कार्यान्वयनका लागि आवश्यक कार्यविधि टुङ्ग्याउन र नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा समेत छलफल गर्न दुवै देशका प्राविधिक अधिकारीबीच परामर्श गर्ने सहमति भएको छ ।
नेपालले थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग एक दशकभन्दा लामो समयदेखि आग्रह गर्दै आएको थियो । विशेषगरी भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि ती विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानसँग जोड्न भारतीय आकाश हुँदै प्रवेश गर्ने थप मार्ग आवश्यक परेको थियो । तर, हवाई प्रवेशमार्गको अभाव र दुई देशबीचको प्राविधिक सहमति नजुट्दा नयाँ विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय उडान पाउन सकेका थिएनन् । विमानस्थल निर्माणमा ठूलो सार्वजनिक लगानी भए पनि नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसक्दा त्यसको व्यावसायिक उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो ।
नयाँ सहमतिले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
यसले विमानस्थलको व्यावसायिक गतिविधि विस्तारसँगै लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउन सक्छ ।
भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्न हवाई मार्ग मात्र पर्याप्त भने हुँदैन । विमान कम्पनीलाई आकर्षित गर्ने उडान माग, यात्रु सेवा, भन्सार तथा अध्यागमनको प्रभावकारी व्यवस्थापन र नियमित उडान सञ्चालनको वातावरण पनि आवश्यक हुन्छ । त्यसैले पछिल्लो सहमतिलाई विमानस्थलको व्यावसायिक सञ्चालनतर्फको महत्वपूर्ण सुरुवातका रूपमा लिन सकिन्छ ।
नेपालले भैरहवा हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमति खोजिरहँदा भारतले पनि पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । दुई देशबीचको हवाई मार्गसम्बन्धी छलफलमा यो विषयसमेत उठ्दै आएको थियो । पछिल्लो द्विपक्षीय वार्ताले लामो समयदेखि अल्झिएको हवाई रुटको विषयलाई सहमतितर्फ अघि बढाएको छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यले नेपाल–भारत नागरिक उड्डयन सहकार्यलाई नयाँ चरणमा पु¥याउने अपेक्षा गरिएको छ । यद्यपि, सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले तत्कालै नियमित उडान विस्तार हुने अवस्था भने बनिसकेको छैन ।
नेपालका लागि अबको चुनौती हवाई प्रवेशमार्गको सहमतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु र त्यसको उपयोग गरेर अन्तर्राष्ट्रिय उडान विस्तार गर्नु हो । त्यसो हुन सके भैरहवा विमानस्थलमा भएको लगानीको प्रतिफल प्राप्त गर्ने मात्र नभई लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्ने अवसरसमेत विस्तार हुनेछ ।
अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवालाई गन्तव्य बनाएर उडान योजना बनाउन र नेपाल प्रवेशका लागि थप विकल्प पाउने सम्भावना छ ।

छुटाउनुभयो कि ?

ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौंपूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रि...
मौसम पूर्वानुमान: देशभर सफा रहने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा राति आंशिक बदली हुने

मौसम पूर्वानुमान: देशभर सफा रहने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा राति आंशिक बदली हुने

काठमाडौंमौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । ह...
नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सहयोग पुर्‍याउन भारतका तर्फबाट २ खर...
भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

रुपन्देहीअर्बौं लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने नेपालक...