युक्रेनको राजधानीमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त



काठमाडौँ
रुसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किभमा जनजीवन अस्तव्यस्त भएको छ । किभमा रहेका ऊर्जा, दूरसञ्चार, सडक तथा रेलमार्गका पूर्वाधारहरु रुसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन् ।

आइतबार रुसविरुद्धको युद्धमा एक्येबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किभ पुगेका थिए । उनी किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्‍यो । यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो ।

जसकारण, यातायत अव्यस्थित भएको छ । आइतबारको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किभका मेयर. मेयर भिटाली क्लिट्स्कोले बताए । यस पुलले किभको पूर्वतर्फको हिस्सलाई पश्चिमी हिस्सासँग जोड्छ । यस नदीको दक्षिणतर्फ रहेको पुलमा यसअघि नै आक्रमण भइसकेको छ ।
शुक्रबार तथा शनिबार युक्रेनका अन्य विभिन्‍न क्षेत्रमा पनि रुसले आक्रमण गरेको छ । जसमध्ये शुक्रबार रातभर रुसले गरेको आक्रमणमा युक्रेनको दोस्रो ठूलो शहर खार्खिभमा पाँच जनाको मृत्यु तथा ४० भन्दा धेरै घाइते भएको क्षेत्रीय प्रमुख ओलेह स्यानीहुवोभले बताए ।

त्यसैगरी इज्युम शहरमा शनिबार रुसी आक्रमणमा परेर तीन जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आइतबार मर्ज किभ आउँदा राजधानीमा बिहानैदेखि लगातार चेतावनीका साइरनहरु बजिरहेका थिए । रुसी आक्रमणको जोखिमबीच नै मर्जले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरे । उनले नेसनल एकेडेमी अफ साइन्सेज पनि भ्रमण गरे । यस प्रतिष्ठानमा मंगलबार रुसले ड्रोन आक्रमण गरेको थियो ।
राष्ट्रपति जेलेन्स्कीले निरन्तरको आक्रमणका कारण किभका बासिन्दाहरूले भयानक दिन र रातहरू व्यहोर्न बाध्य हुनुपरेको बताएका छन् । जवाफमा जर्मन चान्सलर मेर्जले भने, ‘युक्रेनका नागरिकमाथिका यी बर्बर आक्रमणहरू बन्द हुनैपर्छ । यहाँ दैनिक रूपमा युद्ध अपराधहरू भइरहेका छन् ।’

रुसले पछिल्ला केही दिनयता आवासीय क्षेत्र, पेट्रोल पम्प, विद्यालय, रेल र सञ्चार पूर्वाधारहरूमा निरन्तर आक्रमण गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । दैनिक रुपमा चेतावनीको संकेत जारी भइरहदाँ जनजीवन प्रभावित भएको छ ।
आफ्नो भ्रमणको सुरुवातमै चान्सलर मेर्जले युक्रेनलाई आगामी साताहरूमा हाम्रो पूर्ण सहयोग आवश्यक रहेको बताए । ‘यदि रुसलाई रोकिएन भने, यसको युद्ध मेसिन छिटो वा ढिलो हामीविरुद्ध नै आउनेछ,’ उनले भने ।

युक्रेनले रुसका तीब्र गतिका जेट–संचालित ड्रोनहरू खसाल्नका लागि उन्नत इन्टरसेप्टर लगायतका पश्चिमी सैन्य सहायताको माग गर्दै आएको छ ।

यस सहायतामा लडाकु ड्रोनहरू, रुसी प्रक्षेपण स्थलहरूमा आक्रमण गर्न युक्रेनलाई सहयोग पुर्‍याउने उपग्रह (स्याटेलाइट) प्रविधि, तथा जेट–विरोधी ड्रोनहरूको संयुक्त उत्पादन समावेश रहेको जर्मन स्रोतले जनाएको छ ।

आगामी हिउँद नजिकिँदै गर्दा युक्रेनको ऊर्जा क्षेत्रलाई निशाना बनाइएको रुसले जनाएको छ । आफ्ना देशमा यसअघि युक्रेनले गरेको आक्रमणको जवाफमा यी आक्रमणहरु गरिएको उसले जनाएको छ । किभमा हिउँदको समय तापक्रम माइनस २० डिग्री सेल्सियससम्म हुने गर्छ । गत वर्ष पनि हिउँदको समयमा रुसले यसरी नै पूर्वाधारहरुमा आक्रमण गरेको थियो । जसकारण, लामो अवधिसम्म बिजुली र घर न्याने बनाउने (हिटिङ प्रणाली) बन्द भयो । झन्डै ३० लाख जनसंख्या बसोबास गर्ने किभमा गत वर्षकै अवस्था दोहोरिएमा के गर्ने भनेर स्थानीयले चिन्ता गर्न थालेका छन् ।
रुसका तेल प्रशोधन गृहलाई निशाना बनाउनेछौं : जेलेन्स्की

युक्रेनले रुसी आक्रमणको कडा प्रतिवाद गरिने जनाएको छ । शनिबार रोयटर्ससँग कुराकानी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तेल प्रशोधन गृहमाथिको आक्रमणलाई अझ तिब्र बनाउने चेतावनी दिए । तर, युक्रेनले कुनै पनि हालतमा सर्वसाधारणलाई निशाना नबनाउने उनको भनाइ छ ।
युक्रेनी गुप्तचर निकायले रुसका केही महत्वपूर्ण दस्तावेजहरू फेला पारेको दाबी जेलेन्स्कीले गरे ।

‘आगामी हिउँदलाई लक्षित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिक पूर्वाधारहरुमाथि ठूलो रुपमा हमला गर्नेगरी नयाँ ‘सैन्य नीति’ जारी गरेको ती कागजातबाट खुल्छ,’ उनले भने, ‘हामीले ती कागजातहरू हेरेका छौँ । उनीहरूले सहर, गाउँ, सडक, विद्यालय, अस्पताललगायत जताततै आक्रमण गर्ने अनुमति दिएका छन् । राजधानी र अन्य विभिन्न सहरहरू छाडेर मानिसहरूलाई बाहिरिन बाध्य गराउनु नै यो सैन्य अभियानको मुख्य उद्देश्य हो ।’

उनले युद्धका मोर्चाहरुमा रुस क्रमशः हार्दै गएको र यसअघि कब्जा गरेका क्षेत्र पनि गुमाउँदै गएको दाबी गरे । यता, रुसी
विदेश मन्त्रालयले युक्रेनबाट आफ्नो देशभित्र यसै महिना निरन्तर भएका आक्रमणको जवाफस्वरुप युक्रेनका विभिन्न शहरमा आक्रमण गरिने जनाएको छ । किभलगायतका शहरहरु छाड्न मन्त्रालयले विदेशी नागरिकहरुलाई आग्रह गरेको छ ।

तर, युक्रेनका लागि युरोपेली संघ (ईयू) का राजदूत क्याटरिना माथेर्नोवालगायतका कूटनीतिज्ञहरूले रुसको धम्कीका बाबजुद आफूहरू किभमै रहने र युक्रेनप्रतिको युरोपेली समर्थन नरोकिने स्पष्ट पारेका छन् ।

चार वर्षभन्दा लामो समयदेखि चलिरहेको यस युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यस्थता प्रयास गर्दै आएको छ । तर, उनको मध्यस्थता प्रयासले कुनै नतिजा भने ल्याउन सकेको छैन । युरोपमा दोस्रो विश्वयुद्धपछिको रक्तपातपूर्ण मानिएको यस युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ ।
गत महिना अमेरिकी राष्ट्रपतिले युक्रेनलाई रुसी तेल प्रतिष्ठानहरूमा हमला नगर्न आग्रह गरेका थिए । यस्ता हमलाले विश्व बजारमा डिजेलको मूल्य अत्यधिक आकाशिएको ट्रम्पको तर्क थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनिच्छाका कारण ऊर्जा पूर्वाधारमा युद्धविराम र शान्ति वार्ता दुबै हुन नसकेको राष्ट्रपति जेलेन्स्कीले बताए ।

रुसले पहिलो पटक किभको पूर्वी र पश्चिमी भाग जोड्ने ड्निप्रोन नदीका पुलहरूलाई समेत निशाना बनाएको छ।मस्कोको यस नयाँ रणनीतिको कडा प्रतिवाद गर्ने तर सर्वसाधारणका पूर्वाधारहरूलाई अन्धाधुन्ध आक्रमण नगर्ने प्रतिबद्धता राष्ट्रपति जेलेन्स्कीले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...