
बुटवल
अविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । लगातारको वर्षाले प्रदेशका मुख्य राजमार्ग, सहायक मार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन तथा मौसम पूर्वानुमानअनुसार भारी वर्षाको जोखिम बढिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अविरल परिरहेकाे बर्षासंगै अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा र प्युठानका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार सडक अवरुद्ध भएका १० स्थानमध्ये नौ स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एउटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सन्धिखर्क-गोरुसिङ्गे सडक खण्ड पनि अवरूद्ध
सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको र रूखहरू ढालेको हुँदा सडक अवरूद्ध भएकाे छ । उक्त सडक खण्डमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले बाटो खुलाउने कार्य गरी राखेकाे पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएकाे छ ।
पाल्पाका चार स्थानमा सडक यातायात प्रभावित
लगातारको भारी वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । पाल्पाको हार्थोक–छहरा–अर्घाखाँची भित्री सडक खण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–५, बौदीमा असोज ९ गते दिउँसोदेखि सडक अवरुद्ध भएको थियो । उक्त सडक खण्डमा पहिरो पन्छाएपछि साँझ ५ बजेर ५० मिनेटदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
काली गण्डकी कोरिडोरअन्तर्गत रामपुर नगरपालिका–१, स्याउली बजारमा आज बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही कोरिडोरको रम्भा गाउँपालिका–१, असर्दीमा पनि आज बिहान ७ बजेर ३० मिनेटदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । एउटै कोरिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन् ।
यसै गरी, पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, चरचरेमा आज बिहान करिब ६ बजेर ५० मिनेटदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण पाल्पामा मुख्य राजमार्गसँगै वैकल्पिक मार्गसमेत प्रभावित भएकाले यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ ।
गुल्मीका तीन सडक खण्ड पूर्ण रूपमा बन्द
लगातारको वर्षाका कारण गुल्मीका तीन स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । काली गण्डकी कोरिडोरअन्तर्गत काली गण्डकी गाउँपालिका–२ मा पर्ने सडक शुक्रवार बिहान ९ बजेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यसै गरी, रुद्रबेनी–वामीटक्सार सडक खण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७, सिस्ने भिरमा पनि शुक्रवार दिउँसोदेखि सडक अवरुद्ध छ ।
गुल्मीको रिडी–तम्घास सडक खण्डअन्तर्गत रुरु गाउँपालिका–१, बाख्रेमा पनि शुक्रवार राति १० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । जिल्लाका यी तीनवटै सडक खण्ड बन्द हुँदा विभिन्न स्थानीय तहसँगको यातायात सम्पर्क प्रभावित भएको छ । विशेष गरी जिल्ला सदरमुकाम तम्घास जोड्ने रिडी–तम्घास सडक खण्डसमेत अवरुद्ध हुँदा आवतजावतमा थप समस्या सिर्जना भएको छ ।
रोल्पा र प्युठानमा पनि सडक यातायात प्रभावित
भारी वर्षाले रोल्पा र प्युठानका विभिन्न सडक खण्डमा समेत क्षति पुर्याएको छ । रोल्पाको सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–३, गर्गरेमा शुक्रवार साँझ ७ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, प्युठानको बाग्दुला–बाहाने सडक खण्डअन्तर्गत नौबहिनी गाउँपालिका–६, बाग्दुलामा सडक अवरुद्ध भएको छ । प्युठानकै बिजुवार–दुङठाँटी भित्री सडक खण्डअन्तर्गत प्युठान नगरपालिका–५, बिजुवारमा पनि राति ८ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
दुवै जिल्लामा सडक यातायात अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत तथा सवारीसाधन सञ्चालन प्रभावित भएको छ ।
नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, खुल्ने समय अनिश्चित
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलबाट प्राप्त विवरणअनुसार पाल्पाका तीन, गुल्मीका तीन, रोल्पाको एक र प्युठानका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् । पाल्पाको रिब्दीकोटस्थित एउटा सडक खण्डमा भने एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
पूर्ण रूपमा अवरुद्ध भएका नौ वटै सडक खण्ड कहिलेसम्म सञ्चालनमा आउँछन् भन्ने अनुमानित समय प्रहरीको विवरणमा उल्लेख गरिएको छैन । निरन्तर वर्षा भइरहेकाले पहिरो प्रभावित क्षेत्रका सडकबाट यात्रा गर्दा थप जोखिम हुन सक्ने देखिएको छ । विशेष गरी पहाडी क्षेत्रमा पर्ने राजमार्ग तथा ग्रामीण सडकहरूमा पहिरो खस्ने जोखिमलाई ध्यानमा राखेर यात्रा गर्नुपर्ने अवस्था छ ।
यसैबिच, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन् । केही स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
सम्बन्धित प्रशासन कार्यालयहरूले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा स्थानीय प्रशासन र ट्राफिक प्रहरीले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेका छन् ।