मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने



काठमाडौँ
बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो २४ घण्टामा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भूभागमा भारी र धेरै भारी वर्षा भएको थियो ।

सबैभन्दा बढी पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा १९६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षाका रूपमा लिइन्छ ।

‘पछिल्लो १ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भएको छ। बागमतीदेखि पूर्वका कोशी र मधेशका तराई भूभागमा पानी परेको छैन,’ महाशाखाका मौसमविद् रोजन लामिछानेले मौसमी अपडेटमा भनेका छन्, ‘कतै घाम त कतै बादल देखिएको छ ।’
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो र राति धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षासमेत हुने लामिछानेले बताए। भोलि दिउँसो यी प्रदेशमा प्रणाली कमजोर भई हल्कादेखि मध्यम वर्षा मात्रै हुने उनको भनाइ छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

‘पूर्वतिर वर्षा हटेर मौसम सुधार हुने क्रममा छ,’ मौसमविद् लामिछानेले भने, ‘भोलि राति र पर्सिदेखि मौसम सुधार हुन्छ ।’
बागमतीदेखि पूर्व प्रभाव घटे पनि पश्चिमी क्षेत्रमा धेरै भारी वर्षासम्म हुने भएकाले आवश्यक सावधानी अपनाउन उनले अनुरोध गरेका छन् । ‘प्रभावस्वरूप बाढीपहिरो, खोलाको बहाव बढ्ने र कटानको समस्या हुन सक्छ,’ उनले भने, ‘जोखिमयुक्त ठाउँका बासिन्दाले सतर्कता अपनाउनुपर्छ ।’

सुदूरपश्चिमी क्षेत्रमा आजको तुलनामा भोलि कम वर्षा हुने र पर्सिदेखि देशैभर मौसम सुधार हुने उनले बताए ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । यसमा बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली पनि मिसिएको छ ।
अहिले यो प्रणाली उत्तर छत्तीसगढ र आसपासको उत्तरपूर्वी मध्यप्रदेशमाथि केन्द्रित छ । छत्तीसगढको पेन्ड्रा रोडबाट करिब ११० किलोमिटर उत्तरपश्चिम, चम्पाबाट करिब ११० किलोमिटर उत्तरपश्चिम र मध्यप्रदेशको सिधीबाट करिब १८० किलोमिटर दक्षिणमा यो सक्रिय रहेको भारतीय मौसम विभागले जनाएको छ ।

सुरुमा उत्तरी अन्डमान सागर र आसपास न्यूनचापीय क्षेत्र बनेपछि यो बंगालको खाडीमा सर्दै बलियो भएर डिप डिप्रेसन (गहिरो न्यूनचापीय प्रणाली) बनेको थियो । यो प्रणाली बुधबार राति उत्तर आन्ध्र प्रदेशको तट पार गरेर दक्षिण ओडिशातर्फ प्रवेश गर्‍यो । बिस्तारै उत्तरपश्चिमतर्फ सर्दै आएको यही प्रणालीका कारण नेपालमा बुधबार रातिदेखि नै देशका अधिकांश भूभागमा लगातार वर्षा भएको थियो ।

छुटाउनुभयो कि ?

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट...
निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभाव...
मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

काठमाडौँबंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ...
काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...