
बुटवल
रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
कात्तिक २६ गते विहिवार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ स्थित कान्छीबजारबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन् ।
उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।