डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध



बुटवल
भारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् ।

भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।
कार्यालय प्रमुख भुसालका अनुसार पम्प र चालकहरूले सवारीसाधनमा दुईवटा ज्याक लगाएर गाडी उचाली मेकानिकल लकिङ सिस्टमलाई बङ्ग्याएर अनधिकृत रूपमा डिजेल निकाल्ने र ठगी गर्ने गरेको पाइएको छ । प्रहरी र निगमका कर्मचारीको रोहवरमा जाँच गर्दा तीन वटा ट्याङ्करबाट औसत १०/१० लिटर गरी जम्मा ३० लिटर डिजेल निकालिएको अवस्थामा जरकिनसहित बरामद गरिएको थियो ।
निगमको ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली’ अनुसार अनधिकृत व्यक्ति वा ट्याङ्करबाट इन्धन खरिद गर्ने पेट्रोल पम्पलाई ६ महिनासम्मका लागि सिल गरी बिक्री–वितरण पूर्ण रूपमा रोक्का गरिने र १ लाख रूपैया जरिवाना गराइने प्रावधान छ । सोही अनुसार सराफ आयल सेन्टरलाई हिजोदेखि नै सिल गरी कारबाही प्रक्रिया अगाडि बढाइएको भुसालले बताए ।
त्यसैगरी निगमको ‘ढुवानी नियमावली’ अनुसार चोरीमा संलग्न ट्याङ्करहरूलाई ३ महिनासम्म इन्धन ढुवानी गर्न नपाउने गरी निलम्बन (बन्देज) गरिएको छ । साथै मेकानिकल लकिङ सिस्टम बिगारेर इन्धन चोरीमा संलग्न रहेका ट्याङ्कर चालक तथा सह–चालकहरूलाई पूर्वदेखि पश्चिमसम्मका नेपाल आयल निगमका कुनै पनि डिपोमा ट्याङ्कर चलाउन नपाउने गरी आजीवन प्रतिबन्ध गरिएको छ ।

निगमले उपलब्ध गराएको जानकारी अनुसार लु २ ख १५४४ का चालक प्रमात्मा प्रसाद लोध सहचालक सन्तराम लोध, लु १ ख ६५०४ का चालक गणेश बारी, सहचालक उमेश कहार र लु १ ख ६६१९ का चालक दुर्गेश चाईलाई यस्तो कारबाही गरिएको हो ।

घटनास्थलबाट प्रहरीले दुईवटा ट्याङ्कर (लु २ ख १५४४ र लु १ ख ६५०४) र भाग्दै गरेको अवस्थामा अर्को ट्याङ्कर (लु १ ख ६६१९) सहित दुर्गेश चाईर मसुद अजहर हुसेनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाएको छ ।

निगमले पम्प सञ्चालक रमेश सराफ, ट्याङ्कर चालक प्रमात्मा प्रसाद लोध, उमेश कहार तथा संलग्न ट्याङ्करहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिइसकेको छ । प्रहरीले फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तथा थप अनुसन्धान जारी राखेको छ ।

छुटाउनुभयो कि ?

‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

बुटवलबुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे...
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

काठमाडौंरसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्...
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

काठमाडौँ​त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूब...
सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

काठमाडौंसभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारदेखि सुरु ...