
काठमाडौँ
सामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार बिदा नरहेको प्रस्ट पारेको छ।
भोटेकोशी बाढीको १३ औँ दिन अर्थात् भदौ २२ मा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढीमा मृत्यु हुनेहरूको सम्मानस्वरूप कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय बिहीबारको मन्त्रिपरिषद्ले गरेको हो। ‘सो दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको हो, तर सार्वजनिक बिदा छैन,’ गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले बताइन्।
२३ भदौमा भने सार्वजनिक बिदा दिने निर्णय भएको छ। गत वर्ष भएको जेन-जी आन्दोलनको सम्मानमा जेन-जी सहिद दिवस मनाउनुका साथै सार्वजनिक बिदासमेत दिने निर्णय भएको छ।
सोमबार कार्यालय खुलेपछि मंगलबार फेरि बिदा हुने भएको छ।