
बुटवल
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक तथा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ।
आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै सडक विभागले चिनियाँ कम्पनी एमरएस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको छ।
आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौता भएको मितिले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कस्तो बन्नेछ नयाँ ‘सिग्नेचर ब्रिज’रु हाल सञ्चालनमा रहेको पुरानो पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरी तिनाउमा चार लेनको आधुनिक पुल तयार गरिनेछ। नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुनेछ।
पुलसँगै करिब ९८० मिटर लामो पहुँचमार्ग ९एप्रोच रोड समेत निर्माण गरिनेछ। सवारीसाधनको सहज आवागमनका साथै पैदलयात्रुका लागि छुट्टै आकर्षक फुटपाथको व्यवस्था गरिनेछ।
सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत देशका दुई प्रमुख नदी—चितवनको नारायणी र बुटवलको तिनाउ—मा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो।
नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण कार्यले गति लिइसकेको अवस्थामा तिनाउ पुलको समेत ठेक्का सम्झौता हुनुलाई पश्चिम नेपालको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तिनाउमा बन्ने सिग्नेचर ब्रिज हाल तीव्र गतिमा अघि बढिरहेको करिब ५० किलोमिटर लामो बुटवल–गोरुसिङ्गे सडकलाई चार लेनमा विस्तार गर्ने परियोजनाकै महत्त्वपूर्ण अङ्ग हो।
सडक स्तरोन्नति र आधुनिक पुल निर्माणपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। आकर्षक डिजाइनमा निर्माण हुने सिग्नेचर ब्रिजले बुटवलको सहरी सौन्दर्य बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत नयाँ आयाम थप्ने विश्वास गरिएको छ।