
काठमाडौं
पछिल्लो चार महिनाको अवधिमा ठूलो संख्यामा निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा ३७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्चपदस्थ अधिकारीहरूको संख्या उल्लेख्य छ । किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले दिएको जानकारी अनुसार, यो अवधिमा विशिष्ट श्रेणीका ३ जना सचिव, प्रथम श्रेणीका ७० जना सहसचिव र द्वितीय श्रेणीका ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् ।
राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत रहेका छन् । त्यसैगरी, राजीनामा दिने ७० सहसचिवहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले पदबाट राजीनामा दिएका छन् ।
नेपाली निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा, विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायकस्तरका कर्मचारीहरू रहेका छन् ।
सरकारले ल्याउने तयारी गरेको निजामति सेवा ऐनमा ५५ वर्षमा अनिवार्य अवकास र ३० वर्षे सेवाअवधि तोकिएको भन्दै त्यसबा६ बच्नका लागि पनि उपल्लो तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन्। यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीहरूले सेवा छाडेको यो पहिलो पटक भएको पनि किताबखानामा कार्यरत कर्मचारीहरू बताउँछन् ।
यसभन्दा अगाडि राजीनामा दिएर जाने भन्दा अनिवार्य अवकासमा जाने कर्मचारीको रेसियो बढि हुने गरेकोमा अहिले भने राजीनामा दिने कर्मचारीको रेसियो अनिवार्य अवकासमा जाने कर्मचारीको भन्दा बढेको किताबखानाले जानकारी दिएको छ ।