
विनोद खनाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई तीव्र बनाउँदै रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्नुका साथै बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
तत्कालीन स्थायी समिति सदस्य असल सी, उमा सी लगायतका नेतामाथि पार्टी कारबाही भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशभरका नेता–कार्यकर्ताहरू पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन्। रुपन्देहीको भेला सोही पुनर्गठन अभियानअन्तर्गत आयोजना गरिएको हो।
केन्द्रीय कार्यालय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यालय सदस्य बसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै भुसालले नेपालका कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष्टताका आधारमा बृहत् एकता र ध्रुवीकरण आजको आवश्यकता भएको बताए। कम्युनिस्ट आन्दोलनलाई जनताको अपेक्षाअनुरूप पुनः सशक्त बनाउन सबै क्रान्तिकारी शक्तिहरूसँग संवाद र सहकार्यको पहल गरिने उनले बताए।
विशिष्ट अतिथि बसन्त श्रेष्ठले पार्टीले विगत १४ वर्षको राजनीतिक यात्रा र अभ्यासको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले यथार्थको आत्मसमीक्षा, अनुभवबाट शिक्षा र नयाँ राजनीतिक कार्यदिशाका आधारमा मात्र कम्युनिस्ट आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने धारणा व्यक्त गरे।
भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै विष्णु तिवारी ‘मुकेश’को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। यसअघि रहेका जिल्ला सदस्यहरूलाई सचिवालयमा समेट्दै आवश्यक सदस्य थप गरिएको जनाइएको छ।
भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन्। बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन्। सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको छ।
भेलाको अध्यक्षता तथा सञ्चालन केन्द्रीय सदस्य शरद वलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य जया पौडेलले राख्नुभएको थियो।