२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक



काठमाडौं
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, पूर्वाधार विस्तार र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ भने १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना सार्वजनिक गरिएको छ ।
यस पटकको बजेटको मुख्य आकर्षण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल अर्थतन्त्र बनेको छ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ । एआई स्टार्टअप तथा अनुसन्धानलाई सहुलियत दिने, विदेशमा रहेका नेपाली शोधकर्तालाई नेपाल फर्काउने तथा प्रविधिमा आधारित अर्थतन्त्र विकास गर्ने लक्ष्य बजेटले अघि सारेको छ ।
सरकारले प्रशासनिक खर्च कटौती गर्दै ३१ निकाय खारेज गर्ने, ६ निकाय गाभ्ने र १८ निकाय पुनर्संरचना गर्ने निर्णय गरेको छ । यसबाट करिब २० अर्ब रुपैयाँ बचत हुने दाबी गरिएको छ । मन्त्रालयको संख्या २२ बाट १८ मा झारिएको सरकारले जनाएको छ ।
कर्मचारीको तलब २१ प्रतिशतले बढाउने घोषणा पनि बजेटको अर्को महत्वपूर्ण पक्ष बनेको छ । नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुने र न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ पुग्ने बताइएको छ ।

ऊर्जा क्षेत्रतर्फ नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण कम्पनीमा विभाजन गर्ने योजना ल्याइएको छ । निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा प्रवेश खुला गरिने भएको छ । यस्तै नेपाल टेलिकमको ६६ प्रतिशत शेयर मात्रै सरकारको स्वामित्वमा राखी बाँकी सर्वसाधारणलाई बिक्री गरिने घोषणा गरिएको छ ।

पूर्वाधार विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको छ । आउँदो वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे, २०० पुल निर्माण तथा पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ । काठमाडौं–तराई द्रुतमार्गका सुरुङ र पुल निर्माणलाई तीव्रता दिने सरकारको योजना छ ।

काठमाडौं उपत्यकाका लागि ‘भिजन काठमाडौं २०४०’ कार्यक्रम लागू गरिने भएको छ । अन्डरपास, ओभरपास, भूमिगत विद्युत् लाइन र विद्युतीय सार्वजनिक बस सञ्चालनमार्फत स्मार्ट सहर विकास गर्ने योजना बजेटमा समेटिएको छ । पोखरामा पनि विद्युतीय बस प्रणाली विस्तार गरिने भएको छ ।

पूँजीबजारमा गैरआवासीय नेपालीलाई प्राथमिक तथा दोस्रो बजारमा लगानी खुला गरिने भएको छ । विदेशी लगानी स्वीकृति प्रक्रिया सहज बनाइने तथा लगानीकर्ताका लागि ‘सिङ्गल रुट प्रणाली’ लागू गर्ने घोषणा गरिएको छ ।
कृषि क्षेत्रका लागि रासायनिक मल खरिदमा ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको छ भने दलित विद्यार्थी भत्ता दोब्बर बढाएर मासिक १ हजार रुपैयाँ पुर्‍याइएको छ ।
स्वास्थ्य बीमाको दायरा तीन वर्षभित्र ९० प्रतिशत नागरिकसम्म पुर्‍याउने लक्ष्य बजेटले लिएको छ । सातै प्रदेशका सरकारी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।
सरकारले श्रम शोषण, ज्याला ठगी तथा श्रम सम्झौता उल्लङ्घनलाई आर्थिक अपराधसरह कानुनी दायरामा ल्याउने नीति पनि अघि सारेको छ । बैंकमार्फत पारिश्रमिक भुक्तानी र श्रमिक बीमालाई अनिवार्य बनाइने भएको छ ।
बजेटमा पर्यटन र धार्मिक क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ तथा कालीगण्डकी सभ्यता क्षेत्र विकास कार्यक्रम अघि सारिएको छ ।
समग्रमा सरकारले प्रस्तुत गरेको बजेटलाई आर्थिक संरचनामा व्यापक सुधार, डिजिटल रूपान्तरण, पूर्वाधार विस्तार र प्रशासनिक मितव्ययितामा केन्द्रित महत्वाकांक्षी दस्तावेजका रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...