सिद्धबाबा सुरूङ मार्ग असोजभित्रै सञ्चालन गर्ने तयारी


बुटवल
निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा आगामी असोजसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिर अगाडिको पहरो हुँदै विद्युतको हेड बक्ससम्म एक हजार १२६ मिटर लामो सुरूङ मार्ग निर्माणको काम भइरहेको छ।

पाँच वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म सुरूङ मार्गको ६८ प्रतिशत पुरा गरिसकेको जनाएको छ।
वर्षा याममा मात्र होइन हिउँदमा समेत सडक माथिबाट ढुंगासहितको पहिरो झर्ने जोखिम रहेको सिद्धबाबा खण्डको यातायातलाई जतिसक्दो छिटो सुरक्षित गर्ने भन्दै निर्माणको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ५८ प्रतिशत हुँदा भौतिक प्रगति ६८ प्रतिशत रहेको छ। बास्तोलाले आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्गबाटै सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

‘अहिले मुख्य सुरूङ मार्गको सिभिलको काम पुरा भई विद्युतीकरण र प्रवेशद्वारको काम भइरहेको छ, विद्युत् जडान गरेपछि असोज पहिलो दोस्रो साता भित्रै सुरूङ मार्गबाटै सवारीसाधनको आवतजावत सुरू हुन्छ,’ आयोजना प्रमुख बास्तोलाले भने।

साँघुरो र अप्ठ्यारो सडक भएकोले सुरूङ मार्गबाट सवारीसाधन सञ्चालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरूङ, रक सेट र स्लोप निर्माणको काम सुरू गरिने उनले बताए।

२०७८ साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने २०७९ साल अन्तिमतिर मात्र सुरू भएको थियो।

२०८१ माघ ११ गते सुरूङ मार्गको ब्रेक थ्रु हुँदा ४० प्रतिशत काम सम्पन्न भएकोमा त्यसयताका १५ महिनामा थप २८ प्रतिशत काम सम्पन्न भएको हो। निर्माण कम्पनीले २०८३ चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ।
तर, सुरूवाती चरणमा केही कानुनी र प्राविधिक समस्या देखिएपछि एक वर्ष पछि मात्रै सुरूङ खन्न सुरू गरेकोले सम्झौता अवधिभित्रै निर्माणको काम पुरा हुन कठिन देखिन्छ।

सम्झौता अनुसार निर्माण कम्पनीले अबको साढे १० महिनामा बाँकी रहेको ३२ प्रतिशत काम पुरा गर्नुपर्ने हुन्छ। आयोजनाका अनुसार सुरूवाती चरणमा देखिएको कठिनाइका कारण म्याद थप तथा माइल स्टोन समायोजनको प्रक्रिया अगाडि बढाइएको छ।

निर्माण कम्पनीले सुरूङ मार्गको डिजाइनमा एक वर्ष खर्चिएको थियो भने रूख कटानका लागि समयमा अनुमति नपाउँदा पनि ढिलाइ भएको थियो। एक वर्ष ढिलो गरी निर्माणको काम सुरू गरिए पनि २०७९ साल साउनमा झरेको पहिरोले सुरूङ मार्गका दुबईतर्फको पोर्टलमा क्षति पुर्‍याएपछि वर्षा सकिएपछि बल्ल काम सुरू भएको थियो।

पहिलो दुई वर्षमा ११ प्रतिशत काम पुरा भएको सुरूङ मार्गको आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा सुरूङ मार्ग निर्माणको काम भइरहेको छ।

सम्झौता अनुसार निर्माण सम्पन्न भएपछिको पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै सुरूङ मार्गको सञ्चालन, मर्मत सम्भार र सुरक्षाको जिम्मा लिनुपर्ने छ।

निर्माण कम्पनीले सुरूङ मार्गसँगै बुटवल र पाल्पा दुबईतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौता छ।

सुरूङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदल यात्रीका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ। आपत्कालीन निकासका लागि १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीन वटा बाइपास सुरूङ खनिएका छन्।

आयोजनाका अनुसार दुबईतर्फको रिबसहित एक हजार १२६ मिटर लम्बाइको सुरूङ मार्ग निर्माणका लागि करिब १० अर्ब लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने छ।

छुटाउनुभयो कि ?

सिद्धबाबा सुरूङ मार्ग असोजभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरूङ मार्ग असोजभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा आगामी असोजसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुट...
दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

काठमाडौंभाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोडको लागतमा निर्मित बाल अस्पतालको भवन हस्तान्तरण गरेका छन । ग...
प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

काठमाडौंप्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र...
एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

काठमाडौंनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास ...