चन्द्रमा अवलोकन गरेर १० दिनपछि पृथ्वीमा फर्कियो ‘आर्टेमिस-द्वितीय’ टोली


रुपन्देही
आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियानको अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ।

चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यसम्म अवलोकन गरेर करिब १० दिनपछि अन्तरिक्ष यात्रीको टोली शनिबार प्रशान्त महासागरमा सफल अवतरण गरेको हो।

अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रा वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनेको छ।

मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो।

सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एकएक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज यूएसएस जोन पी मुर्तासम्म पुर्‍याएका थिए। नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उनीहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताए।

नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो। अधिकारीहरूले यसलाई ‘नयाँ मुनसटको सुरुआत’ भनेका छन्। ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो। पुनः प्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो-तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो।

यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो । छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए। अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो।

यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ। क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बनिन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैरअमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भएका छन्।

उनीहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गरे। अप्रिल १ मा फ्लोरिडाबाट प्रस्थान गरेको यो टोलीले चन्द्रमा परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दुरी चार लाख छ हजार ७७१ किलोमिटर पार गर्दै नयाँ कीर्तिमान बनायो।

यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्य क्यामेरामा कैद गरेका छन्, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन।

यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए। पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ।

पुनः प्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ। नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो। संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीयमार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ।

अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरे। उनले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।

छुटाउनुभयो कि ?

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिप...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...