राजनीतिक सहिष्णुता


नारायण ज्ञवाली
राजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुलित बन्छ । लोकतान्त्रिक व्यवस्थामा राजनीति कुनै एक विचार, दल वा व्यक्तिको एकाधिकार होइन । फरक फरक मत, दृष्टिकोण र विश्वासको सहअस्तित्व नै लोकतन्त्रको सौन्दर्य हो । यही सौन्दर्यलाई जोगाइराख्ने मूल आधार हो, राजनीतिक सहिष्णुता । राजनीतिक सहिष्णुता भन्नाले आफ्नो विचारभन्दा फरक मत राख्ने व्यक्ति वा समूहलाई शत्रु ठान्नुको सट्टा सम्मानपूर्वक असहमत हुन सक्ने संस्कार बुझिन्छ । सहिष्णुता कमजोरी होइन, यो आत्मविश्वास र वैचारिक परिपक्वताको नमुना हो । जहाँ सहिष्णुता हुन्छ, त्यहाँ बहस हुन्छ । जहाँ बहस हुन्छ, त्यहाँ समाधानको सम्भावना हुनुका साथै संवादबाट मेलमिलापको विकास हुन्छ । मेलमिलापले नै राजनीतिक सहिष्णुताको बाटो देखाउँछ ।

राजनीतिको मर्म सत्ता प्राप्तिमा मात्र सीमित छैन । यसको मूल उद्देश्य समाजलाई न्याय, समानता, शान्ति र समृद्धितर्फ लैजानु हो तर जब राजनीतिमा असहिष्णुता हाबी हुन्छ, तब नीति र सिद्धान्तभन्दा व्यक्तित्व, अहङ्कार र प्रतिशोध प्रधान हुन थाल्छ । फरक विचारलाई राष्ट्रघात वा विकासविरोधीको आरोप लगाउने प्रवृत्तिले राजनीति जनसेवाको माध्यम नभई द्वन्द्वको केन्द्र बन्छ । यस्तो अवस्थामा मस्तिष्क र मनलाई सकारात्मक धारबाट चिन्तनमा प्रवेश गरियो भने राजनीतिक द्वन्द्व न्यूनीकरण हुन्छ । राजनीतिक सहिष्णुता सबैभन्दा पहिले मन–मस्तिष्कमा विकास हुनु पर्छ । फरक विचार सुन्ने धैर्य, आलोचनालाई भावनात्मक रूपमा होइन बौद्धिक रूपमा ग्रहण गर्ने क्षमता र आफ्नै कमजोरी स्वीकार गर्ने साहस परिपक्व राजनीतिक चेतनाका आधार हुन् । ‘मेरो विचार मात्र सही हो’ भन्ने मानसिकताले संवाद बन्द गर्छ र समाजलाई ध्रुवीकरणतर्फ धकेल्छ । लोकतन्त्र भनेकै असहमतिको व्यवस्थापन हो, दमन होइन । अहम्मता र घमण्ड पनि होइन ।
मानिसको मनमा सहिष्णुता भए पनि व्यवहारमा नदेखिएसम्म यसको मूल्य अधुरो रहन्छ । व्यावहारिक राजनीतिक सहिष्णुता भनेको असहमतिको भाषालाई सभ्य बनाउनु, विरोधलाई व्यक्तिगत आव्रmमणमा रूपान्तरण नगर्नु र बहसमा तथ्य तथा तर्क प्रयोग गर्नु हो । हार जितलाई लोकतन्त्रको स्वाभाविक प्रव्रिmया मान्ने संस्कारले मात्र राजनीतिक स्थायित्व सम्भव बनाउँछ र आत्मसम्मान बढाउँछ । आत्मसम्मानले नै राजनीतिक सहिष्णुताको विकास गराउँछ । आजको नेपाली राजनीतिक परिवेशमा सहिष्णुताको कमी गम्भीर चिन्ताको विषय बनेको छ । संसद्देखि सडकसम्म र सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म असहिष्णु भाषा र आरोप प्रत्यारोप बढिरहेका छन् । फरक विचार राख्नेलाई अपमान गर्ने र बदनाम गर्ने प्रवृत्तिले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाइरहेको छ । यसले लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठाइरहेको छ । अरूप्रति सम्मान दर्शाउनाले आफू पनि सम्मानित हुन सकिन्छ भन्ने भावना विकास गर्नु पर्छ, जसका लागि सकारात्मक चिन्तन चाहिन्छ ।

लोकतन्त्रको आत्मा नै सहिष्णुता हो । बहुदलीय प्रणाली, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस सहिष्णुताकै आधारमा टिकेका छन् । जहाँ सहिष्णुता कमजोर हुन्छ, त्यहाँ बहुमतको दमन र अल्पमतको मौनता बढ्छ । जसले अन्ततः अधिनायकवादी प्रवृत्तिलाई प्रश्रय दिन्छ । सहिष्णुताले सत्ता परिवर्तनलाई शान्तिपूर्ण र स्वीकार्य बनाउँछ । सहिष्णु मन नौनीभन्दा कोमल हुन्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्वको भूमिका निर्णायक हुन्छ । नेताको बोली र व्यवहारले समाजलाई दिशा दिन्छ । असहिष्णु र उत्तेजक भाषा प्रयोग गर्ने नेतृत्वले समाजमा विभाजन बढाउँछ । त्यसैले नेताहरूले आलोचनालाई सम्मान गर्ने, विपक्षीलाई दुश्मन नभई लोकतन्त्रको अनिवार्य अङ्ग ठान्ने संस्कार स्थापित गर्नु पर्छ । यो संस्कार पछिल्लो पुस्ताका लागि सिकाइ पनि हो ।

मिडिया, नागरिक समाज र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि उत्तिकै महìवपूर्ण छ । सनसनी होइन सन्तुलन, घृणा होइन संवाद र अपमान होइन सम्मानसँगै आलोचनालाई प्राथमिकता दिन सके मात्र सहिष्णु राजनीतिक संस्कारको विकास हुन्छ । राजनीतिक सहिष्णु संस्कारले मात्र समाजमा मेलमिलाप र रूपान्तरण गर्न सकिन्छ । साच्चै भन्ने हो भने राजनीतिक सहिष्णुता कुनै वैकल्पिक गुण होइन, यो सभ्य राजनीति र दिगो लोकतन्त्रको आधार हो । विचार फरक हुन सक्छन् तर लक्ष्य साझा हुनु पर्छ–राष्ट्रको समृद्धि, जनताको कल्याण र लोकतन्त्रको मजबुती । आजको आवश्यकता आरोप र द्वन्द्व होइन, संवाद, आत्ममूल्याङ्कन र राजनीतिक सहिष्णुता हो ।
राजनीतिक असहिष्णुता भनेको फरक विचार, विचारधारा वा राजनीतिक मतलाई स्वीकार नगर्ने, विरोधीलाई शत्रुका रूपमा हेर्ने प्रवृत्ति हो । यस्तो प्रवृत्तिले समाजमा गहिरो नकारात्मक असर पार्छ । सबैभन्दा पहिला राजनीतिक असहिष्णुताले सामाजिक एकता कमजोर बनाउँछ । एउटै समाजका मानिसहरू राजनीतिक आस्थाका आधारमा विभाजित हुँदा आपसी विश्वास घट्छ, सहकार्यको भावना हराउँछ र समाज टुव्रिmन थाल्छ । परिवार, छिमेक र समुदायभित्रै वैमनस्यता बढ्नु यसको प्रत्यक्ष परिणाम हो । दोस्रो, यसले हिंसा र द्वन्द्वको सम्भावना बढाउँछ । असहिष्णु व्यवहारले संवादको ढोका बन्द गरिदिन्छ र असहमतिको समाधान बहस र छलफलबाट नभई बल, धम्की र दमनबाट खोज्ने प्रवृत्ति बढ्छ । यसले सामाजिक शान्ति र सुरक्षा जोखिममा पार्छ । तेस्रो, राजनीतिक असहिष्णुताले लोकतान्त्रिक मूल्य कमजोर पार्छ ।

अभिव्यक्ति स्वतन्त्रता, विचारको बहुलता र सहिष्णुता लोकतन्त्रका आधार हुन् । फरक मतलाई सम्मान नगर्ने संस्कृतिले नागरिकको आवाज दबाउँछ र सशक्त लोकतन्त्रको विकासमा अवरोध पु¥याउँछ । अन्ततः यसले विकास र समृद्धिलाई पनि प्रभावित गर्छ । राजनीतिक द्वन्द्व र अस्थिरताले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र सामाजिक सेवामा नकारात्मक असर पार्छ । समय र स्रोत विकासभन्दा झगडा र विरोधमा खर्च हुन्छन् । राजनीतिक असहिष्णुताबाट जोगिन सहिष्णुता, संवाद र पारस्परिक सम्मानको संस्कृतिलाई बलियो बनाउनु आवश्यक छ । फरक विचारलाई सुन्ने, बहस गर्ने र समाधान खोज्ने अभ्यासले मात्र समाजलाई शान्त, समावेशी र समृद्ध बनाउन सकिन्छ ।

लोकतान्त्रिक समाजको सौन्दर्य विविध विचार, फरक धारणा र बहुल पहिचानमा निहित हुन्छ तर यही विविधता जब असहिष्णुता, घृणा र टकरावमा परिणत हुन्छ, तब समाज असन्तुलित र अस्थिर बन्छ । राजनीतिक सहिष्णुता र सामाजिक सन्तुलन समाजका लागि अनिवार्य आवश्यकता बनेका छन् । राजनीतिक सहिष्णुता फरक राजनीतिक विचार, आस्था र दृष्टिकोणलाई सम्मानपूर्वक स्वीकार गर्ने संस्कार हो । सहिष्णुताले असहमतिको अधिकारलाई स्वीकार गर्छ तर घृणा र हिंसालाई अस्वीकार गर्छ । लोकतन्त्रमा सबैको सोच एउटै हुन सक्दैन, सोच फरक भए पनि सहअस्तित्व सम्भव हुन्छ भन्ने बुझाइ नै राजनीतिक सहिष्णुताको मूल आत्मा हो ।
सामाजिक सन्तुलन भनेको समाजका विभिन्न वर्ग, जाति, क्षेत्र, भाषा, लिङ्ग र समुदायबिच न्यायपूर्ण सम्बन्ध र अवसरको समान पहुँच हो । जब कुनै समूह उपेक्षित हुन्छ, आवाज दबाइन्छ वा अधिकार खोसिन्छ, तब असन्तुलन जन्मिन्छ । यसले अन्ततः राजनीतिक असहिष्णुता र द्वन्द्वलाई मलजल गर्छ । राजनीतिक सहिष्णुता र सामाजिक सन्तुलन कायम गर्न संवादको संस्कृति विकास गर्नु अत्यन्त आवश्यक छ । संवादले गलत संस्कृति र भ्रमलाई घटाउँछ, विश्वास बढाउँछ र समाधानतर्फ लैजान्छ । असहमति हुँदा पनि सभ्य भाषा, तर्क र धैर्य अपनाउन सकियो भने समाज टकरावबाट सहकार्यतर्फ अगाडि बढ्न सक्छ । यसका साथै कानुनको शासन र निष्पक्षता अपरिहार्य पक्ष हुन् । कानुन सबैका लागि समान रूपमा लागु भए मात्र नागरिकले राज्यप्रति भरोसा गर्न सक्छन् । राजनीतिक आस्थाका आधारमा दण्डछुट दिने प्रवृत्तिले सामाजिक सन्तुलन भत्काउँछ र असहिष्णुता बढाउँछ ।

शिक्षा र नागरिक चेतनाले पनि महìवपूर्ण भूमिका खेल्छ । समाजमा लोकतान्त्रिक मूल्य, सहिष्णुता, सहअस्तित्व र जिम्मेवार नागरिकताको शिक्षा दिन सकियो भने भविष्यका नागरिक बढी सहनशील र सचेत बन्छन् । विशेष गरी सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवारी र मर्यादा सिकाउनु आजको आवश्यकता हो ।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...