कांग्रेसमा विद्रोह


काठमाडौं
भदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ।

भदौ २४ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट नेपाली सेनाले रेस्क्यु नै गरेर बाहिर लैजानुपर्‍यो । त्यस दिन कांग्रेस सभापति देउवा र उनकी श्रीमती आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परे ।
पटक- पटक नेतृत्वमा बसेको तर शासकीय अभ्यासमा सुधार ल्याउन नसकेका व्यक्तिको रूपमा यी दुई पात्रमाथि नागरिक आक्रोश चुलिएको थियो । त्यसैले जेनजी आन्दोलनकारीको भौतिक आक्रमणको निशानामा देउवा परे ।
जेनजी आन्दोलनले देउवा र ओलीलाई तत्कालीन शासकीय सत्ताबाट बहिर्गमन गरायो । यही बहिर्गमनपछि दुवै दल भित्र नेतृत्व परिवर्तनको बहस चलेको थियो । यो बहसमा दुवै दल भित्रका ‘जेनरेसन-एक्स’ पुस्ता अग्रपंक्तिमा थिए । यही बहसका कारण एमालेमा महाधिवेशन नै भयो । महाधिवेशनबाट ओली पुन: अनुमोदित भए । त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्ष कमजोर देखिए । नेतृत्व फेर्न सकेनन् ।
यता, कांग्रेसमा भने नेतृत्व परिवर्तनको मागलाई महाधिवेशसम्म लैजाने इच्छा देउवाले देखाउँदै देखाएनन् । बरु कार्यबाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएर पार्टीको कार्यकारी काम चाहिँ आफैंले गर्दै बसे ।

बरु महाधिवेशन पर धकेलेर चुनावपछि मात्र नेतृत्व बदल्ने अडान लिए । जसका विरुद्ध पार्टी भित्र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायत ‘जेनरेसन-एक्स’ का नेताहरूले विशेष महाधिवेशन गर्नुपर्ने माग राखे । पार्टीको वैधानिक विधि प्रयोग गरेर गरिएको माग पूरा नगरेपछि यो जेन-एक्सले पार्टी भित्र विद्रोह गरेको छ ।
त्यही विद्रोहको बलमा कांग्रेसको विशेष महाधिवेशन भएको छ । चार दिनसम्म चलेको विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व बदल्दै छ ।
जेनजी आन्दोलनले देउवा समेत संलग्न रहेको राजकीय सत्ता ढल्यो । अहिले पार्टी भित्रको जेन-एक्स विद्रोहले कांग्रेस भित्रको उनको एकतन्त्रीय सत्ता ढलेको छ । अब देउवा कांग्रेसको एउटा पक्षको मात्र नेताको रूपमा रहने छन् ।

महामन्त्री थापा र शर्मा जेन-एक्स पुस्ताका नेताहरूको निर्णायक हस्तक्षेपले पार्टी भित्रको पुरानो शक्ति सन्तुलनलाई मात्र हल्लाएन, कांग्रेसको भविष्य कुन दिशामा जान्छ स्पष्ट खाका पनि महाधिवेशनबाट ल्याइदियो ।

यो विशेष महाधिवेशन शेरबहादुर देउवाको विकल्प खोज्ने प्रयासको रूपमा मात्र थिएन कांग्रेस भित्र पुस्तान्तरण, राजनीतिक चेतना र नेतृत्व संस्कारबीचको ऐतिहासिक टकराव थियो । तर यसलाई देउवा पक्षले नेतृत्व बदल्ने एउटा गुटको कोसिसको रूपमा मात्र बुझ्यो । जुन बुझाइका कारण कांग्रेस सग्लो रहेन ।

शेरबहादुर देउवाको नेतृत्व विगत तीन दशकदेखि विवाद, सम्झौता र यथास्थितिवादको पर्याय थियो । दुई पटक पार्टी सभापति र ५ पटक प्रधानमन्त्री बने पनि उनले कांग्रेसलाई वैचारिक रूपमा न स्पष्ट दिशा दिन सकेका थिए, न त संस्थागत रूपमा बलियो बनाउन ।

सत्ता राजनीतिमा टिकिरहने देउवाको शैलीले तत्कालीन राजनीतिक लाभ त दिलायो, तर पार्टी भित्र आन्तरिक लोकतन्त्र, नेतृत्व विकास र नीतिगत बहस क्रमशः कमजोर बन्दै गएको थियो । त्यसैले गगन थापा लगायतको नयाँ पुस्ताले यो रुचाएन ।

पछिल्ला निर्वाचन परिणामहरूले कांग्रेसको खास भोटको जनाधार खुम्चिँदै गएको थियो । कम्युनिस्टहरूसँग गठबन्धन गर्दा कांग्रेसका समर्थकहरूको मत ‘ककटेल’ भइसकेको थियो । देउवा र उनको कोटरी आत्मालोचना गर्नुभन्दा गुट व्यवस्थापन र सत्ता समीकरणमै समय खर्च गरिरह्यो । यही कारण जेनजी पुस्ताले उठाएको पारदर्शिता, जवाफदेहिता र परिवर्तनको माग देउवा नेतृत्वका लागि असहज भइरह्यो ।

पार्टी भित्र जेन-एक्स पुस्ताको यही असन्तुष्टिको गर्भबाट विशेष महाधिवेशन जन्मिएको हो । महाधिवेशनले महामन्त्री थापा र शर्माले अघि सारेका संरचनात्मक सुधारका प्रस्तावहरू पारित गरेको छ । यी प्रस्तावहरू पुरानो इतिहासलाई समेत समेट्दै र अहिलेको जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गर्ने खालका छन् ।

विशेष महाधिवेशनबाट पारित प्रस्तावहरूले कांग्रेस अब पुरानै ढर्रामा चल्न सक्दैन भन्ने सन्देश दिएका छन् ।

पार्टी भित्र अब गुटको गोटी बन्दा मात्र नेता भइन्छ भन्ने मान्यता महाधिवेशनबाट पारित दस्तावेजहरूले खण्डित गरेका छन् ।
पार्टी भित्र अब तल्लो तहबाटै प्राइमरी निर्वाचनमार्फत चयन भएर माथि आउनुपर्ने प्रस्ताव कांग्रेसको आन्तरिक जीवनमा अहिलेसम्म गरेकोभन्दा उन्नत खालको लोकतान्त्रिक अभ्यास हुनेछ ।

त्यस्तै पार्टी भित्र समानुपातिकका नाममा तरमारा वर्गहरूले पटकपटक अवसर पाउने व्यवस्था अन्त्य गर्न एक पटक मात्र समानुपातिकमा बस्न पाउने नीतिगत व्यवस्था दीर्घकालीन महत्वको छ ।

त्यस्तै, नेतृत्वमा भइराख्ने जाम, एउटै व्यक्ति पटकपटक निर्वाचनमा उठ्ने पदमा बस्ने पद्धतिमा पनि क्रान्तिकारी परिवर्तन ल्याउन खोजिएको छ ।

सभापति र प्रधानमन्त्री दुई पटक मात्र हुने, सांसद चार पटकभन्दा बढी नहुने प्रस्तावले नेतृत्वमा माथि आउन भइरहेको लामो जाम खुलाउन खोजेको छ ।

कांग्रेसमा विशेष महाधिवेशनको क्रममा पनि अन्तिम समयसम्म पार्टी विभाजन नहोस् भन्ने उद्देश्यले सहमतिको कोसिस भएको थियो ।

जब शेरबहादुर देउवाले सभापति पद छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने र सुधारका प्रस्ताव स्वीकार्नुपर्ने मागमा संस्थापन पक्ष टसमस नहुनु, संवादभन्दा टकरावलाई प्राथमिकता दिने रणनीति जस्तो देखियो । वार्ताका अनेक प्रयास हुँदाहुँदै पनि सहमति जुटेन । देउवा र उनको समूहले पद छोड्न तयार भएन ।

पदमा आफैं बस्नुपर्ने, अरूलाई नेतृत्व स्वीकार्न नसक्ने देउवा प्रबृत्तिविरुद्ध महाधिवेशनका दौरान विश्वप्रकाश शर्माले आफूलाई एउटा मानकका रूपमा पेस गरेका छन् ।

किनकि, उनले राजनीतिक रूपमा आफूभन्दा जुनियर रहेका गगन थापालाई उदारतापूर्वक भावी प्रधानमन्त्री र पार्टी सभापतिको रूपमा स्वीकार्ने घोषणा महाधिवेशनको हलबाटै गरे ।

पद नै नछोड्ने र आफूभन्दा कम उमेरकालाई नेता नै नमान्ने राजनीतिक संकीर्णहरूलाई उनले उदाहरण पेस गरेका छन् । थापालाई भावी नेतृत्व र सम्भावित प्रधानमन्त्रीका रूपमा महाधिवेशनको हलबाटै प्रस्ताव गर्नु केवल व्यक्तिगत समर्थन होइन, त्यो नयाँ पुस्तामाथिको राजनीतिक आत्मविश्वासको सार्वजनिक घोषणा पनि थियो । यसले कांग्रेस भित्र पहिलो पटक नेतृत्व पदको रवाफ होइन, राजनीतिक जिम्मेवारी हो भन्ने स्थापित गरेको छ ।

नेपाली कांग्रेसको इतिहास हेर्दा, यो अवस्था कुनै नयाँ चाहिँ होइन । सात दशकभन्दा लामो यात्रामा कांग्रेस दुई पटक पहिले पनि फुटेको हो । कतिपय अवस्थामा फुटको नजिक पुगेर पनि जुटेको छ ।

बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूको युगमा पनि नेतृत्व संघर्ष, वैचारिक मतभेद र संगठनात्मक टकराव निरन्तर थियो ।

डिल्लीरमण रेग्मीको विद्रोह, सुवर्ण शमशेर, मातृका-बीपी विवाददेखि देउवा-कोइराला विभाजनसम्म, कांग्रेसको इतिहास नेतृत्वको कार्यशैलीकै कारण टकराव आएको इतिहास छ ।

तर, वर्तमान संकटको चरित्र केही फरक छ। अघिल्ला विभाजनहरू वैचारिक वा रणनीतिक मतभेदसँग जोडिएका थिए, तर अहिलेको विद्रोह पुस्तान्तरण र राजनीतिक संस्कारसँग पनि सम्बन्धित छ ।

अहिले कांग्रेसको जेन-एक्स पुस्ताले केवल नेतृत्व परिवर्तनको मात्र कुरा गरेन । उसले आफ्नो संगठन, समाज बदलिँदै गर्दा पार्टी भित्रको नेतृत्व संरचना जस्ताको तस्तै रहनु असम्भव छ भन्ने पनि देखायो । कांग्रेस भित्रको अहिलेको विद्रोही समूहले केवल एक पार्टीको भविष्यको निर्णय मात्र गरेको छैन । यसले नेपालको लोकतान्त्रिक राजनीति र नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने दिशा पनि पक्रिन खोजेको छ ।

अनलाईन खवरबाट साभार

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...