
ललित बुढा मगर
वर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आदिको विभेदलाई अन्त्य गर्न र नागरिकलाई अधिकार सम्पन्न गराउन मौलिक अधिकारहरु संबिधानमा नै व्यवस्था गरिएकोको छ । अहिले को संबिधान अनुरूप नागारिक सार्वभौम सत्ता सम्पन्न हुन तर यी हक अधिकारको ब्यबस्था हुनु भन्दा पूर्वको अबस्था हक अधिकार स्थापीत हुनु हो सोही हक अधिकार स्थापीत गराउनमा विगतका त्याग तपस्या बलिदानलाई हेर्ने हो भने मगर समुदाय अग्रपंतिमा देखिन्छ । चाहे त्यो राणा शासनको अन्त्यको आन्दोलनमा होस् चाहे त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्तमक राज्य ब्यबस्था स्थापना गर्नेमा होस् । बिशेष त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा मगर समुदायको भूमिका विशिष्ट र महत्त्वपूर्ण रहेको छ । नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता तथा सामाजिक रूपान्तरणको यात्रामा मगर समुदाय सधैं अग्रपंक्तिमा उभिएको इतिहास रहेको छ ।
देश र आम जनताकाे निम्ति विभिन्न खाले दमन, अत्याचार, विभेद, साथै सामाजिक असमानतालाई अन्त्य गर्न मगर समुदायले आफ्नो भौतिक शरिर सम्म सुम्पिदा पनि राज्यले त्यसको उचित कदर नगर्दा मगर समुदायको हकहितका निम्ति, मगर समुदायको पहिचानका निम्ति सम्पूर्ण मगर समुदाय एक भएको दिन हो मगर दिवस अर्थात् मगर एकता दिवस ! विगतमा राज्यसत्ताले मगर समुदायको पहिचान र अस्तित्वलाई नामेट पार्न खोजेको हुनाले त्यसलाई संरक्षण र सम्बद्धन गर्नको लागि यो दिवस मनाउनु परेको हो । आफ्नो गुमेको अस्तित्व र पहिचानलाई जोगाउनु पर्छ भनेर संगठित भएको दिन नै मगर दिवस हो । यो संगठित दिवसलाई एकताको दिवस पनि भनेर सम्बोधन गरिंदै आएको छ । त्यति मात्र नभई यो दिवस सम्पूर्ण नेपालीमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगरका बीचमा एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढेको छ ।
मगर संघको इतिहास : मगर संघको सांगठनिक इतिहास हेर्दा वि.सं. १९९७ सालमा प्रवास दार्जलिङ देखि सुरु भएको हो । तर संघको औपचारिक स्थापना भने वि.सं. २०३८ सालमा भएको हो । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात् वि.सं. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्या.पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । त्यस पछि क्रमिक रूपमा मगर समुदाय सङ्गठित देश भरी नै भएको पाइन्छ ।
२०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्यसंगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.सं. २०४८ सालमा नेपालका पूर्वमन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ” नामाकरण गरियो ।
यसरी लाङ्घाली परिवार संघबाट नेपाल मगर संघमा आइसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकीकृत, संगठित र संरक्षित गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५ को वार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासात् गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्र्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनी मगर समुदायले गर्दै आइरहेको छ ।
मगर समुदायको आफ्नै पुर्खौली थातथलो जातीय भूमि (मगरात), मगर जातिले बोलिने तीनवटा मातृभाषा (ढुट, खाम वा पाङ र काइके),मगर जातिको धर्म (प्रकृतिपुजक, बौद्ध) मगर जातिको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाति समुदायको रुपमा चिनिदै आएको छ । इतिहासविद् एमएस थापाको भनाइअनुसार नेपालका मूलबासी नै मगर हुन् भनेर किटान समेत गरेका छन् ।
त्यसैगरी मगर दिवस मनाउनुको मूख्य कारण पहिलो त विषयगत यो दिवस मनाउनु मगर जातिको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउँदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । राज्य सधै निरंकुश हुन्छ समुदायका समस्या कुनै एक व्यक्तिले मात्र उठाउने हो भने त्यसको सुनुवाई हुँदैन । आफ्नो हक हित र राज्यशक्तिमा सबै वर्ग समूदायको समान सहभागिता हुनुपर्छ त्यसको लागि सामूहिक आवाज उठाउन जरुरी छ भन्ने महसुस गरेर पनि मगर संघ स्थापन भएको हो । साथै यसको अर्को महत्वपूर्ण उदेश्य पुर्खाले अस्थित्वमा लिएका यस समुदायका धर्म,संस्कृति,चालचलन , रहन सहन, लाई पुस्तान्तरण गर्ने र सबै व्यक्ति सामूहिक रूपमा गोलवन्द भएर सधैं आफ्नो हक अधिकारको निम्ति आवाज उठाउन यस मगर संघ अर्थात् एकताको दिवस मनाउने गरिन्छ । सम्पूर्ण नेपाली मन हरुमा ४४ औं मगर दिवस अर्थात् एकता दिवसको भव्य शुभकामना !!!
ठेगाना :रुकुम पश्चिम
विए एलएल वी : सातौँ सेमेस्टरमा अध्यनरत