रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश


दीपु पोखरेल
काठमाडौं

भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान आइतबार नेकपा एमालेका लागि केवल महाधिवेशन उद्घाटनस्थल मात्र रहेन, त्यो पार्टीको राजनीतिक पुनरुत्थानको मंच बन्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनआक्रोशको केन्द्रमा परेका दलहरूमध्ये पहिलोपटक ठूलो राजनीतिक जमघट गर्न सफल एमालेले त्यसै माध्यमबाट एउटा स्पष्ट सन्देश दियो- राजनीतिक दलहरूको जनाधार कमजोर भएको छैन।
जेनजी आन्दोलनपछि रक्षात्मक बनेका दलहरूबीच महाधिवेशन गर्ने साहस एमालेले मात्रै देखायो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आन्दोलनका क्रममा बालुवाटारबाट हेलिकप्टरमार्फत बाहिरिनुपरेको घटनाले कार्यकर्ता तहमा निराशा फैलिएको थियो। त्यही पृष्ठभूमिमा हजारौं कार्यकर्तालाई एकै स्थानमा उभ्याउनु एमालेका लागि चुनौती थियो।

यद्यपि उद्घाटनमा दुई लाख सहभागी उतार्ने दाबी पूरा नभए पनि ५० हजारको उपस्थितिले एमाले नेतृत्वलाई राजनीतिक आत्मविश्वास फिर्ता दिलाएको देखिन्छ।

उद्घाटन समारोहमा देखाइएको भिडिओ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाइएको दृश्य-एमालेले अबको राजनीतिक बहसलाई कुन बिन्दुमा केन्द्रित गर्न चाहन्छ भन्ने स्पष्ट संकेत थियो।

केपी शर्मा ओलीः ‘एमाले कमजोर होइन, अझ परिपक्व भएको छ’

महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भएको भन्ने भाष्यलाई अस्वीकार गरे । उनले महाधिवेशनमा देखिएको जनसहभागिता, उत्साह र अनुशासनलाई एमालेको वास्तविक शक्ति भएको उल्लेख गर्दै भने, “एमाले कठिन समयबाट सिक्दै अझ परिपक्व र जिम्मेवार पार्टी बनेको छ।”
ओलीले लोकतान्त्रिक प्रतिस्पर्धालाई पार्टीको शक्ति ठहर गर्दै नेतृत्व चयन प्रक्रिया स्वाभाविक र स्वस्थ भएको दाबी गरे । साथै उनले राष्ट्रिय हित, स्वाधीनता, विकास र सुशासनका सवालमा एमाले फेरि निर्णायक भूमिकामा उभिने बताए । देशलाई स्थिर र निर्णायक नेतृत्व चाहिएको र एमाले त्यो भूमिका निर्वाह गर्न सक्षम छ भन्ने भन्दै ओलीले विगतका विवादमा भन्दा अब भविष्यको भूमिकामा जोड दिनु आफैँमा रणनीतिक देखिन्छ । यसले एमाले अब आन्तरिक विवादभन्दा बाहिर निस्केर राष्ट्रिय राजनीतिमा पुनः नेतृत्वदायी भूमिका खोज्दैछ भन्ने बुझिन्छ ।
ओलीले भदौ २४ को घटनालाई ‘राज्यको मेरुदण्ड भाँच्ने दीर्घ षड्यन्त्र’ भन्दै त्यसविरुद्ध उभिनु नै एमालेको अबको राजनीतिक लाइन हुने घोषणा गरे।

उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकार हटाउन संसद वा निर्वाचन नै पर्याप्त हुने अवस्थामा देशलाई खरानी बनाउने प्रयास गरिएको दाबी गरे। एमालेका लागि यो केवल सरकार जोगाउने मुद्दा नभई संवैधानिक व्यवस्था र राज्यको अस्तित्व जोगाउने संघर्षका रूपमा प्रस्तुत गरिएको छ।

उद्घाटन समारोहमै जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ओलीले भावनात्मक र चेतावनी मिश्रित सन्देश दिए। पार्टी नेतृत्वमाथि भएका आक्रमण, सिमरामा कार्यक्रम अवरुद्ध हुनु र नेता महेश बस्नेत सवार गाडीमा रंग छ्यापिएको घटनालाई स्मरण गराउँदै ओलीले एमालेसँग ‘टकरिन नआउन’ अप्रत्यक्ष चेतावनी दिए।

उनको भाषणले एमाले आफूलाई जेनजी विरोधी देखाउने प्रयासलाई राजनीतिक ‘ट्याग’को रूपमा व्याख्या गरेको स्पष्ट हुन्छ। विगतमा वृद्धवृद्धा विरोधी, क्रान्ति विरोधी, मधेस विरोधी, पहिचान विरोधीजस्ता आरोप चिर्दै आएको एमालेले अहिलेको आरोप पनि चिर्ने दाबी गर्‍यो।

महाधिवेशन उद्घाटनको अर्को महत्त्वपूर्ण पक्ष एमालेभित्रको एकताको सन्देश हो। ओलीले कसैको नाम नलिई कुनै दल वा नेतामाथि कटाक्ष नगर्नु स्वयंमा रणनीतिक देखिन्छ। ‘एघार बन्न दुईवटा एक सँगै उभिनुपर्छ’ भन्ने प्रतीकात्मक अभिव्यक्तिमार्फत उनले पार्टीभित्रको दूरी घटाउने सन्देश दिए।

उनको जोड स्पष्ट थियो— एमाले–एमालेबीचको एकता नै सुरक्षित नेपालको पहिलो सर्त हो।

महाधिवेशनमार्फत एमालेले आफू निर्वाचनका लागि तयार रहेको संकेत पनि दिएको छ। तर ओलीले फागुन २१ मा चुनाव नहुने स्पष्ट पार्दै संसद पुनर्स्थापनालाई नै तत्कालीन राजनीतिक प्राथमिकता बनाएका छन्। महासचिव शंकर पोखरेलले पनि स्वागत मन्तव्यमा संसद विघटनको मुद्दालाई आक्रामक रूपमा नउठाउनु एमालेको सन्तुलित रणनीतिक संकेतका रूपमा हेरिएको छ।

दल दर्ता र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध एकै दिन मुद्दा दर्ता गरेको एमालेले सल्लाघारीबाट दिएको सन्देश स्पष्ट छ— पुनर्स्थापना र निर्वाचन दुवैका लागि एमाले राजनीतिक रूपमा तयार छ।
जेनजी आन्दोलनपछिको राजनीतिक अन्योलबीच सल्लाघारीको भीड एमालेका लागि केवल संख्यात्मक उपस्थिति थिएन; त्यो पार्टीले आफू अझै खेलमै छ भन्ने घोषणा थियो।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...