प्रदीप ज्ञवाली- संकटको सारथि, महासचिवका दाबेदार


विश्वमणि सुवेदी
काठमाडौं
ढुंगा कठोरताको प्रतीक हो । त्यसको काप फोरेर पिपल उम्रिन्छ र त्यो शीतलताको प्रतीक बन्छ । यस्तै छ, प्रदीप ज्ञवालीको जिन्दगी । कम्युनिष्ट आन्दोलनको कठोर परीक्षामा गुज्रिँदै उम्रिए । र, शालीनताको परिचयबाट प्रख्याति पाए । उनी नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट महासचिवको दौडमा छन् ।
आजको धर्तीमा मदन भण्डारी र जीवराज आश्रित त छैनन् । तर, यीमध्ये. आश्रितद्वारा राजनीतिमा दीक्षित कोही मान्छे बाँकी छ भने तीमध्येका मुख्य हुन्, प्रदीप ज्ञवाली । गुल्मीको रिडी माविबाट १३ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेपछि त्यहीँको जनज्योति प्राविमा पढाए । कविता लेखेका थिए । उनी परे लाजका ‘भारी’ । कोही मान्छेले ‘के लेख्दैछौ ?’ भनेर सोधे । ‘केही होइन’ भन्दै थिए । तर, सोध्नेले आफैँ चिहाएर चाल पाए, ‘ए, कविता लेखेका हौ ?’ उनले ‘हैन’ भन्न सकेनन् । त्यो खण्डकाव्यको केही अंश थियो । । त्यसरी उनलाई गरिब र दुःखीका निम्ति लेख्नुपर्छ भनेर हौस्याउने पात्र थिए, जीवराज आश्रित ।

नेपालको राजनीतिमा चलेको चलन नै यस्तो छ कि, न इच्छाहरू दुरुस्तै सदर हुन्छन्, न इतिहास, योगदान र पृष्ठभूमिकै समयोचित कदर हुन्छ । प्रदीप ज्ञवालीका हकमा यिनै पङ्क्ति लागु हुन्छन् । यद्यपि, उनी निराश नभई यो यात्रामा तल्लीन छन् । हुनु–पुग्नुपर्ने ठूलै पदमा थियो, तर महासचिव ‘मात्रैको’ रुचि देखाएका छन् ।
राजनीतिमा प्रदीप ज्ञवाली आफैँमा ‘संकटदेखि संकटसम्म’ का यात्री हुन् । यो यात्रा सुरू गर्दैमा उनी सहज स्थितिमा थिएनन्, न आजै छन् । आज देश र पार्टी दुवै अप्ठेरा उभिँदा उनी पार्टी नेतृत्वमा उपमहासचिवबाट उक्लिने तरखरमा छन् ।

राजनीतिमा उनको यात्राले ५२ वर्ष टेक्यो । उमेर ११ वर्षको हुँदा उनले २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । आश्रितले उनलाई २०३४ सालमा तत्कालीन नेकपा (माले) को पार्टी सक्रिय दलदेखि गुल्मी–अर्घाखाँची संयुक्त जिल्ला कमिटी कमिटीको सदस्य बनाएका हुन् । यो यात्रा आज नेकपा (एमाले) को उपमहासचिवमा अडिएको छ । त्यो संगठन तत्कालीन नेकपाको पुष्पलाल समूहसँग सम्बद्ध थियो । मंसिर २७ देखि २९ सम्मका लागि तय भएको एमालेको ११ औँ महाधिवेशनबाट अर्को खुट्किलो टेक्ने जमर्को छ ।

इतिहासको यो क्रमलाई हेर्दा आज उनी जहाँ छन्, न्यायोचित ठाउँमा छैनन् । उनको राजनीतिका निम्ति उनीसँगकी राजनीतिक सहयात्री सरस्वती अर्याल प्रकारान्तरमा जीवनकी सहयात्री बनिन् । उनले पतिको हितका निम्ति आफ्नो राजनीतिलाई ‘थाँती’ राखेर साथ दिइन् । जन्मजात मस्तिष्क घातकी बिरामी छोरी आज पनि सहज शारीरिक अवस्थामा छैनन् । हरेक दिन घाम झुल्किनुअघि प्रदीपको दिन उनै ३९ वर्षीया छोरीलाई चुम्बन गरेर सुरु हुन्छ । उनले जीवनमा कमाएका दुई खुसी भन्नु नै पत्नी सरस्वती र छोरी क्षितिज हुन् । जसले प्रदीपको सिंगो जीवनको पीडा बिर्साउँछन् ।


परिवर्तनका योद्धा
देशका प्रत्येक राजनीतिक परिवर्तनसँग प्रदीप ज्ञवालीको नजिकको साइनो छ । २०४६ को संयुक्त जनआन्दोलनमा उनी गुल्मी–अर्घाखाँची तिरै थिए । पार्टी जिम्मेवारीचाहिँ अर्घाखाँचीको पार्टी सचिवको थियो । त्यस भेगको जनआन्दोलनलाई तत्कालीन संयुक्त वाम मोर्चाको एक जिम्मेवार नेताका हैसियतमा उनीसहितले हाँके ।

२०५० सालमा परिवारकै बसाई नवलपरासी जिल्लामा सर्‍यो । उनले त्यहीँको पार्टी जिल्ला कमिटीमा रहेर काम गर्न थाले । २०५१ मा लुम्बिनी अञ्चलको पार्टी सचिव भए, जुन जिम्मेवारी अञ्चलको पार्टी प्रमुखको थियो । र, २०५४ मा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

२०६२-०६३ को जनआन्दोलनमा उनी पार्टी जिम्मेवारीअन्तर्गत पार्टीको सांस्कृतिक फाँट हेर्थे । उक्त जनआन्दोलनपछिको वृहत् शान्ति सम्झौताका क्रममा उनले सरकारी टोलीका तर्फबाट त्यसको हस्ताक्षरकर्ताको भूमिका पाए । त्यसपछि गठित अन्तरिम सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहे ।

राष्ट्रिय गानका अनुमोदक
दोस्रो जनआन्दोलनले लामो समयदेखि राजतन्त्रात्मक व्यवस्थाले अपनाएको राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गानको खोजी भयो । त्यस बेला उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । सरकारले उक्त जिम्मेवारी उनकै मन्त्रालयअन्तर्गतको ‘संस्कृति’ मन्त्रालयलाई दियो । राष्ट्रिय गानका शब्दको खुला आह्वान गरियो । उनकै पार्टीका उनीभन्दा धेरै सिनियर नेता वामदेव गौतमदेखि थुप्रैले त्यसमा भाग लिए । तर, अनुमोदन भयो, व्याकुल माइलाको शब्द ‘सयौँ थुङ्गा फूलका हामी…।’ सरकारले प्राप्त भएका गीतहरूको छनौट र अनुमोदनसँगै सङ्गीत तय गर्ने कामसमेत उनैलाई दियो । उनी छनौट समितिका अध्यक्ष थिए । उनै नेतृत्वको समितिले उक्त गीतलाई अनुमोदन गरेको हो र त्यसमा अम्बर गुरुङले सङ्गीत गरेपछि आजको मीठो राष्ट्रिय गान देशले पायो ।

‘शीत बिन्दु’ अवतार
प्रदीप ज्ञवालीको अर्को परिचय हो, साहित्यिक । जीवराज आश्रितले सानै उमेरमा प्रेरित गरेको यो विधा उनले आजसम्म छाडेका छैनन् । भूमिगत कालीन पार्टी कामका सिलसिलामा उनले प्रयोग गरेको नाम शीत बिन्दु नै उनले साहित्यिक नामका रूपमा प्रयोग गर्दै आएका छन् । उक्त नामबाट नेपाली साहित्य भण्डारले केही थान कृति हासिल गरेको छ ।

२०४६ सालमा ‘सहयात्री’ शीर्षकको उपन्यासबाट उनी उक्त यात्राको प्रकाशनतर्फ सरिक भए । २०५१ मा कविता सङ्ग्रह ‘चिता जलिरहेछ’, २०५७ अर्को कविता सङ्ग्रह ‘ओ मेरी प्रिया’, २०६० सालमा कथा सङ्ग्रह ‘कुहिरो’ ले साहित्यिक भण्डारमा उनी उपस्थित छन् । उनले २०५८ मा ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग’ २०५९ मा ‘प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टीकरण, २०६४ मा ‘फिनिक्स पन्छी र एमालेको पुनर्जीवन’, २०६६ मा ‘युवा: एक बहस’ र २०७० मा ‘राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थ राजनीतिक बहस’ जस्ता पुस्तक बजारमा ल्याए ।
संकटको उपस्थिति
त्यसो त राजनीतिमा प्रदीप ज्ञवाली आफैँमा ‘संकटदेखि संकटसम्म’ का यात्री हुन् । यो यात्रा सुरू गर्दैमा उनी सहज स्थितिमा थिएनन्, न आजै छन् । आज देश र पार्टी दुवै अप्ठेरा उभिँदा उनी पार्टी नेतृत्वमा उपमहासचिवबाट उक्लिने तरखरमा छन् ।

२०५४ को पार्टी विभाजन अहिलेको जस्तो थिएन । देशैभर एमालेले ठूलै क्षति व्यहोरेको थियो । त्यहीबीच २०५६ को आम निर्वाचनमा उनी गुल्मी– २ मा पार्टीको तर्फबाट उम्मेदवार भए । उनी त्यहीँको बलेटक्सार– २, चौताराका बासिन्दा हुन् । जिल्लामा पार्टीका थुप्रै नेता तत्कालीन मालेतिर थिए । एक त आफ्नै पार्टी विभाजित, अर्कातिर कांग्रेसको चर्को घेराबन्दीबीच उनले त्यो चुनाव जिते ।

पार्टी स्कुलको अभूतपूर्व सफलता
प्रदीप ज्ञवालीको मुख्य विशेषता हो, पार्टीले दिएका जिम्मेवारी जस्ताको तस्तै बहन गर्नु । उनी नसक्ने जिम्मेवारी लिँदैनन्, लिएपछि पूरा गर्छन् । जस्तो कि, उनी अहिले पार्टी स्कुलका प्रमुख हुन् । उनले १० औँ महाधिवेशनपछि २०७८ सालमा पार्टी स्कुल विभागको जिम्मेवारी पाएका थिए । अहिले कार्यकाल सकिनै लाग्दा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरे ।

चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको प्रगति विवरण उनको साथमा छ । त्यससँगै २५० जना नवप्रवेशी, ५ हजार ४ सय २६ जिल्ला तहका नेता कार्यकर्ता, ५६ वित्त तथा कोष व्यवस्थापन र त्यति नै संख्यामा भारत प्रवासका नेता, कार्यकर्तालाई प्रशिक्षित गरे ।

एमालेमा यसअघि पनि पार्टी स्कुलको जिम्मेवारी विभिन्न नेताले बहन गरे । तर, यस्तो अभूतपूर्व सफलताका रिपोर्ट कोहीसँग थिएन ।
संस्थापनको सारथि
राजनीतिमा सबै मानिस एकैनासका हुँदैनन् । कोही जहिल्यै विरोधी वा बागीको भूमिकामा रहन्छन् । कोही सधैँ शक्तिको साथमा । प्रदीप ज्ञवाली त्यस्ता मान्छे हुन्, जसले संस्थापनलाई कहिल्यै छोडेनन् । माधव नेपालले लामो समय पार्टीको नेतृत्व गर्दा उनले नेपालभन्दा फरक भूमिका कहिल्यै खेलेनन् । पार्टी नेतृत्वमा केपी ओली अग्रसर हुँदादेखि उनले ओलीलाई नै साथ दिइरहे । त्यो साथ आजसम्म जारी छ ।
देशका प्रत्येक राजनीतिक परिवर्तनसँग प्रदीप ज्ञवालीको नजिकको साइनो छ । २०४६ को संयुक्त जनआन्दोलनमा उनी गुल्मी–अर्घाखाँची तिरै थिए । पार्टी जिम्मेवारीचाहिँ अर्घाखाँचीको पार्टी सचिवको थियो । त्यस भेगको जनआन्दोलनलाई तत्कालीन संयुक्त वाम मोर्चाको एक जिम्मेवार नेताका हैसियतमा उनीसहितले हाँके ।
उनले नेतृत्वको रक्षा र बचावको ‘मन्त्र’ उहिल्यै जीवराज आश्रितबाटै पाएका थिए । कम्युनिष्ट आन्दोलन संकटहरुको सङ्ग्रह हो । त्यसलाई सामना गर्न ठूलो छाती चाहिन्छ भन्ने ज्ञान उनले कम्युनिष्ट जीवनको सुरुवाती दिनबाटै सिकेका थिए । त्यसैले जेन–जी आन्दोलनको संकट अघि होस् या पछि, उनी पार्टीको नीति, नेतृत्व र कार्यक्रमको रक्षा, बचाव र सशक्तीकरणभन्दा फरक भूमिकामा कहिल्यै उभिएनन् ।

सम्पत्तिको नाममा शालीनता र निष्ठा
प्रदीप ज्ञवालीले राजनीतिक जीवनको ५२ र भौतिक जीवनको ६३ वटा वर्षमा कमाएको एउटै सम्पत्ति हो, शालीनता र निष्ठा । आज पनि एमाले अध्यक्ष केपी शर्माका थुप्रै आलोचकले सीधै नराम्रो भन्दैनन् । केही टिप्पणीकारको भनाइ हुने गरेको छ, ‘…प्रदीप ज्ञवालीजस्तो मान्छेले त्यस्तो नभन्नुपर्ने…।’ तर, उनी निष्ठामा कहिल्यै सम्झौता गर्दैनन् । त्यही सम्पत्ति बोकेर राजनीतिमा आगामी यात्रा तय गर्दै छन् ।

उति बेला जीवराज आश्रितले जे-जे भनेर उनलाई कम्युनिष्ट राजनीतिमा दीक्षित गरे, आज पनि प्रदीप ज्ञवाली त्यही छन् । समयका परिवर्तनलाई आत्मसात् गर्दै, थपिएका चुनौती सामना गर्दै उनी अगाडि बढिरहेका छन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...