प्रदीप ज्ञवाली- संकटको सारथि, महासचिवका दाबेदार


विश्वमणि सुवेदी
काठमाडौं
ढुंगा कठोरताको प्रतीक हो । त्यसको काप फोरेर पिपल उम्रिन्छ र त्यो शीतलताको प्रतीक बन्छ । यस्तै छ, प्रदीप ज्ञवालीको जिन्दगी । कम्युनिष्ट आन्दोलनको कठोर परीक्षामा गुज्रिँदै उम्रिए । र, शालीनताको परिचयबाट प्रख्याति पाए । उनी नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट महासचिवको दौडमा छन् ।
आजको धर्तीमा मदन भण्डारी र जीवराज आश्रित त छैनन् । तर, यीमध्ये. आश्रितद्वारा राजनीतिमा दीक्षित कोही मान्छे बाँकी छ भने तीमध्येका मुख्य हुन्, प्रदीप ज्ञवाली । गुल्मीको रिडी माविबाट १३ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेपछि त्यहीँको जनज्योति प्राविमा पढाए । कविता लेखेका थिए । उनी परे लाजका ‘भारी’ । कोही मान्छेले ‘के लेख्दैछौ ?’ भनेर सोधे । ‘केही होइन’ भन्दै थिए । तर, सोध्नेले आफैँ चिहाएर चाल पाए, ‘ए, कविता लेखेका हौ ?’ उनले ‘हैन’ भन्न सकेनन् । त्यो खण्डकाव्यको केही अंश थियो । । त्यसरी उनलाई गरिब र दुःखीका निम्ति लेख्नुपर्छ भनेर हौस्याउने पात्र थिए, जीवराज आश्रित ।

नेपालको राजनीतिमा चलेको चलन नै यस्तो छ कि, न इच्छाहरू दुरुस्तै सदर हुन्छन्, न इतिहास, योगदान र पृष्ठभूमिकै समयोचित कदर हुन्छ । प्रदीप ज्ञवालीका हकमा यिनै पङ्क्ति लागु हुन्छन् । यद्यपि, उनी निराश नभई यो यात्रामा तल्लीन छन् । हुनु–पुग्नुपर्ने ठूलै पदमा थियो, तर महासचिव ‘मात्रैको’ रुचि देखाएका छन् ।
राजनीतिमा प्रदीप ज्ञवाली आफैँमा ‘संकटदेखि संकटसम्म’ का यात्री हुन् । यो यात्रा सुरू गर्दैमा उनी सहज स्थितिमा थिएनन्, न आजै छन् । आज देश र पार्टी दुवै अप्ठेरा उभिँदा उनी पार्टी नेतृत्वमा उपमहासचिवबाट उक्लिने तरखरमा छन् ।

राजनीतिमा उनको यात्राले ५२ वर्ष टेक्यो । उमेर ११ वर्षको हुँदा उनले २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । आश्रितले उनलाई २०३४ सालमा तत्कालीन नेकपा (माले) को पार्टी सक्रिय दलदेखि गुल्मी–अर्घाखाँची संयुक्त जिल्ला कमिटी कमिटीको सदस्य बनाएका हुन् । यो यात्रा आज नेकपा (एमाले) को उपमहासचिवमा अडिएको छ । त्यो संगठन तत्कालीन नेकपाको पुष्पलाल समूहसँग सम्बद्ध थियो । मंसिर २७ देखि २९ सम्मका लागि तय भएको एमालेको ११ औँ महाधिवेशनबाट अर्को खुट्किलो टेक्ने जमर्को छ ।

इतिहासको यो क्रमलाई हेर्दा आज उनी जहाँ छन्, न्यायोचित ठाउँमा छैनन् । उनको राजनीतिका निम्ति उनीसँगकी राजनीतिक सहयात्री सरस्वती अर्याल प्रकारान्तरमा जीवनकी सहयात्री बनिन् । उनले पतिको हितका निम्ति आफ्नो राजनीतिलाई ‘थाँती’ राखेर साथ दिइन् । जन्मजात मस्तिष्क घातकी बिरामी छोरी आज पनि सहज शारीरिक अवस्थामा छैनन् । हरेक दिन घाम झुल्किनुअघि प्रदीपको दिन उनै ३९ वर्षीया छोरीलाई चुम्बन गरेर सुरु हुन्छ । उनले जीवनमा कमाएका दुई खुसी भन्नु नै पत्नी सरस्वती र छोरी क्षितिज हुन् । जसले प्रदीपको सिंगो जीवनको पीडा बिर्साउँछन् ।


परिवर्तनका योद्धा
देशका प्रत्येक राजनीतिक परिवर्तनसँग प्रदीप ज्ञवालीको नजिकको साइनो छ । २०४६ को संयुक्त जनआन्दोलनमा उनी गुल्मी–अर्घाखाँची तिरै थिए । पार्टी जिम्मेवारीचाहिँ अर्घाखाँचीको पार्टी सचिवको थियो । त्यस भेगको जनआन्दोलनलाई तत्कालीन संयुक्त वाम मोर्चाको एक जिम्मेवार नेताका हैसियतमा उनीसहितले हाँके ।

२०५० सालमा परिवारकै बसाई नवलपरासी जिल्लामा सर्‍यो । उनले त्यहीँको पार्टी जिल्ला कमिटीमा रहेर काम गर्न थाले । २०५१ मा लुम्बिनी अञ्चलको पार्टी सचिव भए, जुन जिम्मेवारी अञ्चलको पार्टी प्रमुखको थियो । र, २०५४ मा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

२०६२-०६३ को जनआन्दोलनमा उनी पार्टी जिम्मेवारीअन्तर्गत पार्टीको सांस्कृतिक फाँट हेर्थे । उक्त जनआन्दोलनपछिको वृहत् शान्ति सम्झौताका क्रममा उनले सरकारी टोलीका तर्फबाट त्यसको हस्ताक्षरकर्ताको भूमिका पाए । त्यसपछि गठित अन्तरिम सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहे ।

राष्ट्रिय गानका अनुमोदक
दोस्रो जनआन्दोलनले लामो समयदेखि राजतन्त्रात्मक व्यवस्थाले अपनाएको राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गानको खोजी भयो । त्यस बेला उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । सरकारले उक्त जिम्मेवारी उनकै मन्त्रालयअन्तर्गतको ‘संस्कृति’ मन्त्रालयलाई दियो । राष्ट्रिय गानका शब्दको खुला आह्वान गरियो । उनकै पार्टीका उनीभन्दा धेरै सिनियर नेता वामदेव गौतमदेखि थुप्रैले त्यसमा भाग लिए । तर, अनुमोदन भयो, व्याकुल माइलाको शब्द ‘सयौँ थुङ्गा फूलका हामी…।’ सरकारले प्राप्त भएका गीतहरूको छनौट र अनुमोदनसँगै सङ्गीत तय गर्ने कामसमेत उनैलाई दियो । उनी छनौट समितिका अध्यक्ष थिए । उनै नेतृत्वको समितिले उक्त गीतलाई अनुमोदन गरेको हो र त्यसमा अम्बर गुरुङले सङ्गीत गरेपछि आजको मीठो राष्ट्रिय गान देशले पायो ।

‘शीत बिन्दु’ अवतार
प्रदीप ज्ञवालीको अर्को परिचय हो, साहित्यिक । जीवराज आश्रितले सानै उमेरमा प्रेरित गरेको यो विधा उनले आजसम्म छाडेका छैनन् । भूमिगत कालीन पार्टी कामका सिलसिलामा उनले प्रयोग गरेको नाम शीत बिन्दु नै उनले साहित्यिक नामका रूपमा प्रयोग गर्दै आएका छन् । उक्त नामबाट नेपाली साहित्य भण्डारले केही थान कृति हासिल गरेको छ ।

२०४६ सालमा ‘सहयात्री’ शीर्षकको उपन्यासबाट उनी उक्त यात्राको प्रकाशनतर्फ सरिक भए । २०५१ मा कविता सङ्ग्रह ‘चिता जलिरहेछ’, २०५७ अर्को कविता सङ्ग्रह ‘ओ मेरी प्रिया’, २०६० सालमा कथा सङ्ग्रह ‘कुहिरो’ ले साहित्यिक भण्डारमा उनी उपस्थित छन् । उनले २०५८ मा ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग’ २०५९ मा ‘प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टीकरण, २०६४ मा ‘फिनिक्स पन्छी र एमालेको पुनर्जीवन’, २०६६ मा ‘युवा: एक बहस’ र २०७० मा ‘राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थ राजनीतिक बहस’ जस्ता पुस्तक बजारमा ल्याए ।
संकटको उपस्थिति
त्यसो त राजनीतिमा प्रदीप ज्ञवाली आफैँमा ‘संकटदेखि संकटसम्म’ का यात्री हुन् । यो यात्रा सुरू गर्दैमा उनी सहज स्थितिमा थिएनन्, न आजै छन् । आज देश र पार्टी दुवै अप्ठेरा उभिँदा उनी पार्टी नेतृत्वमा उपमहासचिवबाट उक्लिने तरखरमा छन् ।

२०५४ को पार्टी विभाजन अहिलेको जस्तो थिएन । देशैभर एमालेले ठूलै क्षति व्यहोरेको थियो । त्यहीबीच २०५६ को आम निर्वाचनमा उनी गुल्मी– २ मा पार्टीको तर्फबाट उम्मेदवार भए । उनी त्यहीँको बलेटक्सार– २, चौताराका बासिन्दा हुन् । जिल्लामा पार्टीका थुप्रै नेता तत्कालीन मालेतिर थिए । एक त आफ्नै पार्टी विभाजित, अर्कातिर कांग्रेसको चर्को घेराबन्दीबीच उनले त्यो चुनाव जिते ।

पार्टी स्कुलको अभूतपूर्व सफलता
प्रदीप ज्ञवालीको मुख्य विशेषता हो, पार्टीले दिएका जिम्मेवारी जस्ताको तस्तै बहन गर्नु । उनी नसक्ने जिम्मेवारी लिँदैनन्, लिएपछि पूरा गर्छन् । जस्तो कि, उनी अहिले पार्टी स्कुलका प्रमुख हुन् । उनले १० औँ महाधिवेशनपछि २०७८ सालमा पार्टी स्कुल विभागको जिम्मेवारी पाएका थिए । अहिले कार्यकाल सकिनै लाग्दा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरे ।

चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको प्रगति विवरण उनको साथमा छ । त्यससँगै २५० जना नवप्रवेशी, ५ हजार ४ सय २६ जिल्ला तहका नेता कार्यकर्ता, ५६ वित्त तथा कोष व्यवस्थापन र त्यति नै संख्यामा भारत प्रवासका नेता, कार्यकर्तालाई प्रशिक्षित गरे ।

एमालेमा यसअघि पनि पार्टी स्कुलको जिम्मेवारी विभिन्न नेताले बहन गरे । तर, यस्तो अभूतपूर्व सफलताका रिपोर्ट कोहीसँग थिएन ।
संस्थापनको सारथि
राजनीतिमा सबै मानिस एकैनासका हुँदैनन् । कोही जहिल्यै विरोधी वा बागीको भूमिकामा रहन्छन् । कोही सधैँ शक्तिको साथमा । प्रदीप ज्ञवाली त्यस्ता मान्छे हुन्, जसले संस्थापनलाई कहिल्यै छोडेनन् । माधव नेपालले लामो समय पार्टीको नेतृत्व गर्दा उनले नेपालभन्दा फरक भूमिका कहिल्यै खेलेनन् । पार्टी नेतृत्वमा केपी ओली अग्रसर हुँदादेखि उनले ओलीलाई नै साथ दिइरहे । त्यो साथ आजसम्म जारी छ ।
देशका प्रत्येक राजनीतिक परिवर्तनसँग प्रदीप ज्ञवालीको नजिकको साइनो छ । २०४६ को संयुक्त जनआन्दोलनमा उनी गुल्मी–अर्घाखाँची तिरै थिए । पार्टी जिम्मेवारीचाहिँ अर्घाखाँचीको पार्टी सचिवको थियो । त्यस भेगको जनआन्दोलनलाई तत्कालीन संयुक्त वाम मोर्चाको एक जिम्मेवार नेताका हैसियतमा उनीसहितले हाँके ।
उनले नेतृत्वको रक्षा र बचावको ‘मन्त्र’ उहिल्यै जीवराज आश्रितबाटै पाएका थिए । कम्युनिष्ट आन्दोलन संकटहरुको सङ्ग्रह हो । त्यसलाई सामना गर्न ठूलो छाती चाहिन्छ भन्ने ज्ञान उनले कम्युनिष्ट जीवनको सुरुवाती दिनबाटै सिकेका थिए । त्यसैले जेन–जी आन्दोलनको संकट अघि होस् या पछि, उनी पार्टीको नीति, नेतृत्व र कार्यक्रमको रक्षा, बचाव र सशक्तीकरणभन्दा फरक भूमिकामा कहिल्यै उभिएनन् ।

सम्पत्तिको नाममा शालीनता र निष्ठा
प्रदीप ज्ञवालीले राजनीतिक जीवनको ५२ र भौतिक जीवनको ६३ वटा वर्षमा कमाएको एउटै सम्पत्ति हो, शालीनता र निष्ठा । आज पनि एमाले अध्यक्ष केपी शर्माका थुप्रै आलोचकले सीधै नराम्रो भन्दैनन् । केही टिप्पणीकारको भनाइ हुने गरेको छ, ‘…प्रदीप ज्ञवालीजस्तो मान्छेले त्यस्तो नभन्नुपर्ने…।’ तर, उनी निष्ठामा कहिल्यै सम्झौता गर्दैनन् । त्यही सम्पत्ति बोकेर राजनीतिमा आगामी यात्रा तय गर्दै छन् ।

उति बेला जीवराज आश्रितले जे-जे भनेर उनलाई कम्युनिष्ट राजनीतिमा दीक्षित गरे, आज पनि प्रदीप ज्ञवाली त्यही छन् । समयका परिवर्तनलाई आत्मसात् गर्दै, थपिएका चुनौती सामना गर्दै उनी अगाडि बढिरहेका छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...