
बुटवल
नेकपा एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । १२ मध्ये रोल्पा बाहेक ११ जिल्लामा प्रतिनिधि चयन भइसकेका छन् । समग्र परिणाम हेर्दा लुम्बिनी प्रदेशभर संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ ।
मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि प्रदेशबाट तोकिएका १९० प्रतिनिधिमध्ये अधिकांश ठाउँमा ओली पक्षकै उम्मेदवार विजयी भएका छन् । रोल्पामा खुला र महिला तर्फ सहमति जुट्न नसकेपछि आज निर्वाचन जारी छ ।
लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ सङ्गठित सदस्य रहेको छ । यिनै सदस्यले भूगोल, कमिटी र जनसङ्गठनमार्फत प्रतिनिधि छनोट गरेका हुन् । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार रोल्पाका केही क्लस्टर बाहेक सबै जिल्लामा समयमै प्रतिनिधि चयन सकिएको छ ।
धेरै जिल्लामा सर्वसम्मत र केही जिल्लामा निर्वाचनबाट प्रतिनिधि छानिए पनि दाङ र बाँकेमा चाहिँ विवाद बढेको छ । असन्तुष्ट समूहका नेताहरूले ‘क्षेत्राधिकार मिचेर, विधि विपरीत एकलौटी ढङ्गले प्रतिनिधि छानिएको’ भन्दै केन्द्रमा उजुरी गरेका छन् ।
यसबीच, दाङ र बाँके बाहेकका अधिकांश जिल्लाबाट संस्थापन पक्षकै उम्मेदवार भारी मतसहित चयन भएको एमालेभित्रै ईश्वर पक्षमा बोल्ने नेताहरूले पनि स्वीकारेका छन् ।
लुम्बिनीमा एमाले केन्द्रीय नेतृत्वका सातजना शीर्ष पदाधिकारी छन् । उपाध्यक्षद्वय विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा तथा निलम्बित सचिव टोपबहादुर रायमाझी यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।
यीमध्ये अधिकांश संस्थापन पक्षमै उभिएका कारण प्रतिनिधि छनोटमा पनि त्यही प्रभाव देखिएको छ ।
पहिले जिल्लामा विष्णु पौडेल र शंकर पोखरेल पक्ष छुट्टिए पनि अहिले केन्द्रमै एउटै लाइनमा बसेपछि स्थानीय तहमा गुट व्यवस्थापनमा चुनौती आए पनि परिणाम अन्ततः संस्थापन पक्षकै पक्षमा खुलेको विश्लेषण गरिएको छ ।
लुम्बिनीबाट यसपटक सर्वाधिक प्रतिनिधि रुपन्देहीले चयन गरेको छ । रुपन्देहीबाट ३४ जना छानिएका छन् भने गुल्मी – २०, बर्दिया – १५, कपिलवस्तु – १५, पाल्पा – १४, अर्घाखाँची – १३, पश्चिम नवलपरासी – ११, प्युठान – आठ र पूर्वी रुकुमबाट पाँच जना प्रतिनिधित्व छानिएका छन् ।
पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत चयन भएको छ । रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र अर्घाखाँचीमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो ।
दाङमा ‘मतदाता नामावली र निर्वाचन तालिका नै प्रकाशन नगरी एकलौटी निर्णय’ भएको भन्दै प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले केन्द्रीय संगठन विभागमा उजुरी दर्ता गरेका छन् ।
प्रदेश प्रचार विभाग उपप्रमुख सरिता सुवेदीले पनि ‘मापदण्ड बाहिर गएर प्रतिनिधि छानिँदा समस्या भएको’ बताएकी छन् ।
प्रदेश अध्यक्ष कँडेलका अनुसार दाङ–बाँकेको विवादबारे केन्द्रलाई जानकारी गराइसकिएको छ र आवश्यक परे ती जिल्लामा प्रतिनिधि पुनः छान्न सकिनेछ ।
रोल्पामा खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन् । खुलामा ३ र महिलामा ४ उम्मेदवार परेपछि अहिले मतदान भइरहेको छ ।