आगजनी र तोडफोडबाट बैंकहरूको सवा खर्ब ऋण लगानी प्रभावित, बैंकलाई ३७ अर्ब प्रत्यक्ष क्षति


काठमाडौँ
भदौ २३ को प्रदर्शन र २४ को तोडफोडबाट बैंक तथा वित्तीय संस्थाको करिब १ खर्ब २० अर्ब ऋण प्रभावित भएको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले संयुक्त रूपमा संकलन गरेको तथ्यांकले उल्लिखित रकम बराबरको ऋण प्रभावित भएको देखिएको छ । यसमध्ये ९५ प्रतिशतभन्दा बढी वाणिज्य बैंकहरूको ऋण रहेको स्रोतले बताएको छ ।
प्रदर्शनका क्रममा ८ सय ७३ जना ऋणीको उद्योग, व्यवसाय, प्रतिष्ठानलगायतमा प्रत्यक्ष प्रभावित भएको र जसमा ३७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । एउटै ऋणीले एकभन्दा बढी बैंकबाट ऋण लिएकाले उल्लिखित संख्यामा केही ऋण दोहोरिएका छन् । यसरी दोहोरिएको संख्या घटाउँदा प्रभावित ऋणी ६ सय हाराहारी हुने स्रोतले बताएको छ । त्यसो त आन्दोलनमा ठूलो क्षति पुगेका कतिपय उद्योग व्यवसायले बैंकबाट ऋण लिएका छैनन् । ऋण लिए पनि निकै कम मात्र छ । यस कारण बैंकको ऋणबाट मात्र आन्दोलनमा के–कति क्षति भयो भनेर पत्ता लगाउन अप्ठ्यारो हुने जानकार बताउँछन् ।

नेपालमा करिब १९ लाख ७० हजार ऋणी छन् । यसका आधारमा आन्दोलनमा प्रभावित ऋणीको संख्या नगण्य हो । यद्यपि नेपालमा साढे १९ लाख केही बढी ऋणी रहे पनि १ करोडभन्दा बढी ऋण लिने ऋणीको संख्या ३ प्रतिशत मात्र छ । बाँकी ९७ प्रतिशत ऋणी साना छन् । आन्दोलनमा खासगरी ठूला उद्योग तथा व्यवसायमा आगजनी तथा तोडफोड भएकाले ठूला ऋणी नै प्रभावित भएको बताइएको छ ।

यसबाहेक बैंक तथा वित्तीय संस्थाका ५२ शाखा र ७३ एक्सटेन्सन काउन्टर, १ सय एटीएममा तोडफोड तथा आगजनी भएको बैंकहरूले जनाएका छन् । तोडफोड भएका शाखामा कम मात्र क्षति भएको छ । मुख्यगरी सरकारी संस्थान परिसरमा रहेका एक्सटेन्सन काउन्टरमा धेरै क्षति पुगेको देखिन्छ, जसमा कुनैमा झ्यालको सिसा मात्र फुटेको छ भने केहीमा आगजनी गरिएको जनाइएको छ ।
प्रदर्शनमा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन लुटिएको पाइएको छ । संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा तोडफोड तथा लुटपाट भएको हो । ऋणको धितोमा रहेको सुन लुटिएको बैंकको भनाइ छ ।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले भने बैंक तथा वित्तीय संस्थाका केही शाखा र एटीएममा तोडफोड भए पनि वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको दाबी गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट सवा ५ करोड रकम र १८ किलो सुन लुटिएको भने उनले सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

ग्राहकको लकरमा रहेको सुन भने सुरक्षित रहेको बैंकका सूचना अधिकारी पवन रेग्मीको भनाइ छ । ‘ऋण धितोमा रहेको सुन लुटपाट भएको हो, त्यसको बिमा गरिएको छ,’ रेग्मीले भने । आन्दोलनबाट प्रत्यक्ष प्रभावित ऋणीलाई कर्जा पुनःसंरचना र पुनर्तालिकीकरण, कर्मचारीलाई तलब खुवाउन सस्तो ब्याजमा ऋण, त्यस्तो ऋणमा सरकारबाट २ प्रतिशत ब्याज अनुदान पाइने सुविधा राष्ट्र बैंकले गरेको छ । प्रदर्शनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीले कर्जाको पुनःसंरचना र पुनर्तालिकीकरण सुविधा दिइएको छ । राष्ट्र बैंकले प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रभावको यकिन गरी तोकिएका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सक्ने सुविधा दिएको हो ।

यसअनुसार यस्तो पुनर्तालिकीकरण वा पुनःसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नुपर्नेछ । पुनर्तालिकीकरण वा पुनःसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेका छन्, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।

प्रदर्शनको क्रममा सिर्जित असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग फरवार्ड/ब्याकवार्ड लिंकेज भएका ऋणीले पनि कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचना सुविधा पाएका छन् । तर उनीहरूले तिर्न बाँकी ब्याजको ५ प्रतिशत भने तिर्नुपर्नेछ । प्रदर्शनका क्रममा सिर्जित असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब खुवाउन सस्तो ब्याजमा ऋण पाउने भएका छन् । प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न भन्दै राष्ट्र बैंकले रोजगारदाता संस्था एवं प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

कम्तीमा सय जना महिलालाई रोजगारी प्रदान गरी न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगले पनि सस्तो ब्याजमा कर्जा पाउने भएका छन् । यस्तो कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न राष्ट्र बैंकले भनेको छ । प्रदर्शनका क्रममा क्षति भएका सवारीसाधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।

‘आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ । यसअनुसार सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधन खरिद दुवैमा लागू हुन्छ । अहिले राष्ट्र बैंकले आन्दोलनमा क्षति पुगेका उद्योगी–व्यवसायी, प्रतिष्ठानलगायतलाई सुविधा दिएको हो ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...