प्रधानमन्त्री सुशीला कार्कीको न्यायालयदेखि सिंहदरवारसम्मको ऐतिहासिक यात्रा


काठमाडौँ

नेपालले पहिलोपटक महिला प्रधानन्यायाधीश पाएको दिन इतिहास पल्टिएको थियो। त्यतिबेला यो पदमा पुगेकी थिइन् – सुशीला कार्की। आज, न्यायपालिकाको सर्वोच्च पद सम्हालेको आठ वर्षपछि, उनी फेरि अर्को “पहिलो” बन्ने क्रममा छिन्—मुलुकको कार्यकारी प्रमुख बन्ने पहिलो महिला।
२००९ जेठ २५ गते मोरङको शंखरपुरमा किसान परिवारमा जन्मेकी कार्की सात सन्तानमध्ये जेठी हुन्। विराटनगरमै हुर्किएकी उनले बाल्यकालदेखि नै प्रजातान्त्रिक आन्दोलन र बीपी कोइरालाको परिवारसँग निकटता कायम गरिन्।

२०२८ सालमा महेन्द्र मोरङ कलेजबाट बीए र २०३१ मा बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले त्यहीँ अध्ययनकै क्रममा काँग्रेस नेता दुर्गा सुवेदीसँग विवाह गरिन्।

कानुन व्यवसाय र अध्यापन

२०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले विराटनगरमा वकिल पेशा सुरु गरिन्। निडर, हक्की र स्पष्ट बोल्ने स्वभावका कारण चाँडै परिचित बनिन्। धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्दै कानुन क्षेत्रमै आफ्नो छवि बलियो बनाइन्।

२०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी कार्कीलाई तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा ल्याउने प्रस्ताव गरेका थिए।

न्यायपालिकाको नेतृत्व

२०६५ मा सर्वोच्च अदालतकी अस्थायी न्यायाधीश बनेकी उनले दुई वर्षमै स्थायी पद पाउन सफल भइन्। सात वर्षपछि, २०७३ वैशाख १ गते कामु प्रधानन्यायाधीश र त्यसको तीन महिनापछि औपचारिक रूपमा प्रधानन्यायाधीश बनिन्।

१५ महिनाको कार्यकालमा उनले सुडान घोटालादेखि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विवादासम्म, पूर्व राजकुमारी प्रेरणाको दाइजो प्रकरणदेखि चर्चित मुद्दासम्म ऐतिहासिक फैसला सुनाइन्।

महाभियोग र खरो छवि

प्रधानन्यायाधीशको पदमा रहँदा काँग्रेस र माओवादी सांसदहरूले उनको विरुद्ध महाभियोग दर्ता गरे। तर सर्वोच्चकै आदेश र सडकको चर्को आन्दोलनले त्यो प्रस्ताव विफल बन्यो।

यस घटनाले उनलाई मुलुककै पहिलो महाभियोग खेप्ने प्रधानन्यायाधीशका रूपमा चिनायो। आर्थिक विवादमा नपरेकी, घुस नखाने र स्वच्छ छविका कारण उनले न्यायपालिकामा फरक स्थान ओगटिन्।

न्यायालयबाहिरको सक्रियता

अवकाशपछि उनले आत्मकथा *‘न्याय’* लेखिन्। नागरिक आन्दोलनदेखि डा. गोविन्द केसीको सत्याग्रहसम्म, उनले खुलेर समर्थन जनाइन्। राजनीतिमा फैलिएको भ्रष्टाचार र नेताहरूको सत्ता मोहविरुद्ध उनी प्रखर आवाजका रूपमा अगाडि आइन्।

सिंहदरवारतर्फको बाटो

आज, ‘जेन जेड’ आन्दोलन, नागरिक समाज, काठमाडौँ महानगरका मेयर बालेन र प्रमुख दलहरूको सहमतिबाट कार्की सिंहदरवार प्रवेश गर्न लागेकी छिन्। उनको जिम्मेवारी मुलुकलाई स्थिरतर्फ डोर्‍याउने, निर्वाचन सम्पन्न गर्ने र नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने हुनेछ।

आगामी चुनौती

न्यायालयमा बसेर “राजनीतिको चप्पल बाहिरै फुकालेर आउनुपर्छ” भन्ने मान्यता अघि सारेकी कार्की आज स्वयम् राजनीतिकाे केन्द्रमा प्रवेश गर्दैछिन्। यो यात्रा उनको लागि अवसर मात्र होइन, कठोर चुनौती पनि हो।

यदि उनले विगतको खरो छवि कायम राख्दै मुलुकलाई निकास दिन सकिन् भने फेरि इतिहास रच्नेछिन्। असफल भइन् भने आलोचनाले झन् कडा ढंगले उनलाई पछ्याउनेछ।

छुटाउनुभयो कि ?

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित

काठमाडौँस्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान ...
बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...