
बुटवल
सहमति नजुटेपछि बुटवलको कान्ति मावि व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ। चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको हो। २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि शनिबार निर्वाचन भएको हो।
नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि सहमति नहुंदा १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो।
३ हजार ९ सय ७७ जना मतदाता रहेकोमा १२ सयमात्रै मत खसेको छ। ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बताए। उनका अनुसार खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जनाको उम्मेद्वारी रहेको छ।
गत वैशाखमा समय सकिएलगत्तै अभिभावक भेला गराएर व्यवस्थापन समिति गठन गर्न खोजिए पनि सहमती हुन नसक्दा १५ महिनासम्म लम्बिएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए। जेठ २९ गते अभिभावक भेला बोलाएर सर्वसम्मतिको प्रयास गरेकोमा त्यो असफल भएपछि २ गते मनोनयन गरेर लोकतान्त्रिक प्रक्रियामा गएको उनले बताए। ‘सकभर भेलाबाटै सर्वसहमतीले विद्यालय व्यवस्थापन समिति बनाउने दर्जनौँ पटक कोसिस गरियो, सकिएन,’ प्राचार्य ज्ञवालीले भने, ‘बुटवल क्षेत्रमा पहिलो पटक निर्वाचन भयो।’
नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलोपटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन हुन लागेको हो। बुटवल वडा न. ४ हाटबजारस्थित कान्ति मावि परिसर चुनावी पोष्टरले रंगिन देखिएकाे थियाे ।
मतदाताहरुले प्रतिबद्धतासहित संसदीय चुनावकै शैलीमा प्रचार गरेका छन्। मतदानस्थल बाहिर ब्यानरसहितको प्रचार सामाग्री देखिन्थ्यो । दलका स्थानीय नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियाे।सर्वसहमतिमा चयन हुँदै आएको विद्यालय व्यवस्थापन समितिमा यो पटक आमनिर्वाचनमा जस्तै देखिएकाे थियाे। नेकपा एमालेका उम्मेद्वारहरु एक्लै चुनावी मैदानमा ओर्लेका छन् भने नेपाली काँग्रेस, स्वतन्त्र, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरु एकजुट भएका छन्।
दुई दशकसम्म कान्तिको व्यवस्थापन समितिमा एमालेनिकटकै अभिभावकले नेतृत्वमा गरेका थिए। नेपाली कांग्रेस आफूहरुकै नेतृत्वमा उपमहानगर र वडासमेत भएको भन्दै पछाडि हटेन। प्रमुख दलले नेतृत्वमा दाबी नछाड्दा बुटवल क्षेत्रको सामुदायिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको हो। विद्यालयका संरक्षक वडाअध्यक्ष हुने प्रावधान छ।
बुटवल वडा न. ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले पटक–पटक छलफल गर्दा पनि निकास निकाल्न नसकेपछि लोृकतान्त्रिक प्रक्रियामा सामेल भएको बताए। ‘यो अभिभावकहरुका लागि पनि सिकाई हुन्छ,’ उनले भने, ‘अब चुनावबाट आएको टिमले विद्यालयको राम्रो गर्ने अपेक्षा गरेका छौँ।’
सामुदायिक विद्यालयतर्फ कान्ति विद्यालयको व्यवस्थापन समिति अभिभावकहरुले स्वतस्फूर्त चयन गर्नुपर्नेमा उक्त कुरा हुन नसकेको अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली बताउँछन्। ‘विद्यालयको श्रीवृद्धीका लागि कस्ले काम गर्न सक्छ, त्यस्तो व्यक्तिलाई ल्याउने हो, उनले भने। विद्यालय बनाउनेभन्दा पनि मनोनीत सदस्यबाट आफ्नाे अनुकुलताका मान्छे प्रवेश गराएर अध्यक्ष बनाउने खेलले यो अवस्था आएको उनको भनाइ छ। बुटवल क्षेत्रका सामुदायिक विद्यालयहरुमा गलत अभ्यासको शुरुवात भएको उनको धारणा छ।
नगर शिक्षा ऐनको प्रवाधान अनुसार विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिहरू राख्ने प्रावधान अनुसार भएको भए राम्राे हुने जानकारहरु वताउंछन्।
शनिबार वेलुका ९ वजे देखि विद्यालय परिसरमै मतगणना शुरु भएको छ।