स्रोतको दबाबबिच आज २० खर्वको बजेट ल्याउँदै सरकार


काठमाडौँ

आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बिहीबार बजेट सार्वजनिक हुन लागेको हो । बढ्दो दायित्व र खुम्चँदो राजस्वको दबाबबिच अर्थमन्त्रीले १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । त्यसो त राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपियाँको बजेट सीमा निर्धारण गरेको छ । यद्यपि बजेट निर्माणको अन्तिम समयमा बढ्ने मागका कारण विगतमा बजेट सीमाभन्दा बढी आकारकै बजेट ल्याएको प्रवृत्ति देखिन्छ ।

आगामी बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने पनि उनले बताएका छन् । अर्थ मन्त्रालयका अनुसार सङ्घीय बजेटमा आयोजना बैङ्कमा नपरेका र तीन करोड रुपियाँभन्दा कमका आयोजना पर्ने छैनन् ।

बजेट सार्वजनिक हुनुपूर्व वृद्धभत्ता प्राप्त गर्ने उमेर बढाइने, आयकरको स्ल्याब बढाइने र कर्मचारीको तलब बढाइने जस्ता विषयले चर्चा पाएका छन् । सामाजिक सुरक्षामा बढ्दो दायित्वका कारण पनि सरकारले वृद्धभत्ताको उमेरमा हेरफेर गर्ने तयारी गरेको हो । त्यस्तै निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्था अनुसार प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर र महँगीको आधारमा तलबमा पुनरवलोकन गर्नुपर्ने व्यवस्थाका कारण तलब बढाउनुपर्ने कानुनी बाध्यता अर्थ मन्त्रालयलाई छ ।

स्रोत व्यवस्थापनका लागि विद्युतीय सेवा र विद्युतीय सवारीमा लाग्दै आएको करमा हेरफेर गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । नपुग स्रोत भने सरकारले बाह्य र आन्तरिक ऋणबाट पूर्ति गर्ने छ । आगामी आवका लागि सरकारले साढे छ खर्ब रुपियाँको घाटा बजेट ल्याउन सक्ने गरी सिलिङ समितिले तोकेको छ ।

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुपूर्व संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ । बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्नुहुने छ ।

बजेटको ७४ बर्से इतिहास

नेपालमा बजेट सार्वजनिक हुन लागेको ७४ वर्ष पुगेको छ । प्रजातन्त्र प्राप्तिपछि २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले नेपालमा पहिलो पटक बजेट वक्तव्य सार्वजनिक गरेका थिए । राणा शासनकालमा मुलुकको आम्दानी र खर्चबारे कसैलाई थाहा नहुने र प्रजातन्त्र आइसकेपछि राष्ट्रको आम्दानी र खर्चबारे जान्ने हक जनतालाई हुने भएको बजेट ल्याइएको तत्कालीन वक्तव्यमा उल्लेख थियो ।

पहिलो बजेटले सरकारको आम्दानी तीन करोड पाँच लाख १६ हजार अनुमान गरेको थियो । त्यस्तै खर्च भने पाँच करोड २५ लाख २१ हजार हुने अनुमान गरिएको थियो । बजेटका लागि नपुग रकम सरकारका विभिन्न मौज्दातबाट गाभ्ने र थप नपुगका लागि सहायता लिने उल्लेख गरिएको थियो ।

नेपालको इतिहासमा पहिलो बजेटपछि २०४६ सालपछि पुनस्र्थापित बहुदलीय प्रजातन्त्रपछि गठित सरकारका अर्थ राज्यमन्त्री महेश आचार्यले ल्याएको आव २०४८÷४९ को बजेटलाई महत्वपूर्ण बजेटका रूपमा स्मरण गरिन्छ । त्यसअघि मुलुकको अर्थतन्त्रमा सरकारकै योगदान बढी रहेकोमा उक्त बजेटपछि निजी क्षेत्रलाई लगानीका क्षेत्र खुला गरिएको मात्र होइन लाइसेन्स राजलाई अन्त्य गरियो ।

बजेटले लिएको खुला र उदारवादी नीतिका कारण त्यसलाई नेपालको आर्थिक सुधारको पहिलो चरण पनि भन्ने गरिन्छ । त्यसपछि अर्थमन्त्री डा. रामशरण महतले ल्याएको २०५३÷५४ को बजेटले वित्तीय अनुशासन र कर प्रणालीमा ल्याएको सुधारका कारण पनि त्यसको चर्चा हुने गरेको छ ।

छुटाउनुभयो कि ?

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

काठमाडौंबनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थ...
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

काठमाडौंभूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी,...
भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...